पश्चिम नवलपरासी । महेशपुर भन्सार कार्यालयको मिलोमत्तोमा व्यापक तस्करी भएको छ । भन्सार कार्यालयमा खटाएका कर्मचारीहरुले भने भन्सार छली गर्ने कार्यलाई प्रोत्साहित गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय भन्सारका कर्मचारीहरु ब्यापारीहरुसँग सेटिङ गरी करोडौं भन्सार राजस्व छलीमा सरीक हुने गरेका छन् । बुधवार राती नेपाल भारतको सिमाक्षेत्रमा रहेका भुजहवा गाउँबाट ठुलो मात्रामा चामल र केराउ फेला परेको छ ।
सरावल गाउँपालिका वडा नं ७ भुजहवामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालयले छापा हान्दा छोटु, सुरेश र बचनको घरबाट ३सय ५४ बोरा चामल र १ सय ३० बोरा केराउ बरामद भएको छ । सोही गाउँमा मिनटु यादवको घरमा पनि ठुलो मात्रामा अबैध मालसमानहरु लुकाएर राखिएको सुचना दिँदा पनि हामी थाकी सकेका छौं भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले भने अहिले पक्राउ गर्न मिल्दैन । महेशपुर भन्सार कार्यालयबाट महंगा ब्रान्डेड सामान ल्याउने र भन्सारमा भने सस्तो सामान ल्याएको भन्सार शुल्क तिरी ब्यापारीसँग मिलेर करोडौं राजस्व हिनामिना गर्ने कार्य हुँदैआएको गुनासोपछि भन्सार विभागले बुधबार राति भुजहवाबाट चामल र मटर बरामद गरेको छ । तस्करीको सामानका कारण १ बर्षको अवधिमा भन्सार कार्यालय महेशपुरबाट ४ जना प्रमुख तानिइसकेका छन् । त्यसपछि तस्करहरुले महेशपुर भन्सारलाई सहज नमानेपछि अहिले तस्करीको रुट परिवर्तन गरी भुजहवालाई प्रयोग गर्दैआएका छन् । अबैध मालसमान पक्राउ गरेको सम्बन्धमा जानकारी माग्दा भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालसंग प्रश्न गर्दा हामीले त्यसको बारेमा भन्न मिल्दैन भनेर ठाडो जवाफ दिए ।