रौतहतमा तस्करीको ठेक्का शम्भुलाई

18.1k Shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवा असई हरेन्द्र ठाकुर र उनका भाइ हवल्दार महेन्द्र ठाकुरको सेटिङमा भएको तस्करीको सामान जिल्लाका प्रहरीले पक्राउ गरेपछि घुमुवाको सेटिङमा तस्करी भएको कुरा उजागर भएको छ । 
एक नम्बर प्रदेशस्थित गण रानीमा दरवन्दी भए पनि रौतहटको एसपीको घुमुवा हुनकै लागि काजमा ल्याइएका असई हरेन्द्र ठाकुरको कमान्डमा रहेको घुमुवा समुहले अहिले रौतहटमा खुलेयाम तस्करी गराई रहेका छन् ।
यसैक्रममा हरेन्द्रका भाइ महेन्द्र ठाकुरको सेटिङमा बेलबिछुवा नाकाबाट तस्करी हँुदै गरेको रक्सी ठूलो मात्रामा जिल्लाकै अर्को सिभिल टोलीले पक्राउ गरेपछि घुमुवा ठाकुर दाजुभाइको तस्करसँगको सेटिङ धन्दा उजागर भएको हो ।
गत बिहीबार रातको समयमा उक्त नाकाबाट निरजसिंहको झन्डै ६० बोरा नेपाली रक्सी भारततर्फ तस्करी गरिरहेका बखत जिल्लाको अर्को सिभिल टोली हवल्दार सुरेन्द्र चौधरीको टोलीले बरामद गरेको थियो । घुमुवा दाजुभाइले निरज सिंह, वीरेन्द्र सिंह र बिष्णु यादवलाई बेलबिछुवाबाट तस्करीको लाईन दिएका छन् । सो नाकाबाट दैनिक एक ट्रक रक्सी भारततर्फ तस्करी हँुदै आएको छ । तस्करी गराए बापत प्रहरीलाई मासिक उनीहरूले ५ लाख दिने गरेको समेत खुलेको छ ।
त्यसैगरी, बर्गेनिया नाकाबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करी भैरहेको छ । यो नाकाबाट तस्करीको लाइन पाउने एकमात्र तस्कर हुन शम्भु साह नेकपा एमाले त्यसमा पनि माधवकुमार नेपालको कृपा र आशिर्वादबाट उनले एमालेको खोल ओढेर दुवै प्रहरीको सेटिङ मिलाई ठूलो तस्करी गरिरहेका छन् ।
१२ वटा पिकअप भ्यानमा दैनिक रूपमा यो नाकाबाट शम्भु साहको कपडाको तस्करी चलिरहेको छ । एक रूपैयाँ पनि भन्सार नतिरी यो तस्करी चलिरहेको हो । महादेवपट्टी र बेलबिछुवा नाममा अरू नाकाबाट पनि शम्भु साहको तस्करी चलिरहेको छ । तस्कर शम्भु साह र रौतहट जिल्ला प्रहरीको घुमुवा कमान्डर असई हरेन्द्र ठाकुरको घर रौतहटको गौरमा नजिकै छ । सर्लाही घर भएका घुमुवा ठाकुरले लामो समयदेखि घुमुवा बसेर यस्तै तस्करी गराउने र तस्करबाट उठाएको रकमले गौरमा घर बनाएको जिल्लामै कार्यरत प्रहरीहरू बताउँछन् । बर्गेनिया स्थित सशस्त्र प्रहरीको बिओपीमा प्रहरी निरीक्षक बिमल बांनियाँ छन् भने नेपाल प्रहरीको चौकीमा असई कमल कार्की छन् । जिल्लाका घुमुवा र नाकाका दुवै प्रहरीका प्रमुखलाई सेटिङ मिलाएर शम्भु साहले ठूलो तस्करी लाइन चलाएका छन् ।
सशस्त्रका निरीक्षकले शम्भु साहको तस्करीको सामान आउँदा ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई अन्यत्र गस्ती गर्न पठाउने गरेको समेत खुलेको छ । यसरी तस्करी गरी ल्याएको कपडा कटहरिया, गरूणा र चन्द्रनिगाहपुर बजारमा पुग्ने गरेको छ । घुमुवा कमान्डर असई हरेन्द्र ठाकुरको भाइ महेन्द्र ठाकुरको दरवन्दी संखुवासभा हो । दरवन्दी भए पनि उनी रौतहटमा घुमुवा भएर कार्यरत थिए ।

सम्बन्धित समाचार