चन्द्रौटा । कपिलवस्तुका नाकाहरूबाट महिना दिन यतादेखि तस्करी मौलाएको छ । सरकारले राजश्वको दबाब झेलिरेहका बेला जिल्लामा खुलेआम तस्करी भइरहेको छ । सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सहयोगमा तस्करी शुरू भएको खुलेको हो । नेपाल प्रहरीको सेटिङ र संरक्षणमा ठूलो तस्करी चलेको कुरा केही दिन यता चलिरहेको भए पनि सशस्त्र प्रहरी बलको कृष्णनगर स्थित भन्सार गुल्मले तस्करीको सामान पक्राउ गरेपछि पुष्टि भएको हो ।
नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय गणेशपुर मातहतको सीमावर्ती क्षेत्रबाट प्रहरीको सेटिङमा छोडिएको तस्करीको सामान सशस्त्र प्रहरीले विजयपुर गाउँ पालिका १ जवाबैराठ क्षेत्रबाट केही दिन अगाडि बरामद गरेको थियो । उक्त तस्करीको सामान झण्डै ३७ लाख २० हजार बराबरको रहेको सशस्त्र प्रहरी बलको गुल्मले जानकारी दिएको छ । ४ वटा भारतीय मोटरसाइकलमा ल्याइएको उक्त सामान सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको बताए पनि तस्करहरू भगाएको आरोप लागेको छ । उक्त तस्करी गरि ल्याइएको लत्ताकपडा इलाका प्रहरी कार्यालय गणेशपुर मातहत रहेको प्रहरी युनिटको संरक्षणमा तस्करी भएको खुलेपनि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षकले कुनै छानबिन नै गरेनन् । इप्रका गणेशपुर कृष्णनगर नाकाबाट उत्तरपश्चिम पर्दछ ।
तर सीमावर्ती क्षेत्रमा रहेको प्रहरी युनिट सोही इप्रका मातहत रहेको छ । यस इप्रकामा कृष्ण रानामगर प्रहरी निरीक्षकको रूपमा कार्यालय प्रमुख छन् । झण्डै एक बर्ष अर्थात् २०८१ भदौमा ३० बर्षे सेवा अवधिको कारण अवकाशप्राप्त हुने रानामगरको संरक्षणमा नै मातहतका युनिट प्रमुखले तस्करी गराएको आरोप लागेको छ ।
बहादुरगञ्जसम्म मोटरसाईकल मार्फत् तस्करी गराउने र बहादुरगंजबाट दाङ, प्युठान, बुटवल जाने बसमा अर्डर अनुसार पठाउने गरिएको छ । बहादुरगंजमा प्रहरी कै ड्युटी अगाडिबाट बसमा लोड हुने गरेको छ । भारतीय बजार बढनी, कोटीया, शोहतगढ, जस्ता ठाउँबाट सामान किनेर नेपालमा तस्करी गराउँदै आएका छन् । बहादुरगञ्जका दिलिप गुप्ता, श्रीकान्त गुप्ता, सत्यनारायण गुप्ता र सन्तोष गुप्ता संलग्न छन् । यूरिया मलको पनि तस्करी बढेको छ । यस्तो तस्करीमा बहादुरगञ्जका उमेश गुप्ता, सत्यनारायण गुप्ता, नवल गुप्ता, सन्तोष गुपता, देवानगढियका हरिराम यादब लगायत संलग्न छन् । कपिलवस्तु जिल्ला प्रहरी मातहत सई दर्जाको लागि सबैभन्दा मालदार र राम्रो मानिने इलाका प्रहरी कार्यालय बहादुरगंजबाट पनि तस्करीको सेटिङ हुदै आएको छ । सीमावर्ती इप्रका नभए पनि सीमावर्ती क्षेत्रबाट तस्करी भएर आउने जतिपनि सामान हुन्छन् त्यो सामान यही इलाका प्रहरी कार्यालय मातहतबाट हाइवे हुँदै अन्यत्र जाने गर्दछ । सीमावर्ती क्षेत्रबाट भएको तस्करीका सामान पक्राउ गर्नुपर्नेमा नगरी सेटिङमा नै छोड्ने गरेको समेत खुलेको छ । यहाँ खटिने सई जिल्ला प्रहरी प्रमुखलाई टेण्डर हालेर जाने मात्रै होइन महिनावारी रकम त्यो पनि कबोल गरेको दिनुपर्ने प्रचलन रहिआएको छ । अहिले यस इलाका प्रहरी कार्यालय बहादुरगंजमा सई धनबहादुर थापा रहेका छन् । म्याग्दी दरबन्दी भए पनि दरबन्दीमा हाजिर हुन गएका छैनन् र जिल्ला प्रहरी कार्यालयले पनि रमाना नगरी झन् झन् मालदार ठाउँमा पठाई रहेको छ । सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका धनबहादुर जागिर अबधि पुगनपुग २ बर्ष रहेको छ । प्रहरी महानिरीक्षक बसन्त कुंवरको अभियान दरबन्दी पठाउ , काजमा नराख भन्ने रहेको छ तर यो कुरा कपिलवस्तुमा भने लागू भएको छैन ।यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले केही त्यस्तो छैन र छ भने म छानबिन गर्छु भने ।
