शरीरमा समस्या देखिने वित्तिकै अस्पताल आउने बानी बसालौं

21.9k Shares

धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन तथा ग्यास्ट्रो इन्टेरोलजिस्ट डा. रोशन श्रेष्ठसँग खोजतलास साप्ताहिकले ग्यास्ट्रिक, अल्सर, पित्तथैलीमा हुने स्टोनले कस्ता समस्याहरु ल्याउँछन्, ती समस्याहरु कसरी निवारण गर्न सकिन्छ भन्ने विषयमा गरेको संक्षिप्त कुराकानी ः 

० ग्यास्टिक रोग भन्नाले के बुझिन्छ ?
ग्यास्ट्रिक भनेको पेटसम्बन्धी देखिने समस्यालाई ग्यास्ट्रिक भनिन्छ । पेटसम्बन्धी समस्या जस्तो पेट दुख्ने, पेट पोल्न, खाना खान मन नलाग्ने, पेट फुल्ने, वाकवाक आउने, खाना खाँदा अड्केको जस्तो महसुस हुने, अमिलो पानी आउने, ढ्याउ—ढ्याउ बढी आउने यी सबै ग्यास्ट्रिकसम्बन्धी लक्षणहरु हुन् । हामीले वास्तवमा के बुझ्नुपर्छ भने ग्यास्ट्रिक आफैमा रोग होइन अरु कुनै रोगहरुको कारण ग्यास्ट्रिक सम्बन्धी लक्षणहरु देखिन्छ । 
० ग्यास्ट्रिकले पेटसम्बन्धी समस्या लगायत अन्य भागमा पनि असर गर्छ ? 
मैले अगाडि नै भनिसकेँ, ग्यास्ट्रिक कुनै रोग होइन, अन्य कुनै रोगका कारण ग्यास्ट्रिकका धेरै लक्षणहरु देखा पर्छन् । पाता दुख्ने अन्य लक्षणहरु कुनै रोगका कारण पनि हुन सक्छ । विशेष गरी पेटसम्बन्धी समस्यालाई मात्र हामीले ग्यास्टिक भन्ने गर्छौं ।
० खानपिनले पेटसम्बन्धी कस्ता—कस्ता समस्याहरु निम्त्याउँछ ?
खानपिनले विशेष गरी ग्यास्ट्रिक सम्बन्धी समस्याका साथसाथै कन्स्टीपेशन, फ्याटी लिभर डिजिज, पित्त थैलीमा स्टोन, क्यान्सर आदि  समस्याहरु निम्त्याउँछ ।
० मानिसहरुमा बढी ग्यास्ट्रिक सम्बन्धी समस्या के कारणले हुन्छ ?
नेपालको परिवेशमा भन्ने हो भने धेरै मानिसहरुमा ग्यास्टिकसम्बन्धी समस्या छ । वास्तवमा ग्यास्ट्रिक हुने मुख्य कारण भनेको नेपालीहरुको खानपिनकै कारण हो । विशेष गरी नेपालीहरुमा ग्यास्ट्रिक हुनुको मुख्य कारण अधिक मात्रामा चिल्लो, पिरो, अमिलो, चिया कफी धेरै खाने र बिहान खाना खाएपछि एकैचोटी लामो समयपछि बेलुकी पेटभरि टन्न खाना खाने गर्छौं, यो जीवनशैली स्वास्थ्यका लागि राम्रो होइन यस्तै जीवनशैलीका कारण ग्यास्टिक हुने गर्छ । अर्को भनेको सरसफाईका कारण पनि ग्यास्ट्रिक हुनसक्छ । हामीले खाने पानी उमालेर नखाने, खानेकुराहरु राम्रोसँग सफा नगरी खाने, खुल्ला ठाउँमा खानेकुराहरु खाने गरेका कारण ग्यास्ट्रिक गराउने ब्याक्टेरिया जसलाई हामी एच पाइलोरी ब्याक्टेरिया भन्छौं । त्यो किटाणुहरु पेटमा जान्छ र लामो समय संक्रमणपछि ग्यास्ट्रिक अर्थात् अल्सरसम्बन्धी अरु समस्याहरु बनाउँछ । हामीहरुको बानी के छ भने डाक्टरको परामर्श विनै नजिकै रहेको मेडिकल पसलमा गएर पेन किलर, एन्टीवायोटिक औषधी किनी खाने गर्छौं यो पनि एउटा ग्यास्ट्रिक गराउने कारण हो । अर्को भनेको जीवनशैली पनि हो । विलासिताको जीवनयापन गर्नु, आवश्यकताभन्दा बढी तौल बढाउनु यी सबै ग्यास्ट्रिक गराउने कारणहरु हुन् ।
० ग्यास्ट्रिक बिग्रेपछि अल्सर हुन्छ भनिन्छ नि ?
