मध्यराती दुई नेकपाबीच भिडन्त, माधव—दाहालपक्षले आक्रमण गरेको  ओलीपक्षको आरोप

20.2k Shares

काठमाडौं । नेकपाका दुई पक्षबीच मुलुकका विभिन्न स्थानहरुमा मुठभेड सुरु हुन थालेको छ । सोही क्रममा काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं. ५ मा हिजो आइतबार राती १०ः३० बजे ओली पक्ष बास बसेको ठाउँमा माधव—प्रचण्ड पक्षले आक्रमण गरी गाडी तोडफोड गरेको समाचार छ ।
यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका वागमती प्रदेश समिति सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले ओली समूहले भ्रम फैलाएको बताएका छन् । गए राती आफ्नो पार्टीले कोही कसैलाई आक्रमण र गाडी तोडफोड गरेको भन्दै भ्रम फैलाएपछि यस्तो कार्य नगरेको स्पष्ट पार्दै यसरी भ्रम फैलाएकोमा खेद व्यक्त गरे । क्रान्तिकारीको किल्लामा प्रतिगमनकारी आएको हुँदा केही कार्यकर्ताले सहन नसकी सामान्य भनाभन भएको रहेछ । यस्तो भ्रम फैलाउनु भनेको प्रतिगमनकारीहरुको आतंकित मानसिकताको पराकाष्ठ भएको बताएका छन् ।
त्यसैगरी, सरकारवादी ओली पक्षका युवा नेता लेखराज गौतमले गाउँपालिका अध्यक्ष दिनानाथ गौतम र मुकुन्द गौतमको प्रत्यक्ष निर्देशन र वडा नं. ५ का वडाअध्यक्ष राजकुमार गौतमको योजनामा सांघातिक आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । आक्रमणकर्ताको पहिचान भइसकेकाले पार्टीले त्यसबारे गम्भीर निर्णय लिने बताए । यसरी सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउने समेत लेखराज गौतमले बताए । 
यसैगरी, ओली पक्षका अर्का नेता टेकराज मोक्तानले जनयुद्धको झल्को दिनेगरी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले आफ्नै पार्टीकै नेता तथा कार्यकर्ता बास बसेको ठाउँमा गुरिल्ला शैलीमा साँघातिक आक्रमण गर्नु भनेको राम्रो होइन । यो सांघातिक आक्रमणले कतै देशलाई गृहयुद्धतिर धकेल्न खोजेको त होइन भन्ने चिन्ता लागेको मोक्तानले बताए । 
उता, नेकपा ओलीका जिल्ला इन्चार्ज रहेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले हिजो मध्ये रातीनै छापामार शैलीमा आक्रमण गरेकोले सामाना गर्न तयार छौं भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।
उता गाउँपालिका अध्यक्ष गौतमले उनको कुरालाई हावादारी र भ्रम फैलाउन कु प्रचार गरेका बताउँदै अनावश्यक रुपमा कार्यकर्ताहरुलाई उक्साउने र झडप निम्त्याउन उद्यत भएको आरोप लगाए ।  ‘भ्रम फैलाउने पनि सिमा हुन्छ नि । कार्यकर्ताले जे सुनायो त्यहीं पत्याउने ? आफ्नो कार्यकर्तालाई थप अराजक हुन उक्साउनु उहाँको यो सही कुरा होइन ।’ उनले भने, ‘आफ्नो संगठन कमजोर भएपछि भ्रमको खेती मात्र गरेका हुन् । आफ्नो मालिक रिझाउन यहाँ आएका ओलीका कार्यकर्ताले बाँस्कोटाजीलाई सुनाएको कुरा हो ।’ उनले कोशीपारी र आम काभ्रेली जनता भ्रममा नपर्न समेत अनुरोध गरे ।
केपी ओलीले चालेको प्रतिगमनकारी कदमको विरुद्ध आफूहरु जनताको पक्षमा सधैंरहेको मात्र होइन, जनताको नेतृत्व समेत गर्दै आएको बताउँदै गौतमले प्रतिगामीहरुको विरुद्ध लाग्ने जनतालाई आफूहरुको साथ रहेको समेत प्रष्ट पारे ।

सम्बन्धित समाचार