काठमाडौं । कुनैबेला दरबारलाई खूबै घुमाइदिए बिनोद चौधरीले । तत्कालीन राजा वीरेन्द्र शाहको विश्वास जितेर उनको सम्पत्तिमा रजाईँ गरे । विदेशमा वीरेन्द्रको सम्पत्तिको ठूलो हिस्सा उनै चौधरीले हात पारे । पञ्चायतकालमा उनले सुर्यबहादुर थापा, डा. तुलसी गिरी जस्ता शक्तिशाली प्रधानमन्त्रीहरुलाई पनि प्रभावमा पारेका थिए । चौधरीले प्रजातन्त्र आएपछि काँग्रेस नजिक बनेर लाभ लिए । उनले गिरिजाप्रसाद कोइरालालाई समेत प्रभावमा पार्थे । पछि एमाले बनेका चौधरी भरतमोहन अधिकारीको प्रियपात्र बने । अधिकारी अर्थमन्त्री हुँदा कर छलीदेखि आर्थिक विषयमा खुबै लाभ लिन सके । पछि फेरि नेपाली काँग्रेस बनेका चौधरीले शेरबहादुर देउवालाई पनि घुमाइरहेका छन् । सुशील कोइरालाको पालामा पनि उनले लाभ लिन सके ।
यतिबेला चौधरी प्रचण्डलाई प्रभावमा पारिरहेका छन् । चाऊचाऊको व्यापार चकनाचुर हुँदै गएपछि चौधरीको ध्यान टेलिकम क्षेत्रमा छ । त्यसमा विदेशी लगानी भित्राएर सित्तैमा शेयर लिने दाउमा छन् । उनले टर्कीको कम्पनीको लगानी ल्याउने र चिनियाँ कम्पनीसँग मिलेर टेलिकममा ठूलै लाभ लिन खोजिरहेका छन् । अहिले प्रचण्डलाई प्रभावित बनाएर चौधरी आफ्नो कम्पनीलाई जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको लाइसेन्स दिने प्रक्रिया बढाउन सेटिङ गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रचण्डको निर्देशनमा लाइसेन्स दिन लागेको बुझिएको छ । त्यसका लागि राजपत्रमै सूचना निकालेर नियमावली संशोधन गर्न खोजिएको छ । चौधरीले स्मार्ट टेलिकमको लाइसेन्समा पनि चलखेल गरिरहेका छन् ।
चौधरीको चलखेल नेपालमा चलिरहे पनि भारतमा पनि चल्न सकेन । उनले कर छली गरेपछि कारबाही बढेको छ । चौधरीले भारतविरोधी कम्पनीसँग साँठगाँठ गरेको खबर दिल्लीले पत्ता लगाएपछि उनीप्रति नरेन्द्र मोदी नेतृत्वको सरकार पनि नकारात्मक बनेको छ । मोदीलाई खुशी पार्न उनले हिन्दु धर्मका गुरु बागेश्वर बाबालाई पनि नेपालमा ल्याए । केही बाबाहरुसँग अनुनय गरेर आफूमाथिको कारबाही रोक्न खोजे । तर, उनको केही चलेन ।
त्यसो त डलर अर्बपति बिनोद चौधरी नेपालमा अन्य उद्योगीभन्दा कम कर तिर्नेमा पर्छन् । कर छलीमा चौधरी विगतमा मुछिएकै हुन् । उनीमाथि देशको रकम योजनावद्ध तरिकाले बाहिर लाने गरेको आरोप लाग्दै आएको छ । यसका लागि उनले राष्ट्र बैंकका अधिकारीहरुलाई पनि केही बोल्न नसक्ने बनाइदिएका छन् । चौधरीको गतिविधि मनि लन्ड्रिङ नै हो । उनले नाबिल बैंकमार्फत् विदेशी कम्पनीको नाफा भन्दै रकम बाहिर लाने गरेका छन् । उनको विदेशमा रहेको लगानी पनि शंकास्पद छ ।