बच्चाहरुको मिर्गौला कसरी जोगाउने ?

17k Shares

मिर्गौला रोगले बच्चाहरु लाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्याउँदा धेरै बच्चाहरुको अल्पायुमै ज्यान गुमेको छ ।
आमाबाबुका सामान्य लापरवाही ले भविष्यका कर्णधार मानिएका बच्चाहरुको पछि गएर मिर्गौला फेल भएका छन् । मिर्गौला रोगको लक्षण अन्तिम अवस्थामा मात्रै थाहा पाइने हुनाले कम्तिमा हरेक बर्ष पिसाव वा रगत जाँचेर यस रोगको अवस्था बारे थाहा पाउन सकिन्छ ।

आमाको गर्भमै मिर्गौलाको क्षमता निर्धारण हुने ।
बच्चाहरुको मिर्गौला कति स्वस्थ र क्षमतावान हुन्छ भन्ने अवस्था आमाको गर्भमा हुँदा देखि नै सुरुवात हुन्छ । आमाले कतिको पोषिलो खानेकुरा खाएको र गर्भाअवस्थामा गरिएका विभिन्न  क्रियाकलापबाट नै गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य निर्माण हुन्छ ।
गर्भावस्थामा आमाले धुम्रपान तथा मदपान गर्नु हुँदैन । आमालाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसलाई सन्तुलनमा राख्नुपर्छ । चिकित्सकको परामर्श विना जथाभावी औषधीको सेवन गर्नु हुँदैन । 

जन्मदै एउटा मात्र मिर्गौला 
कुनै बच्चाको जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन् । यसो भएमा अत्तिनु हुँदैन । दुइ वटै मिर्गौला भएको बच्चा जस्तै उसले जीवन यापन गर्न सक्छ । त्यस्ता बच्चालाई उचित परामर्श दिनुपर्छ । नभए त्यस्ता बच्चालाई पछि गएर मानसिक समस्या पनि हुन जान्छ ।


पटक पटक पिसावमा संक्रमण
बच्चाको मिगौला विगार्ने मुख्य कारण पिसाव बन्द भइराख्नु तथा पिसाब फेर्दा समस्या हुनु हो । कति बाबु आमाले बालबच्चाको पिसाव संक्रमण हुँदा त्यति ध्यान दिदैनन् ।
यदि बच्चाहरुलाई पिसाबको समस्या आइरहेमा मिर्गौलामा समस्या भएको संकेत हो । 

पिसावमा रगत देखिनु ।
बच्चाको पिसावमा रगत देखियो  भने सो  सामान्य संक्रमणबाट भएको हो वा अरु नै कारणले हो त्यसबारे थाहा पाउन चिकित्सकको परामर्श लिइ हाल्नु पर्छ ।  पिसाब वा रगत जाँचेर, भिडीयो एक्सरे वा परेमा मिर्गौलाबाट सानु मासुको टुक्रा निकालेर बायोप्सी जाँच गरेर पनि मिर्गौला रोगको अवस्था बारे थाहा हुन्छ । 

पिसावमा प्रोटिन जानु ।
बच्चामा देखिने अर्को समस्या भनेको पिसाबवाट प्रोटिन जाने हो । यो समस्या बंशाणुगत हुने सम्भावन धेरै हुन्छ । यसरी प्रोटिन गइरहयो भने भित्र भित्रै मिर्गौलालाई विगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ । 

सरसफाईमा ध्यान पुर्याउने ।
बच्चाहरुको सरसफाईमा त्यति ध्यान नदिँदा मुत्रद्वार र गुद्वारमा संक्रमण हुन जाने खतरा हुन्छ । पटक पटक संक्रमण भइरह्यो भने चिकित्सको परामर्शमा औषधी सेवन गर्नु पर्छ ।
स्तनपान गराउने आमाहरुले पनि आफ्नो सरसफाईमा पनि विशेष ध्यान दिन जरुरी छ 

खानपानमा ध्यान दिने ।
बच्चाहरुको मिर्गौला जोगाउन स्वस्थ खाना तथा पोषिलो खानेकुरा खुवाउने बानी बसाल्नु पर्छ । यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । घरमै आमाले बनाएकोे खाना खाने बानी बसाल्नुपर्छ । बजारमा पाइने लिच्ची जुस, रेड बुल तथा अन्य पेय पदार्थ खान दिनु हुँदैन । प्रशस्त रुपमा पानी पिउने बानी बसाल्नुपर्छ । पानी पिउँदा उमालेर दिनु पर्छ । लामो समयसम्म पिसाब रोकेर राख्नु हुँदैन । 
 

सम्बन्धित समाचार