नेपालको परिवेशमा खेलकुद क्षेत्रमा लागेर प्रायः खेलाडीहरु सरकारले दिने सेवा सुविधाबाट आफ्नो र परिवारको भविष्य अन्धकार र दैनिक जिविकोपार्जन गर्नसमेत धौधौ परेका कारण खेलसँगै अन्य पेशा अंगाल्नुका साथै कतिपय राम्रा खेलाडीहरु विदेशिएको जगजाहेरै छ ।
यस्तो अवस्थामा पनि तेक्वान्दोका छैठौं डान तथा प्रशिक्षक चुलाई मुखिया भने खेलकुद क्षेत्रमा लागेर आफ्नो संसारै तेक्वान्दो खेल हो भन्दै नेपालमै दुःखजेलो गरिरहेका छन् । तेक्वान्दो खेललाई आफ्नो सम्पत्ति ठान्ने चुलाई परिवार पाल्नेदेखि लिएर घरघडेरीसम्म जोड्न सफल बनेको बताउँछन् । नेपाल तेक्वान्दो संघको सहयोगले आफू यो स्थानसम्म आउन सफल भएको उनी बताउँछन् ।
सानै उमेरदेखि खेलकुदमा लागेका चुलाई फुटबलमा पनि आफ्नो रुचि रहेको बताउँछन् । चुलाईले १४ वर्षको उमेरदेखि तेक्वान्दो खेल खेल्न सुरु गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक ल्याउन सफल बनिसकेका छन् भने हाल उनी तेक्वान्दो खेलाडी उत्पादनका लागि प्रशिक्षणको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

सुरुमा भोलेन्टियर रुपमा २०४७ सालमा सिन्धुलीबाट प्रशिक्षण दिन सुरु गरेका चुलाईलाई २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्ले करारका रुपमा नियुक्ती भएपछि सुनसरीको इनरुवामा ९ वर्ष प्रशिक्षण दिई थुप्रै राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्नुका साथै पाँच सयभन्दा बढी ब्ल्याकबेल्ट खेलाडीहरुसमेत उत्पादन गर्न सफल बनेका थिए ।
प्रशिक्षणकै दौरानमा सिरहाको मिर्चैयामा सरुवा भई डेढ वर्ष त्यहाँ प्रशिक्षण दिई धेरै राम्रा खेलाडीहरु उत्पादन गर्न सफल चुलाईले राखेपको स्थायी रुपमा कर्मचारी भई प्रशिक्षण दिने क्रममा हाल भक्तपुरको ९९ रोपनी सल्लाघारीमा खुल्ला चौरमा प्रशिक्षण दिँदै आइरहेका छन् । भक्तपुरमा आफूद्वारा प्रशिक्षित खेलाडीहरुले राम्रो प्रगती गर्दै गइरहेको बताउने चुलाईले दुई जना अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । चुलाईद्वारा प्रशिक्षित सुजन जोशी र रोहित तामाङले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विदेशमै गई सहभागिता जनाइसकेका छन् ।
चुलाईले दैनिक डेढ घन्टा बिहान र बेलुकी नियमितरुपमा प्रशिक्षण दिँदै आइरहेका छन् । चुलाईले दैनिक एक सय ४० जना खेलाडीलाई भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा नियमित प्रशिक्षण दिँदै आइरहेका छन् ।
खेलाडीको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागिता जनाई नेपाललाई पदक दिलाउनसमेत सफल बनेको चुलाई बताउँछन् । चुलाईले पहिलो पटक बुटवलमा आयोजित राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो खेलाडीको रुपमा सहभागिता जनाएका थिए भने धनगढीमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । चुलाईले २०५० सालमा आयोजित कलर द ग्रेट च्याम्पियनसिप ओपनमा सात खेलाडीलाई पराजित गरी स्वर्ण पदक ल्याउन सफल बनेका थिए । चुलाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई नेपालका लागि धेरै नै पदक ल्याउन सफल बनेका छन् भने हाल उनी सफल प्रशिक्षकका रुपमा पनि चिनिएका छन् । सफल प्रशिक्षकको परिचय दिन सफल बनिसकेका चुलाईलाई खेल क्षेत्रमा लाग्ने प्रेरणा जितेन्द्र राई र जिवन पुलामीले दिएको चुलाई बताउँछन् ।