नवलपरासी । पश्चिम नवलपरासीको सरावलबाट भन्सार छली गरेर ल्याएको साढे ४६ लाख मुल्य पर्ने अवैध समान बरामद भएको छ ।
सरावल गाउँपालिका–६ भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर जाँच गर्दा भन्सार छली गरे ल्याएको सामान प्रहरीले बरामद गरेको हो । सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका–५ का बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले असोज ५ गते राति ११ः३० बजेको समयमा नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासीतर्फ आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला÷चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य १९ लाख रुपैयाँ बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान र सवारी चालक सहित प्रहरीले बरामद गरेको हो ।

भुजहवा नाका अहिले तस्करहरूको उर्वर भूमि भएको छ । सबै तस्करहरूले भारतीय सामान ल्याएर भण्डार गर्ने अनि केवल बील मात्रै नेपाली प्रयोग गर्ने गर्दै आइरहेका छन् । भैरहवा भन्सारले फरार सूचिमा राखेको राजु थापाले पश्चिम नवलपरासीमा ठूलो मात्रामा तस्करी धन्दा चलाउंदै आएका थिए । जुन समाचार विभिन्न समाचारमाध्यममा प्रकाशिन भएपछि तस्करी भैरहेको प्रमाण यो सामान पक्राउले पनि पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको घुमुवा प्रहरी र अर्को एक भूपू प्रहरी घुमुवाले स्कटिङ गरेर ल्याउदै गरेको सामान इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले बरामद गरेको हो ।
बानकट्टी, बसहिया र भजहवामा चामल, कपडा, भारततर्फबाट तस्करी गर्ने गरेका छन् भने नेपाल तर्फबाट कवाड, बालुवालगायत समानहरु भारत तस्करी गरिएको छ । उनीहरुले सीमा क्षेत्रबाट भारतीय चामल ल्याउने र त्यसलाई नेपालमा गोदाम गर्ने गर्दछन् । सीमा क्षेत्रको गाँउ भुजहवा, बानकट्टी र बसहियामा, घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी परासी, बर्दघाट बुटवल, भैरहवा तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ । यो समयमा सबै भन्दा बढि नवलपरासीको तस्करीको नाईके भनेर चिनिने बनकाट्टी र बसहिया नाकाबाट बनिया, भुजहवा र हराकपुरा नाकाबाट मनोहर सबै भन्दा बढि तस्करी गर्ने तस्करको रुपमा चिनिने गर्छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा एसपी काजी कुमार आचार्य सरूवा भएसंगै यहाँको तस्करी धन्दा ठाप्प रोकिएला भन्ने विश्वास गरिएको थियो । तर ठप्प नभएपनि तस्करी कम भएको देखिएको छ एक ब्यापरीले बताए । एसपी काजी कुमार आचार्यलाई प्रहरी संगठनको ईमान्दर र विश्वासिलो एसपीको रुपमा गन्ने गरिन्छ । त्यही करणले होला एक सय दिनको अन्तरलमा २ करोड भन्दा माथि अवैध समान बरामद गरी राजश्व उठाएको छ । त्यस्तै नवलपरासीको बसहिया प्रहरी चौकीका इन्चार्ज जनार्दन यादवकै मिलोमतमा तस्करी भइरहेको स्रोतले बताएको छ ।
सुस्तामा बेवारिसे अवस्थामा राखिएको अवैध चामल बरामद भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर सिमा नजिक नेपालतर्फ उखुबारीमा बेवारिसे अवस्था लुकाई राखेको १ सय ९ बोरा चामल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नथइनगर(बनकट्टी) बाट बरामद गरेको हो । नेपाल भारत तस्करी गर्ने केही तस्करहरुले भारतबाट अवैध रूपमा चामल नेपाल भित्राई उखुबारीमा बेवारिसे अवस्था राखिएको सुचना प्राप्त भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) सुस्ता ५ बलिनगरका सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खड्काको कमान्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमान्ड रहेको संयुक्त गस्ती टोलिले चामल बरामद गरेको हो । बरामद गरेको चामल करिब ३ लाख बराबरको रहेको र सो बरामद भएको अवैध चामल आवश्यक कामकारबाहीका लागी भन्सार कार्यालय पठाइने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)सुस्ता ५ बलिनगरका सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खड्काले बताएका छन् ।