काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशसित प्रतिस्पर्धा गर्दै छ ।
दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ः३० बजे सुरु हुनेछ । बंगलादेश तालिकाको विजेता र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा बोल्दै उनले फाइनलमा आफूहरुले गोल गर्ने बताए ।
प्रतियोगिताअन्तर्गत यसअघिका दुवै खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल लगातार सात अन्तर्राष्ट्रिय फुटबलमा गोलविहीन भइसकेको छ ।
“हामीले अघिल्लो खेलमा भएका गल्तीहरुलाई सुधार गर्दै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएका छौँ । सोही योजनाअनुसार हामी अगाडि बढ्ने छौँ । फाइनल खेलमा धेरैभन्दा धेरै गोल गरेर प्रतियोगिताको विजेता बन्ने हाम्रो योजना रहेको छ,” महर्जनले प्रिम्याच कन्फ्रेन्समा भने ।
उनले कीर्गिस्तान र बंगलादेशसँगको खेलमा एउटै लाइनअप भएको भन्दै फाइनलमा परिवर्तन गर्ने योजना रहेको बताए । लाइनअप मात्र नभएर खेल्ने तरिका पनि परिवर्तन गर्ने योजना रहेको उनको भनाइ छ ।
“फाइनल खेलमा कीर्गिस्तान र बंगलादेशसँग खेलेका खेलाडीहरुको सुरुवाती लाइनअप परिवर्तन हुनेछ । लाइनअप मात्र नभएर हामी खेल्ने तरिका पनि परिवर्तन गर्नेछौँ । आशा छ, खेल राम्रो हुनेछ,” उनले भने ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । पहिलेको तुलनामा हाल पूरै टिम बलियो भएको तर गोल गर्न नसक्दा नजिता राम्रो नदेखिएको उनको भनाइ छ ।
उनले फाइनलमा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने र गोल गर्ने वातावरण पनि मिल्ने विश्वास व्यक्त गरे । आफ्नो कप्तानीमा पहिलोपटक उपाधिनजिक रहेको भन्दै उनले उपाधि फुत्कन नदिने बताए ।
“म मेरो टिमप्रति पूर्ण विश्वस्त छु । उनीहरु (नेपाली खेलाडी)ले खेलमा गोल गर्नेछन् । मेरो कप्तानीमा पनि पहिलोपटक उपाधिनजिक भएको छ । यो उपाधिलाई मैले खेर जान दिने छैन,” कप्तान चेम्जोङले प्रिम्याच कन्फ्रेन्समा भने ।