म फेरि पनि भन्छु ग्यास्टिक भनेको कुनै रोग होइन, यो अन्य कुनै रोगको लक्षण हो । कुन कुन रोगको कारणले ग्यास्ट्रिक सम्बन्धी समस्या गराउँछ भन्दा एउटा अल्सर हो । पेटको क्यान्सरका कारणले पनि ग्यास्ट्रिकसम्बन्धी समस्या आउन सक्छ, यी बाहेक अरु विभिन्न कारणहरु जस्तै सुगर रोगी, थाइराइड, लिभर, पित्त थैली, पेनक्र्याज, किड्नीको समस्याले पनि ग्यास्ट्रिकको समस्या हुन सक्छ । एच पाइलोरी भन्ने ब्याक्टेरियाको पेटमा संक्रमण भयो भने पनि त्यसले पनि ग्यास्ट्रिक सम्बन्धी समस्या गराउँछ । वास्तवमा ग्यास्ट्रिक बिग्रेर अल्सर गराउने भन्ने हुँदैन । बरु अल्सरको लक्षण भनेको एउटा ग्यास्ट्रिक सम्बन्धी समस्या हो । 
० अल्सर चाहिँ कसरी हुन्छ ?
विशेष गरी अल्सर भनेको दुई किसिमले हुन्छ । एउटा एच पाइलोरी ब्याक्टेरियाको संक्रमण भयो भने अल्सर हुन्छ । अर्को अल्सर हुने कारण भनेको चाहिँ हामीले पेन किलरहरु जस्तो ब्रुफिम, निम्स खाँदाखेरी पेटको भित्री भागमा घाउ भएर अल्सर हुने हो । अल्सर हुनुको मुख्य कारण चाहिँ यी दुईटा हुन् । त्यो बाहेक अन्य विभिन्न कारणले पनि हुनसक्छ जस्तो इन्फेक्सन, क्यान्सरको अल्सर पनि हुनसक्छ, मुख्य भनेको चाहिँ एच पाइलोरी ब्याक्टेरिया र पेनकिलर नै हो । 
० ओभरहल ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्ने उपायहरु के होला ?
मुख्य कुरा भनेको खानपिन नै हो । समयमा खाना खानुप¥यो, हामीहरु एकैचोटी टन्न खानेकुरा खान्छौ त्यो गर्नुभएन, चिल्लो, पिरो, अमिलो बढी मात्रामा खानु भएन । चिया कफी धेरै खाइन्छ भने त्यो खानुभएन । चुरोट, रक्सी, खैनी खाने बानी छ भने त्यो खानुभएन । दैनिक स्वस्थ जीवनशैली जस्तो नियमित हिँडडुल, व्यायाम गर्नुप¥यो । अनावश्यक औषधीहरु पेनकिलर खानु भएन, सरसफाईमा ध्यान दिनुप¥यो । यतिमात्र गरेको खण्डमा पनि ग्यास्ट्रिक र अल्सर हुनबाट जोगिन सकिन्छ । 
० ग्यास्ट्रिक उमेर समूहमा पनि हुन्छ ?
ग्यास्ट्रिकको समस्या जुनसुकै उमेरलाई पनि हुनसक्छ । विभिन्न अध्ययन अनुसार २० देखि ५० वर्षको उमेर समुहका मानिसलाई ग्यास्ट्रिक भएको पाइएको छ । 
० अल्सर बिग्रेपछि क्यान्सर हुन्छ भनिन्छ नि ?