कपिलवस्तु सदरमुकाम संग जोडिएको मर्यादपुर सीमा क्षेत्रबाट धमाधम तस्करी भइरहेको छ । अहिले सबै भन्दा बढि कपडा, सुर्ती र माछा विभिन्न बाटो हुदै नेपाल भित्रिरहेको छ । मर्यादपुरको ननवा नाका, मर्यादपुर नाका, बन्धा नाका, र कचरीहवाबाट तस्करी हुदै आएको छ । स्थानीय व्यापारी बजरंगी मिश्रा, मुबारक मुसलमान, कादिर मुसलमानले पिअप भ्यानमै हालेर कपडा तस्करी गरेका छन् । भारतबाट अवैध बाटो अत्याधिक मात्रमा कपडा आयात भएको छ । कपडा सदरमुकाम तौलिहवा, बाणगंगा मात्र नभई अर्घाखाँची तथा बुटवल सम्म पुगेको छ । विशेष गरि तौलिहवाका व्यापारीहरुले तस्करी गरि कपडा मगाउने र यहाँबाट आफ्नो बिल काटेर बुटवल र बाहिर पठाउने गरेका छन् । मर्यादपुरकै स्थानीय सुनिल जैसवाल, महेन्द्र पाल तौलिहवाकै संदिप जैसवाल, लक्ष्मण गुप्ताले भारतबाट कपडा ल्याएर तौलिहवाका ठूला कपडा व्यापारीलाई दिने गरेका छन् । तस्करीमा सीमा प्रहरी चौकी मर्यादपुर प्रहरी नायब निरिक्षक र डंगरी बर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरिक्षकले महिनावारी लिएर आखाँ चिम्लिएर बसेको पाइन्छ । खाद्यान्न र कपडा तस्करहरुले मासिक लाइन बुझाउने गर्दछन् भने साइकल र मोटरसाइकलका पोके तस्करहरुले हप्ता बुझाउने गरेका छन् ।
कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर ५ बगही, वडा नम्बर ६ भिल्मी, कर्मा लोहटी नाका भएर दैनिक तस्करी भइरहेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ८, बहादुरगंज बस्ने छोटु अग्रहरी, सुर्जा अग्रहरी, दिलिप अग्रहरी, दिनेश अग्रहरी लगायतले प्रहरी सेटिङमै तस्करी गरिरहेका छन् । उनीहरुले रेडिमेट कपडा, चिनी, जिरा, दाल, तेल, मैदा, पेन्ट, मोटर पार्टस्को तस्करी गर्दै आएको स्रोत बताउँछ । उनीहरुले स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई मासिक लाईन दिएर तस्करी गराउने गरेका छन् ।कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बस्नेतका अनुसार सीमाबाट हुने अवैध चोरी तस्करीलाई रोक्नका लागि प्रहरी परिचालन गरिएको बताए । एसपी बस्नेतले भने, ‘हामीले मुख्य नाका बाहेक अन्य चोरी तस्करी हुने नाकामा प्रहरी परिचालन गरेका छौं ।’
बाणगंगा नगरपालिकामा प्रहरीकै सेटिङ्गमा नदीजन्य पदार्थको दोहन भएको खुलेको छ । बाणगंगा नगरपालिका– १ उत्तमनगर क्षेत्रबाट रातको समयमा नदीजन्य पदार्थ अवैध रुपमा दोहन भएको हो । ईलाका प्रहरी कार्यालय पिपरा र सशस्त्र प्रहरी संगको सेटिङ्गमा नदीजन्य पदार्थको दोहन भएको उत्तरनगरका स्थानीयले बताए । नदीजन्य पदार्थको दोहनमा प्रयोग भएका ट्याक्टरहरुले आवाजले रातभर आरामसंग सुत्न नपाएको स्थानीयले बताएका छन् ।नेपाल किसान ट्याक्टर समितिका पदाधिकारीकै नेतृत्वमा उक्त अवैध काम भएको समेत खुल्न आएको छ । स्थानीय ट्याक्टर व्यवसायीहरुले प्रति ट्याक्टर प्रहरीलाई ३ हजार, सशस्त्र प्रहरीलाई २ हजार ५ सय र सिआईडीलाई एक हजारका दरले पैसा दिने गरेको बताएका छन् । दैनिक रुपमा ७ देखि ९ वटा ट्याक्टरहरु दोहनका लागी प्रयोग हुने गरेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख कोसिस बाबु जोशीले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताउँदै भने, ‘मलाई केही थाहा छैन् ।’ नगर प्रमुख चक्रपाणी अर्यालले आफु यस विषयमा अनविज्ञ रहेको बताउँदै भने, ‘मलाई यस विषयमा जानकारी भएन् । यदि त्यस्तो हो भने तत्काल रोक्नका लागी नगर प्रतिवद्ध छ । नगर प्रहरीसहितका प्रहरीलाई खटाईने छ ।’