ललितपुर । गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा गोदावरी नगरपालिका वडा नं. ११ प्याङ्गगाउँ खेल मैदानमा राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुने भएको छ ।
लौह पुरुष सर्वोच्च नेता स्व. वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको थियो । यसपटक पनि ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर किकबक्सिङ्ग संघ र गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भदौ २१, २२ र २३ गते हुने ललितपुर खेलकुद विकास समितिका अध्यक्ष तथा ललितपुर किकबक्सिङ्ग संघका अध्यक्षसमेत रहेका विनोद महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । प्रतियोगिता भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित प्याङ्गाउँ खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र खुल्ला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
टिम च्याम्पियन बन्ने टोलीलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार नगद प्रदान गरिनेछ । पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५—२५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, पुलिस र एपिएफसँगै कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवा थाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीले सहभगिता जनाउनेछन् । आयोजकले उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र आवास व्यवस्था पनि गरेको जानकारी गराएको छ ।