अल्सर बिग्रिएर क्यान्सर हुन्छ भन्दा पनि लामो समयसम्म अल्सर भयो भने दुखाई हुनुका साथै ब्लिडिङ हुन्छ । मुखबाट रगत आउने, दिशाबाट रगत जाने, दिसा कालो हुने हुन्छ । अल्सर विग्रीयो भने मुख्य कुरा ब्लिडिङ हुन्छ । अर्को अल्सर भनेको घाउ हो त्यो घाउँ निको भएपछि खाटा बसेको हुन्छ, त्यसको कारणले खाना पास नहुने, जे खाए पनि भोमिट हुने हुन्छ त्यसलाई हामी ग्यास्टिक आउटलेट अस्ट्रक्सन भन्छौं । अर्को चाहिँ अल्सर फुट्न सक्छ, त्यो अवस्थामा अप्रेशन नै गर्नुपर्ने अवस्था समेत आउन सक्छ ।  अल्सरको मुख्य तिनवटा कम्प्लीकेशन हुन्छ, पहिलो ब्लिडिङ, दोस्रो ग्यास्टिक आउटलेट अस्ट्रक्सन र  तेस्रो चाहिँ पर्फरेशन । अल्सर बिग्रिएर क्यान्सर भन्दा पनि क्यान्सरकै लक्षण चाहिँ अल्सरबाट सुरु हुन्छ । अल्सर छ भने चाहिँ समान्य इन्फेक्सनले गर्दा भएको हो कि, पेनकिलर खाएर भएको हो कि अथवा क्यान्सरकै अल्सर हो त्यो छुटाउन चाहिँ जरुरी हुन्छ । त्यसको लागि इन्डोस्कोपी गरेर हेर्नुपर्छ यदि क्यान्सरकै अल्सर हो भने त्यसलाई उपचार नगरी त्यसै छाड्यो भने त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।
० सुमेरु अस्पतालमा ग्यास्ट्रिक र अल्सरका विरामीहरु कत्तिको आउने गर्छन् ?
सुमेरु अस्पतालमा मात्र होइन नेपालको अधिकांश अस्पतालमा ग्यास्ट्रिक र अल्सरका विरामीहरु आउने गर्छन् । प्रायः सुमेरु अस्पतालमा भन्ने हो भने ५० देखि ६० प्रतिशत विरामीहरु ग्यास्ट्रिक सम्बन्धी समस्या भएका विरामीहरु उपचारका लागि आउने गर्छन् । त्यो बाहेक लिभर, खाना निल्ने नली सानो—ठूलो आन्द्रा, प्यानक्रियाज, पित्तथैली सम्बन्धी समस्या भएका विरामीहरु पनि आउने गर्छन् । 
० ग्यास्ट्रिककै कारण नियमित दिसा नहुने समस्या पनि आउन सक्छ ?
यो समस्या ग्यास्ट्रिक सम्बन्धी समस्या भन्दा पनि ठूलो आन्द्रा अथवा तलको समस्या हो । मुख्य चाहिँ कब्जियतका कारणले यस्तो समस्या हुने गर्छ । यो समस्या हुनु भनेको कम पानी पिउनु, हरियो सागसब्जी नखानु, चिल्लो, पिरो अथवा सुख्खा खानेकुरा खानु, दैनिक ब्यायाम नगर्नु र औषधीको कारण पनि हुन्छ, विभिन्न रोगहरु जस्तो सुगर भएका विरामी, थाइराइड, प्यारालाइसिस भएका विरामी, मानसिकसम्बन्धी औषधी खाने विरामीहरु अथवा ठूलो आन्द्रामा क्यान्सर छ भने पनि कब्जियतको समस्या आउने गर्छ । 
० प्रायः नेपालीहरुमा पित्तथैलीमा स्टोन देखिने समस्याहरु देखिन थालेको छ के कारणले यस्तो समस्या आएको होला ?
