नाइकेबाट हटाइएकी अनिला श्रेष्ठ र जेलर बस्नेतको गैरकानुनी कार्य छताछुल्ल, सुविधा लिने कैटीहरुसँग लाखौं उठतीपुठती

20.3k Shares

काठमाडौं ।  केन्द्रीय कारागार सुन्धारा जैसिदेवल स्थित कारागारका जेलर ललित बस्नेतले अदालतलाई समेत ढांटेको खुलेको छ । काण्डै काण्डमा परेर मूल नाइकेबाट हटाइएकी अनिला श्रेष्ठको कुरा र चाकडीको भरमा उनले गैंरकानुनी काम गरेको समेत खुलेको छ । कानूनले काठमाडौंमा अदालतबाट पूर्पक्षमा गएका बन्दीहरूलाई उपत्यका बाहिरका कारागारहरूमा पठाउन नपाउने स्पष्ट उल्लेख गरेको छ । बारम्बार पेशीमा काठमाडौ आइरहनुपर्ने भएको कारण पनि कानुनी रूपमा नै उनीहरूलाई उपत्यका बाहिरका कारागारहरूमा नपठाउने व्यवस्था गरिएको हो । 
तर, जेलर ललित बस्नेतले कानुन बिपरित आफू नजिकका मूल नाइके अनिला श्रेष्ठको कुरा सुनेर केही व्यक्तिलाई उपत्यका बाहिर पठाएको खुलेको हो । बैदेशिक रोजगार सम्बन्धी केशमा पूर्पक्ष गएकी लक्ष्मी खड्काको पेशी गत २९ गते थियो  । अदालतले दुई पटकसम्म कारागारमा फोन गरेर लक्ष्मी खड्कालाई झिकाउने आदेश दियो । तर कारागारले अदालतलाई बारम्बार ढांटेर ल्याउँंदै छौं भने । तर ल्याएनन् । त्यसपछि अदालतले लक्ष्मी खड्कालाई उपत्यका भित्र नै राख्ने भन्ने आदेशको पत्र कारागारलाई पठायो । कानुन व्यवसायी लक्ष्मी मैनाली पनि पूर्पक्षमा गएका व्यक्तिहरूलाई उपत्यका बाहिरका कारागारहरूमा पठाउन नपाउने कानुनी व्यवस्था रहेको बताउँछन् ।
जेलर ललित बस्नेत र मूल नाइके रहेकी अनिला श्रेष्ठको मिलिमतोमा महिला कारागारमा धेरै काण्डहरू घटेको र अनिला श्रेष्ठले गरेका हरेक गैरकानुनी कार्यलाई जेलर बस्नेतले सहयोग र साथ दिँदै आएको समाचारहरू धेरै सार्वजनिक भए पछि केही दिन अगाडि मात्रै अनिला श्रेष्ठलाई मूल नाइकेबाट हटाएर कल्पना राईलाई बनाइएको छ । जबकि मूल नाइके हुनुपर्ने खेममाया पुन थिइन् । अनिला श्रेष्ठले आंफुले भनेको नमान्ने अनि दुश्मनी भएका सबै बन्दीहरूलाई उपत्यका बाहिर पठाउने काम गर्दै आइरहेकी थिइन । उनको सिफारिस जेलर बस्नेतले हुबहु मान्दै आइरहेका थिए । अहिले मूल नाइके भएकि कल्पना राई अनिला श्रेष्ठको नजिकैको भएको कारण नाम मात्रै कल्पनाको र काम जति सबै अनिलाले नै गर्ने गरेको समेत खुलेको छ । अनिला श्रेष्ठको सिफारिसमा पूर्पक्षामा रहेका लक्ष्मी खड्का, निशा गुरूङ समेतलाई गत असार ११ गते हेटौंडा स्थित भिमफेदी कारागार पठाएको छ । यसअघि पनि अनिला श्रेष्ठसँंग विमति राखेको कारण लक्ष्मी खड्कालाई सिन्धुली, रामेछाप पठाएको र पछि अदालतको आदेशले उपत्यका ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत विवादमा तानिए । केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेकी अनिला