प्रधानमन्त्रीको कुर्सीमा लिगलिगे दौड 

19.7k Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बदर भएलगत्तै देशमा नयाँ प्रधानमन्त्रीको खोजी भएको छ । ओलीको बर्हिगमन सुनिश्चित भएसँगै एउटै मोर्चामा उभिएका नेताहरु पनि अब प्रधानमन्त्रीको कुर्सीका लागि लिगलिगे दौडमा छन् । यो दौडमा नयाँ षड्यन्त्रको खेलहरु हुनसक्ने सम्भावना बढिसकेको छ । 
हुनत नेताहरुबीच सहमति र सहकार्यको राजनीतिलाई फेरि सुरु गर्ने प्रयास भइरहेको छ । विगतमा गिरिजाप्रसाद कोइरालाले यस्तो राजनीति सुरु गरी संसद पुनःस्थापनाबाट बलियो सरकार गठन गरेका थिए । संविधानसभा हुँदै देशले गणतन्त्र प्राप्ति गर्नुमा सहमतिको राजनीति नै मुख्य कारण थियो । तर, प्रधानमन्त्रीको कुर्सीले फेरि सहमतिको राजनीति तोडिनसक्ने सम्भावना देखिइसकेको छ । 
सहमतिको राजनीति सुरु गर्न नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठ पुगेर हिजो भेटेका छन् । प्रचण्ड र नेपालले सहमतिको सरकार निर्माणको प्रस्ताव तयार गरेर पुगेका थिए । सहमतिको राजनीतिलाई देशमा पुनः सुचारु गर्ने प्रस्तावसहित पुगेका नेताद्वयले त्यसबारे छलफल गरे । तर, देउवाले पार्टीमा छलफल गर्ने भन्दै आफ्नो पनि दाबी रहेको सन्देश दिएका छन् ।  सहमतिको सरकारमा नेकपा, काँग्रेस र जनता समाजवादी पार्टीसहित रहने गरी अगाडि बढ्नेबारे प्रचण्ड र नेपालले विगतदेखि नै प्रस्ताव तयार गरेका थिए । अब प्रतिनिधि सभा पुनःस्थापना भएकाले त्यसलाई सार्थक बनाउन उनीहरु सहमतिको वातावरण बनाउन सक्रिय भएका हुन् । देउवालाई विगतमा प्रचण्ड र नेपालले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिन आग्रह गर्दै त्यसपछि प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएका थिए । त्यतिबेला देउवाले सकारात्मक जवाफ नदिई अदालतको आदेश पर्खन मात्र भनेका थिए । उनी चुनावको पक्षमा उभिएका थिए । 
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने सन्देश दिइसकेका छन् । अब ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने निश्चितप्रायः छ । विश्वासको मत लिन ओली असफल हुने अवस्था विद्यमान रहेकाले प्रधानमन्त्रीको दौडले निकै गति लिएको छ । प्रधानमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मुख्य दाबेदार देखिएका छन् । प्रचण्ड अहिलेको अवस्थामा आफ्नो समूहको संसदीय दलका नेता पनि छन् । यसकारण पनि उनी प्रधानमन्त्रीका मुख्य दाबेदार हुन् । प्रचण्डले माधव नेपालको साथ पाउनुपर्छ । अर्कोतर्फ, काँग्रेस र जनता समाजवादी पार्टीको पनि साथ हुनुपर्छ । माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको दौडमा छन् । उनी प्रधानमन्त्री ओलीसँग लामो समययता जुध्दै आएका थिए । नेपाललाई प्रचण्डले साथ दिनुपर्ने अवस्था भएमा प्रधानमन्त्रीको बलियो दाबेदार हुन्छन् । यतिले मात्र पुग्दैन । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ । 
प्रधानमन्त्रीको दौडमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । देउवालाई प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा साथ दिएमा प्रधानमन्त्रीको प्रस्ताव प्रचण्ड र नेपालले विगतमै गरेका थिए । तर, देउवाको भुमिका स्पष्ट देखिएको थिएन । तैपनि, प्रचण्ड र नेपालको साथमा प्रधानमन्त्री बन्ने दौडमा देउवा पनि छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको समेत साथ हुनसक्छ । प्रचण्ड र नेपाललाई रोकेर देउवासँग गठबन्धन गर्ने ओलीको रणनीति बनेको बुझिएको छ । तर, ओलीसँग मिल्न देउवालाई सजिलो छैन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीसँग समिकरण बनाउन नहुने पक्षमा उभिदै आएका छन् । 
जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको दौडमा छन् । नेकपाको दुवै समूह र नेपाली काँग्रेसबीच प्रधानमन्त्रीका लागि हानथाप भएमा ठाकुर र भट्टराईको सम्भावना बढ्न सक्छ । ठाकुरको नाममा काँग्रेस पनि सकारात्मक बन्न सक्छ । तर, नेकपा र काँग्रेस दुवै आफ्नै दलबाट प्रधानमन्त्रीको दाबी गर्ने अवस्थामा छन् । 
नेताहरुबीच प्रधानमन्त्रीका लागि तिव्र प्रतिष्पर्धाले ओलीलाई नै मौका आउने सम्भावना नभएको होइन । उनले राजीनामा दिएमा या अविश्वासको प्रस्ताव पारित भएमा पनि फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहि नै रहन्छ । अर्कोतर्फ, उनी अर्को प्रधानमन्त्री नबनेसम्म पदमै रहिरहने हुँदा तत्काल नहट्ने अवस्था पनि रहन्छ । ओलीले देउवाको साथ लिएर प्रधानमन्त्री बन्ने प्रयास गर्न सक्छन् । तर, त्यो सम्भावना कमजोर हुन्छ । ओली सत्तामै रहन अनेक दाउपेच गर्न सक्छन् । त्यो भुत्ते सावित भइसकेकाले उनी कुनै पात्रलाई साथ दिने तयारीमा देखिएका छन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारीको पद जोगाउन देउवालाई प्रधानमन्त्रीमा साथ दिन सक्छन् । 

सम्बन्धित समाचार