पित्तथैलीमा स्टोन हुने धेरै कारणहरु छन्, विशेष गरी पित्तथैलीमा स्टोन देखिने चाहिँ बढीमात्रामा महिलाहरुमा हुन्छ । त्यो पनि करिब ५० वर्ष नाघिसकेको महिलाहरुमा देखिन्छ । मोटो, दैनिक व्यायाम नगर्ने, सुगर, कोलेस्टोर भएका विरामी अथवा बंशाणुगत पनि हुन सक्छ । त्यो बाहेक औषधीको कारणले पनि हुनसक्छ । अर्को भनेको रगत बिग्रिएर पनि हुनसक्छ, लिभर बिग्रिएर पनि हुनसक्छ । पित्त नलीको समस्याका कारण पनि स्टोन हुनसक्छ । एउटा दुईवटा कारणले मात्र होइन धेरै कारणले पित्तथैलीमा स्टोन हुनसक्छ । 
० पित्तथैलीको स्टोनलाई औषधी खाएर ठिक पार्न सकिँदैन ?
पित्तथैलीमा भएको ढुंगा औषधी खाएर केही सानो बनाउन सकिन्छ, तर धेरै लामो समय औषधी खानुपर्ने हुन्छ । त्यसकारण पित्तथैलीको स्टोन हटाउन औषधी खान खासै हामीले सल्लाह दिँदैनौं । पित्तथैलीमा ढुंगा छ भने पनि आँत्तिएर अप्रेशन गरिहाल्नुपर्छ भन्ने पनि छैन । दुखेको अवस्था, पित्त थैली सुन्निएको अवस्था, प्यानक्रियाजमा समस्या भएको अवस्थामा मात्र पित्तथैलीको ढुंगा निकाल्ने हो, अन्य अवस्थामा निकाल्नु पर्दैन । 
० अन्तिममा छुटेका भन्नै पर्ने कुराहरु केही छन् कि ? 
मलाई भन्न मन लागेको कुरा चाहिँ एच पाइलोरी ब्याक्टेरियाको बारेमा सबैलाई थाहा छैन । यो एच पाइलोरी ब्याक्टेरिया पानी, खानाको माध्यमबाट पेटमा जान्छ र पेटमा संक्रमण गर्ने गर्छ र यसले ग्यास्ट्रिकसम्बन्धी समस्या अल्सर अथवा धेरै वर्षपछि गएर क्यान्सर पनि गराउँछ । यो ब्याक्टेरिया ग्यास्ट्रिक क्यान्सरका लागि मुख्य कारक पनि हो । सुरुमा यस्ता खाले विरामीहरु आएको खण्डमा हामीले पहिले नै एच पाइलोरी ब्याक्टेरिया छ कि छैन भनेर जाँच गराउँछौं । अध्ययनले के देखाएको छ भने अति कम विकसित राष्ट्रहरुमा ८० प्रतिशत मानिसहरुमा एच पाइलोरी ब्याक्टेरियाको संक्रमण हुन्छ सोही कारणले पनि ग्यास्ट्रिकका रोगीहरु बढी देखिएका हुन् । त्यसैले पहिलो जाँच नै एच पाइलोरी ब्याक्टेरिया छ कि छैन, छ भने दुई हप्ता एन्टिवायोटिक खाएर ठिक हुन्छ । छैन भने सोही अनुसार उपचार गर्ने गर्छौं । अर्को भन्नै पर्ने कुरा कस्तो विरामी तुरुन्त अस्पताल आउने, प्रायःजसो के हुन्छ भने विरामीहरु सामानय ग्यास्ट्रिक भनेर औषधी पसलबाट आफूखुसी औषधी किनेर खाएर बसिरहेका हुन्छन् जब अस्पताल आउँछन् पेटमा क्यान्सर भएर रोग पूरै शरीरमा फैलिसकेको हुन्छ । डाक्टरले केही गर्न सक्ने अवस्था हुँदैन । त्यसैले आफूलाई समस्या हुने वित्तिकै अस्पताल जाने बानी बसाल्नुपर्छ । मुखबाट रगत आउन थाल्यो, दिसा कालो हुन थाल्यो, पेट फुलेर आउन थाल्यो, पहिला भन्दा एकदमै दुब्लाउँदै जान थाल्यो, खाना रुचि कम हुन थाल्यो, कसैकसैलाई खाना निल्नै गाह्रो हुन थाल्यो त्यस्तो अवस्थामा तुरुन्त अस्पताल गई डाक्टरको सल्लाह लिने गर्नुपर्छ ।

सम्बन्धित समाचार