महेन्द्रनगर कञ्चनपुरमा जन्मिएका दान बहादुर एैरीले तेक्वान्दो खेलका चम्किलो ताराका रुपमा उदयमान भई हाल त्रिभुवन आर्मी क्लवमा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् ।
एैरीले तेक्वान्दो खेलबाटै राष्ट्रियस्तरदेखि लिएर अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको झण्डा फहराउन सफल बनिसकेका छन् । एक्काइस वर्ष अगाडि आफ्नै परिवारको सदस्यको सहयोगमा तेक्वान्दो खेल सुरु गरी राष्ट्रियस्तर र अन्तर्राष्ट्रियस्तरका एक दर्जन प्रतियोगिताहरुमा सहभागिता जनाई स्वर्ण पदक ल्याई आफूलाई अब्बल तेक्वान्दो खेलाडीको परिचय दिइसकेका छन् । एैरीले राष्ट्रियस्तरको खेलमा पाँच स्वर्ण र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा २ स्वर्ण र साफ गेममा कास्य पदक ल्याउन सफल बनिसकेका छन् ।

अब्बल खेलाडीको रुपमा परिचित बनिसकेका एैरी हाल सक्षम र उत्कृष्ठ प्रशिक्षकको भूमिकासमेत निभाइरहेका छन् । एैरीद्वारा प्रशिक्षित त्रिभुवन आर्मी क्लवका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाई पदकको ओइरो नै ल्याई दिएका छन् । हालै नेपालमा आयोजित तेह्रौं साग गेममा एैरीद्वारा प्रशिक्षित त्रिभुवन आर्मी क्लवका १४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा चौधै जनाले मेडल ल्याउन सफल बनेका थिए । १४ जना खेलाडीमध्ये ८ जनाले स्वर्ण, १ जनाले रगत र ५ जनाले कास्यपदक ल्याउन सफल भएका थिए ।
त्रिभुवन आर्मी क्लव तेक्वान्दोका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गरी नेपालकै टिम च्याम्पियनको रुपमा रहिरहेको छ भने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा पनि खेलाडीहरुले धेरै स्वर्ण पदकहरु ल्याउन सफल बनिसकेको प्रशिक्षक एैरी बताउँछन् ।

विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको अवस्थामा समेत एैरीद्वारा सामाजिक दुरी कायम राखी खेलाडीहरुलाई प्रशिक्षण दिनुकासाथै विभिन्न अनलाईन भर्चुअल प्रतियोगिताहरुमा पनि खेलाडीहरुले सहभागिता जनाइरहेका छन् । कोरोना भाइरसको महामारीको बेला बंगलादेशमा आयोजित पहिलो बंगलादेश अन्तर्राष्ट्रिय भर्चुअल लाइभ पुम्से प्रतियोगितामा प्रतिनिधित्व गरी १ स्वर्ण, २ रगत र ३ कास्यपदक ल्याउन सफल बनेका थिए त्रिभुवन आर्मी क्लवका खेलाडीहरु । त्यस्तै दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल गेरुकी जर्मनमा आयोजित तेक्वान्दो प्रतियोगितामा पनि त्रिभुवन आर्मी क्लवका खेलाडीले एक स्वर्ण ल्याई नेपालको नाम विश्वसामु चिनाउन सफल बनेका छन् ।
त्यसैगरी, नेपालमा आयोजिन नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाईस्पीड किक र पारा तेक्वान्दो च्याम्पियनसिपमा आर्मी क्लवले सहभागिता जनाई आर्मी क्लवका खेलाडीहरुले २ स्वर्ण, २ कास्य र तीन रजतपदक ल्याउन सफल बनेको थियो ।

हालै सम्पन्न पहिलो काठमाडौं भर्चुअल तेक्वान्दो नेशनल ओपन पुम्से च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लवका दुई खेलाडीको सहभागितामा १ स्वर्ण र एक रजत ल्याउन सफल बनेको थियो भने विश्व तेक्वान्दो अनलाईन २०२० पुम्से ओपन च्याम्पियनसिपमा सहभागितासमेत जनाएको थियो ।
तेक्वान्दोका अग्रज गुरु तथा खेलाडी विधान लामा, दिपक विष्ट र संगीना बैद्यले तेक्वान्दो खेलमार्फत् नै नेपालको नाम विश्वसामु चिनाउन सफल बनेको र आफू पनि उहाँहरुले अंगालेकै बाटो अंगाली देशको लागि केही गर्छु भनेर तेक्वान्दो खेलमा लागेको एैरी बताउँछन् । सुरुमा महेन्द्रनगर कभर्ड हलमा प्रशिक्षण लिई त्यहीँबाट तेक्वान्दो खेल सुरु गरेको बताउँने एैरी बच्चामा ब्रुसुलीको मार्सलआर्टका फिल्महरु हेरी आफू पनि यस्तै बन्ने लक्ष्यका साथ तेक्वान्दो रोजेको र तेक्वान्दो खेल्ने क्रममै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नुका साथै २०६० सालदेखि त्रिभुवन आर्मी क्लवका तेक्वान्दो खेलाडीको प्रशिक्षकको रुपमा कार्य गर्दै आइरहेको एैरी बताउँछन् । आफूलाई यहाँसम्म ल्याउन नेपाल तेक्वान्दो संघले प्रशिक्षकको तालिमको लागि युके पठाई सहयोग गरिदिएकोमा हृदयदेखि धन्यवाद दिनुका साथै त्रिभुवन आर्मी क्लवजस्तो संस्थामा आफूलाई प्रशिक्षकको जिम्मेवारी दिन सहयोग गरिदिने सबैप्रति आफू आभारी रहेको एैरी बताउँछन् ।
सानै उमेरदेखि शारीरिक सुगठन र मजबुद शरीरको कद भएको कारण खेल्नसक्ने र सहनशिलता भएकै कारण आफ्ना दाजुहरु रणबहादुर एैरी, गजबहादुर एैरी र आफ्नो परिवारको हौसला बढाएकै कारण अहिले म यो ठाउँमा आइपुगेको दानबहादुर बताउँछन् ।