काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कुनै हालतमा सत्ता नछाड्ने हठमा छन् । त्यही हठले नेकपा एमाले चकनाचुर हुने अवस्थामा पुगेको छ । ओलीले सत्ता संकट टार्न फेरि चुनावलाई अस्त्रका रुपमा अघि सार्न खोजेका छन् । उनले ३ चैत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको सर्वदलीय बैठकमा चुनावकै प्रस्ताव अगाडि सारे । प्रतिनिधि सभा विघटनको आफ्नो असफल भएको कदमलाई ओलीले पुनः बचाऊ गरे । उनले ताजा जनादेशमा जाने विषय उठाए । आफूले विगतमा गरेको कदमलाई पुष्टि गर्न खोजे ।
संसद पुनःस्थापनापछि ओलीको सत्ता संकटमा परेलगत्तै चुनावलाई फेरि अस्त्रका रुपमा सारेका हुन् । चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नभएपनि ओली सत्तामै रहन चाहेको देखिन्छ । ताजा जनादेशका लागि सहमति बनाएर अर्को कुनै व्यक्तिमा समेत सहमति निकाल्ने विषयमा पनि छलफल बढाउन खोजिएको देखिन्छ । ओली सत्ताबाट नहट्न एकपछि अर्को राजनीतिक अस्त्र फालिरहेका छन् । पछिल्लो समय फेरि चुनावको अस्त्र फाल्नु अर्थपूर्ण छ ।
चुनावको विषय उठाएर ओलीले देउवालाई पनि खुशी पार्न खोजेको देखिन्छ । देउवा पनि अर्ली इलेक्शन चाहन्छन् । उनले कार्यकर्तालाई समेत चुनाव चाँडै हुने भएकाले तयार रहन भनेका छन् । चुनावको विषय उठाउँदा देउवाको पनि साथ लिनसक्ने ओलीको बुझाई हुनसक्छ । राजपा पनि चुनाव चाहिरहेको छ । चुनावमा गइहालेमा एमाले एक भइरहने र माओवादी केन्द्रसँग पनि सहकार्यको वातावरण बन्ने ओली पक्षको बुझाई देखिन्छ । सत्ता पनि जोगिने र एमाले पनि विभाजित नहुने गरी ओलीले रणनीतिक उद्देश्यले चुनावको अस्त्र फालेका छन् । तर, फेरि चुनावमा गइहाल्ने गरी कदम चाल्ने वातावरण बन्ने सम्भावना कम छ ।
देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरण निर्माणमा तयार देखिएका छैनन् । प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि उनी मौन छन् । आफै अगाडि सर्न देउवा तयार छैनन् भने अन्य कसैलाई समर्थन गर्नेमा पनि तयार छैनन् । देउवाको यो मौनतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सार्वजनिक रुपमा उल्लेख गरेका छन् । देउवा आफै पनि अगाडि नबढ्ने र अरुलाई समर्थन गर्न पनि नसर्ने गरी मौन छन् । उनको यौ मौनताको कारण काँग्रेसको १४ औं महाधिवेशन पनि कारण बनेको छ ।
२०७८ सालको भाद्रभित्र काँग्रेसको महाधिवेशन गर्नैपर्छ । कि त राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर महाधिवेशन सार्नुपर्छ होइन भने महाधिवेशनको विकल्प छैन । तर, देउवा महाधिवेशनमा जानै परे आफू पार्टीभित्र सर्वशक्तिमान बनेर मान जान तयार छन् । प्रधानमन्त्री बनेर महाधिवेशनमा जाँदा सानदार जीत हासिल गर्न सकिने देउवाको बुझाई रहेको देखिन्छ । होइन भने २०७८ साल मंसिरमा चुनाव घोषणा भए महाधिवेशन टार्न सकिनेमा समेत देउवा पक्ष विचार गरिरहेको छ । त्यसैले तत्काल सत्तामा कसैलाई लान साथ दिनेभन्दा आफै प्रधानमन्त्री बन्ने वा चुनावी सरकार निर्माणको वातावरण तयार गर्नेमा देउवा लागेको बुझिन्छ । देउवाले प्रधानमन्त्रीको दाबी गरेमा जनता समाजवादी पार्टी ओलीसँग मिलेर जानसक्ने सम्भावना नभएको होइन । जसपाभित्र सरकारको नेतृत्वको दाबी गर्नुपर्ने माग बढ्दो छ । यसकारण पनि देउवा हच्किएका छन् । आफै प्रधानमन्त्रीको दाबी गर्दा झड्का खानुपर्ने बुझाईका आधारमा पनि देउवा शतर्क छन् ।