आइजीपिलाई डिएसपीको चुनौती

21.2k Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा–बढुवा भई अन्यत्र पदस्थापना भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि चितवनको टाँडीमा अवज्ञा भएको पाइएको छ । 
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारीस्वरुप अन्यत्र दरबन्दीका प्रहरीलाई यथाशीघ्र फिर्ता रवाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको दुई महिना बितिसक्दा समेत टाँडीमा त्यसको अझै पालना भएको छैन । 
सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम टाँडीमा चलेको हो । कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले रसुवा, काभ्रे, रुपन्देही दरबन्दीका तीन प्रहरीलाई काखी च्याप्दै आएको स्रोतले बताएको छ ।
नातावाद र कृपावादमा लागी डिएसपी खड्काले विभिन्न वर बहाना बनाइ प्रहरी हवल्दार उत्तम बहादुर खड्का र गिता खड्का र प्रहरी जवान लुकेश जर्घा मगरलाई अझै रवाना गर्न मानिरहेका छैनन् स्रोतले भन्यो । बिगत १२ वर्षदेखि प्रहरी चौकी पञ्चकन्यामा एकछत्र राज गर्दै आइरहेका प्रहरी हवल्दार गिता खड्कालाई उनले खड्का भएकै आधारमा थमौती दिइरहेका छन् । 
पञ्चकन्या चौकी बाहेक अन्यत्र जानू नपर्ने भाग्यमानी हवल्दार हुन् ः गिता खड्का । जागीरको दौरानमा एक दर्शकदेखि बसिरहेका उनी अहिलेसम्म रवाना लिनु परेको छैनन् । प्रहरी प्रधान कार्यालयले पटकपटक विभागीय निर्देशन दिँदा समेत उनै डिएसपी खड्काले प्रधान कार्यालयको निर्देशनलाई रद्दीको टोकरीमा हालेका छन् ।
यसअघि यहाँका विवादित घुमुवा प्रहरी सहायक हवल्दार दीपेश बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा रवाना गर्न नमानेपछि सचिवालयको आदेशपछि जेठ ३१ गते शुक्रबार रवाना भएको थियो । मुद्दामा कार्यरत हवल्दार शंकर यादवलाई बारा दरबन्दीमा रमाना गरेका उनले असई राजकुमार यादवलाई समेत दरबन्दीमा रवाना गरिसकेको छ । सई रोशन कुमार मल्ल र सहायक हवल्दार केशव पाण्डेलाई भने जिल्ला फिर्ता बोलाइएको छ । तर, हवल्दार गिता खड्कालाई भने डिएसपी खड्काले न दरबन्दी फिर्ता गर्न सके, न त ईलाका नै तानेर आन्तरिक ड्युटीमा नै खटाए ।
उता, अर्का प्रहरी हवल्दार उत्तम बहादुर खड्कालाई समेत डिएसपी खड्काले यतिबेला काखी च्याप्ने गरेको आरोप छ । खड्काले रसुवा जिल्ला दरबन्दीका हवल्दार उत्तम बहादुर खड्कालाई संरक्षण गर्ने गरेको आरोप लागेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय चितवनको कर्मचारी प्रशासन शाखामा रहेको समयमा तत्कालीन डिएसपी सुर्य बहादुर थापाले सूचना चुहाएको आरोपमा कार्वाहीस्वरुप ईलाका प्रहरी कार्यालय रत्ननगर पठाइएका हवल्दार उत्तम खड्कालाई जिन्सीको जिम्मेवारीबाट हटाएर तीन महिनादेखि कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिइएको छ । 
कप्र शाखा हाकिमका बिश्वासिला पात्रलाई खटाउने ठाउँ हो । आफू निकटका र बिश्वासिलो पात्रलाई खटाउने त्यहाँ हाल उत्तम खड्कालाई खटाइएको छ । एउटै थर भएकोले उनलाई त्यहाँको जिम्मेवारी दिइएको प्रहरी स्रोत बताउँछ ।
जबकि, काजमा बसेका र अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई रमाना गर्न प्रहरी प्रधान कार्यालयले बारम्बार परिपत्र गर्दै आइरहेको छ । तर, डिएसपी खड्काले भने आफ्नै अंगरक्षक प्रज लुकेश जर्घा मगरलाई प्रहरी चौकी सुक्र्यौलीआमाको दरबन्दीमा पठाउन आनाकानी गर्दै दरबन्दी भएका कार्यालयमा प्रहरी कर्मचारीलाई हाजिर हुन नदिएर अन्याय गरिरहेको प्रहरी स्रोतले बताएको छ ।

सम्बन्धित समाचार