काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध कानुनी कारवाहीको माग राख्नेहरु विरुद्ध आक्रोश पोखेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा (ओली समूह) को अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर झाँक्रीमाथि कारवाहीको माग गरेको थियो । विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेर झाँक्रीले राष्ट्रपति चरित्र हत्या गरेको भन्दै संघले उनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेको थियो ।
आफूविरुद्ध संघले ज्ञापनपत्र बुझाएपछि झाँक्रीले आफूले सत्य कुरा बोलेको र आफू त्यसमा अडिग रहेको बताएकी छिन् । बाग्लुङमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले सेती साडीको कुरा सांकेतिक भएको स्पष्टिकरण दिइन् ।
‘सेतो साडीको कुरा गर्दा राष्ट्रपतिको अस्मिताको अपमान भयो भन्ने ओली कम्पनीको महिला संघले बैतडीकी भागरथी भट्टको बलात्कार हत्या किन देखेन? निर्मलाका हत्यारा पत्ता लगाउन किन ज्ञापनपत्र दिएन?’ उनले प्रश्न गरिन् ।
झाँक्रीले थपिन्, ‘सेतो साडीको कुरा सांकेतिक कुरा हो । जसले गलत कुराको सुरुवात गर्योन त्यसले अहिले गलत नतिजा दिएको छ । यसमा कुनै कुरा असभ्य छैन ।’ झाँक्रीले आफूले गलत प्रवृत्तिको विरोध गरेको भन्दै कार्यकारी अधिकार चाहिए चुनावमा आउन राष्ट्रपतिलाई चुनौती दिइन् ।
‘सेतो लुगामा अस्मिता मासिएको देख्ने कम्पनीले किशोरीको बलात्कार हत्या नदेख्ने, संविधान मास्ने, असंवैधानिक काम गर्नेहरुको वकालत गर्ने? गलत रवैयाको समर्थन गर्न सकिँदैन,’ उनले आक्रोश पोखिन् ।झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाएर ओलीले सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप लगाइन् ।
‘वडा अध्यक्षमा हैसियत नभएकालाई राष्ट्रियसभा अध्यक्ष, चुनाव हारेका, वडा सदस्य नहुनेलाई राष्ट्रियसभा सदस्य, आफ्नो चाकरी गर्ने सचिवलाई निर्वाचन आयुक्त बनाएका छन् ।’ उनले भनिन्, ‘संविधान कागजको खोस्टो बनाए । नियुक्तिमा संविधान मान्नु पर्दैन? ओलीले संविधान र व्यवस्थाको चरहरण गरे ।’
झाँक्रीले ओलीको संवैधानिक कदम खारेज गराउन छोटो समयको निर्णायक संर्घषमा जानुपर्ने बताइन् ।
अदालतले ओलीको सनक र स्वेच्छारी कदमलाई वैधानिकता दिएर लोकतन्त्रको घाटी निमोट्दैन भन्ने आफूलाई लागेको बताउँदै झाँक्रीले संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरिन् ।
‘भएन भने त्यसपछि परिणाम के हुन्छ थाहा छैन,’ उनले भनिन् ‘काम गर्न दिएन भनेर प्रधानमन्त्रीका वकिलले अदालतमा रुवाबासी गरेको सुन्दा ठिट लाग्यो । कुन नीति तथा कार्यक्रम असफल भयो? नागरिकता ऐनमा गृहमन्त्रीले नै चासो दिएनन् । मन्त्रीले चासो नदिँदा विधेयकहरु संसदमै विचाराधिन रहे ।’
अदालतले पुनर्स्थापना गर्ने र वैशाखमा चुनाव नहुने जिकिर गर्दै झाँक्रीले असंवैधानिक निर्वाचनमा भाग नलिने घोषणा गरिन् ।
झाँक्रीले २३ गतेको जनप्रदर्शनमा जनताले ओलीलाई साथ नदिएको र ३ लाख भनेर ८/१० हजार मान्छे आएको दाबी गरिन् । ‘ओली कम्पनी वंशनास भएर हिँडिसकेको छ । अधोगतितिर लाग्नुभयो,’ उनले भनिन् ।
झाँक्रीले ओलीको निरंकुश सुत्ता ढाल्न १५ दिनको निर्णायक आन्दोलन काफी हुने जिकिर गर्दै संयुक्त आन्दोलनको आह्वान गरिन् । ‘नेपालको राजनीतिका कुरुप पात्र ओली हुन् । राणा, राजाको शासन ढालियो भने खड्ग प्रसाद ओली कम्पनीको निरंकुशता ५० दिन पनि टिक्दैन,’ उनले भनिन् ।