केदारनाथमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

17.6k Shares

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । पार्टीले  स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न सरकारसँग माग गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ ।’

बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।  

 

सम्बन्धित समाचार