श्रेष्ठले कैदी बन्दीमाथि व्यापक दमन र कुटपीट गरेको घटनामा गृहमन्त्रालयले छानबीन गरेको थियो । उजुरी तथा छानबीन नटुंगिदै उनलाई चौकीदार बनाउन प्रमुख जिल्ला अधिकारी बस्नेतले सिफारिस गरेको उनैले स्विकार गरेका छन् । यसअघि गृहमन्त्रालयमा रहँदा बस्नेतले अनिला श्रेष्ठमाथि छानबीन गरेका थिए । सुन्धाराको कारागार भित्रै लागु औषध मदिरा समेत प्रवेश गराएको आरोप लाग्दै आएको छ । अनिला श्रेष्ठले कारागार भित्रै विभिन्न व्यक्तिमाथि कुटपीट गरेको आरोप छ । गत असार १९ गते पनि महिला कैदी धनमाया पुनको हात भाँचिने गरि कुटपीट गरेकी थिइन् । सो पीडित समुहले विभिन्न निकायमा उजुरी दिएका छन् । तर, यसअघिको छानबीन समेत नटुंगिई अर्को उजुरी पर्दा समेत जेलर बस्नेतले आर्थिक प्रभावमा परेर श्रेष्ठलाई चौकीदार सिफारिस गरेको आरोप छ । अनिलाले जेल भित्र आफू श्रावण १ गतेदेखि नै चौकीदार हुन लागेको बताउने गरेकी एक कैदीले बताए । ती कैदीका अनुसार जेलभित्र उनले आफूले जेलर बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र कारागार विभागका प्रमुख सम्मलाई मोटो रकम बुझाएको बताउने गरेको आरोप छ । 
यसअघि हुण्डी कारोवार अन्तर्गत राजश्व छलिमा बन्दी जीवन बिताई रहेकी निशा गुरूङलाई राम्रो सुत्ने ठाउँ मिलाई दिने प्रलोभनमा पारेर करिब पाँच लाख, टेलिफोन सुबिधा मिलाई दिने भनी पाँच लाख, खानाको राम्रो सुबिधा मिलाई दिने भन्दै पाँच लाख अनिला श्रेष्ठले लिएको आरोप समेत लागेको छ । यसबाहेक उनै अनिला श्रेष्ठले कारागार भित्रको गोप्य लुट धन्दा बाहिर पु¥याएको आरोप लगाउंँदै पटक—पटक स्थानान्तरण गरिदिने धम्की दिएर झण्डै २० लाख समेत लिएको आरोप पनि लागेको छ । तर पनि निशा गुरूङ र लक्ष्मी खड्का समेतलाई असार ११ गते भिमफेदी कारागार पठाएको छ ।
ललित बस्नेत केन्द्रीय कारागार प्रमुख भएको करिब सात महिनामा झण्डै २५ देखि ३० जना कैदी बन्दीहरू स्थानान्तरण गरिएको छ । यसमा अनिला श्रेष्ठको प्रमुख हात रहेको छ । झण्डै ५० लाखको कारागार भित्रको गैरकानुनी कार्य लुकाउन बन्दी लक्ष्मी खड्का र ललिता शाहीलाई सिन्धुली कारागार स्थानान्तरण गरिएको थियो । अनिला श्रेष्ठले ठगी गरेको रकम फिर्ता माग्दा लिना श्रेष्ठ, ममता तामाङ, सन्तोषी ठकुरी, कमला लामा, कविता सुब्बा लगायतका १० जनालाई तुरुन्त अन्यत्र स्थानान्तरण गरियो । धनमाया पुन मगर प्रकरणमा पनि ७ लाख ३० हजार माग्दा उल्टो कुटपिटबाट उनको हात भांचियो । पुरूष कारागारतर्फ पनि रकम लेनदेन बिवादकै कारण गत असार १३ गते नकुल तामाङलाई स्थानान्तरण गरिएको छ । आर्थिक लेनदेन बिवादकै कारण बिमला तामाङको नाइके पद खोसेर उनको सबै सुविधा कटौती मात्रै होइन आफन्त समेतलाई भेट गर्न दिइएको छैन ।

सम्बन्धित समाचार