विवाहको दिन धेरैका लागि जिन्दगीभरि याद रहिरहने दिन हो। पूर्वी चीनको सुजौकी एक युवतीका लागि भने यही दिनले जिन्दगीमा रहस्यको नयाँ पर्दा उघारिदियो ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मार्च ३१ मा सुजौमा एक विवाह भइरहेको थियो । विवाहमा दुलाहाकी आमाले दुलहीको हातमा केही यस्तो कुरा देखिन्, जुन उनलाई पहिल्यै देखेजस्तो लाग्यो ।
सानैमा हराएकी उनकी छोरीका हातमा जस्तो 'बर्थमार्क' थियो । दुलहीका हातमा पनि त्यस्तै 'बर्थमार्क' देखेपछि उनले मन थाम्न सकिनन् । दुलही पक्षका आमाबुवालाई सोधिन्- तपाईंहरूले छोरी एडप्ट गर्नु भएको हो । चीनमा बच्चाहरू एडप्ट गर्ने कुरालाई गोप्य नै राखिन्छ। सार्वजनिक ठाउँमा यसबारे कुरा गर्न बर्जितजस्तै छ ।
दुलहीका आमाबुवाले हो भनेपछि उनलाई ढुक्क भयो- दुलही सानैमा हराएकी उनकी आफ्नै छोरी हुन् । उनले दुलहीसँग पनि कुरा गरिन्। २० वर्षअघि छुटेकी छोरीले पनि आमालाई चिनिन्। यो क्षण निकै भावुक थियो । अघिसम्म दुलाहा-दुलही भएकाहरू अब भाइबहिनी भए । त्यसपछि फेरि अर्को रहस्यको पर्दा उघ्रियो-दुलाहा पनि ती महिलाका आफ्नै छोरा थिएनन्। सानैमा छोरा हराएपछि ती महिलाले एक जना बच्चालाई छोरा मानेर एडप्ट गरेकी थिइन् । दुबै जना एउटै बाबुआमाका सन्तान नभएकाले उनीहरूको विवाह हुने नै भयो । अहिले यो घटना चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ ।