बैतडीको दोगडाकेदार गाउँपालिकाका–७ चडेपानीका दीपकराज भट्ट २९ फागुनमा गाउँ छाडेर मधेशतिर झरेका थिए ।
बलात्कारपछि हत्या गरिएकी चडेपानीकै १७ वर्षीया भागरथी भट्टको घटनाको मुख्य अभियुक्तका रुपमा दीपकका जेठा छोरा १६ वर्षीय दिनेश मुछिएपछि उनको परिवारले गाउँ नै छाडे । भागरथी हत्या प्रकरणमा छोरा पक्राउ परेपछि सृजित सामाजिक वातावरणले बसाई सर्नु परेको दीपक बताउँछन् ।
‘दिनेशसँगैका साथीहरु, भागरथीको परिवार, गाउँलेहरुले हेर्ने दृष्टिकोणले गाउँमा बस्न मनले मानेन’ उनले भने, ‘त्यसपछि घर, खेतीपाती, पशुचौपाय त्यस्तै छाडेर तराई झरेँ ।’
दीपक २ छोरा, १ छोरी, श्रीमती, भाइ, भाइ–बुहारी र भाइको छोरीलाई लिएर पहाडबाट बसाईं सरी महेन्द्रनगर आएका हुन् । उनीहरु अहिले कोठा भाडामा लिएर बसेका छन् ।
२१ माघमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कार पछि हत्या गरिएको थियो । उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
उनले प्रहरी, परिवारका सदस्य, सरकारी वकिल, अदालतमा अपराध स्वीकारेको बयान दिएका थिए । त्यसपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएपछि अभियुक्त दिनेशलाई २६ फागुनमा डोटी पुर्याइएको थियो ।
यद्यपी बाल सुधार गृहमा रहेका दिनेशले अहिले आफ्नो बुवासँगको भेटमा अपराध अस्विकार गरेपछि भागरथी प्रकरणमा नयाँ तरंग आएको छ ।
दिनेशले आफूलाई जबर्जस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन् । फोन सम्पर्कका क्रममा आफू घटनामा संलग्न नभएको बताएपछि दिनेशलाई भेट्न शनिवार उनका बुवा बालसुधार गृह पुगेका थिए ।
पाँच मिनेट कुराकानी गरेका दिनेशले सुरक्षाकर्मी (गार्ड) को सामुन्ने नै घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साविती बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताए । दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ ।
‘घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिए । त्यसपछि मैले अपराध स्वीकारेको हुँ । मैले भागरथीलाई मारेको होइन’ दिनेशको भनाई उदृत गर्दै दीपकले भने, ‘उनीहरुले नै मलाई मोबाइल, ब्याट्री देखाएका थिए ।’
बाइकमा रहेका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशले बुवालाई सुनाएका थिए । बुवा र भाइलाई मार्ने डरले आफूले अपराध स्वीकारेको दिनेशको दाबी छ ।
यो विषय बाहिरिएसँगै दिनेशको परिवार त्रसित भएको छ ।
‘पहाड घरमा गहुँ काट्नु पर्ने भएको छ । अब केही दिनमा गहुँ काट्न गाउँ जाने सोचेको थिएँ’ दीपकले प्रश्न गर्दै भने, ‘तर अब कसरी जाने ? छोराले यस्तो कुरा भनेपछि डराएका छौँ ।’
दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ ।
अभियुक्त दिनेशको पछिल्लो अभिव्यक्ति बाहिरिएसँगै स्थानीयले प्रहरीको अनुसन्धानमा प्रश्न उठाएका छन् ।
यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भने अपराधी आफू बच्नका लागि घटनालाई मोड्न खोजिरहेको बताउँछन् ।
‘परिवारका सदस्य, प्रहरी, सरकारी वकिल र जिल्ला अदाललमा साविती बयान दिएका छन् । तथ्य र प्रमाणले उनै एक्लैलाई इंगित गरेको छ’ एसएसपी सिंहले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान सकेर स–प्रमाण अदालतमा पेश गरेका हौँ । पछिल्लो पटक आएको कुरा अपराधी बच्नका लागि घटनालाई टुइष्ट गर्न खाजेको बाहेक केही होइन ।’
उनले अगाडि भने, ‘घटनास्थलको उपस्थिती, अभियुक्तले भनेको ठाउँमा भागरथीका सामान पाइनु, साविती बयान लगायत विभिन्न तथ्यले दिनेशलाई दोषि देखाउँछ ।’