मलाई कोल्ड एलर्जी छ । चिसोमा निस्कनै हुँदैन । म जाडोमा १५ दिनमा १ पटक र गर्मीमा हप्तामा एक पटक नुहाउँछु, त्यो पनि तातो पानीले । तातो पानीले नुहाउँदा पनि टाउको दुख्छ, झन चिसो पानीले नुहाउनै हँुदैन ।” ५० नाघेका एक पुरुषको भनाई हो यो “मलाई कोल्ड एलर्जी हुन्छ । चिसो पानी चलायो कि त नाकबाट पातलो सिंगान बग्छ, छाती घ्यार–घ्यार हुन्छ, टाउको दुख्छ । चिसो पानीले नुहाउँदिन ।” २० नाघेकी ३० नपुगेकी एउटी महिलाको भनाई हो यो ।
“मलाई कोल्ड एलर्जी भयो । नुहाउँदा खेरी छातीमा चिसो पसेको जस्तो हुन्छ । डाक्टरले खानामा प्रोटिन कम हुनु, तर परिश्रम बढी भएकोले यस्तो भएको भनेका छन् ।” एक अधवैंशे पुरुषको भनाई हो यो ।
“मलाई ९–१० वर्षदेखि कोल्ड एलर्जीको समस्या छ फलफूललगायत चिसो खानेकुरा खानै हुँदैन, छाती घ्यार–घ्यार हुने र सिंगान बग्ने हुन्छ । चिसो पानीले नुहाउन हुँदैन ।” एक चौबिस वर्षीया महिलाको भनाई हो यो ।
बिहानको चिसो हावामा निस्कन नहुने, चिसो पानी खान नहुने, चिसो पानीले नुहाउन नहुने, फलफूल खान नहुने, रुघा लाग्ने, टाउको दुख्ने, छाती घ्यार–घ्यार हुने, घाँटी खश–खश हुने आदि समस्या लिएर कोल्ड एलर्जीको शिकायत गर्नेहरु धेरै छन् । चिसोमा निस्कनाले वा चिसो कुरा प्रयोग गर्नाले शारीरिक समस्या, विषेश गरी स्वासप्रस्वास सम्बन्धि समस्या आई पर्ने अवस्थालाई मानिसहरु “कोल्ड एलर्जी” भन्छन् भन्ने कुरा माथिका भनाईहरुले पुष्टि गर्छ ।
कोल्ड एलर्जी किन हुन्छ ?
“कोल्ड एलर्जी” को समस्या हुनेहरुले आफ्नो आहारमा भात लगायत कार्बोहाईडे«ट युक्त चीजहरु बढी खाने गर्छन्, प्रोटीन र चिल्लो पनि आवश्यकता भन्दा बढी प्रयोग गर्दछन् । कार्बोहाइडे«ट, प्रोटीन र चिल्लोको अत्यधिक सेवनले शरीरमा बढी मल जम्मा हुन जान्छ र त्यो मलले विशेष गरी श्वास प्रश्वास प्रणालीमा अवरोध गरेपछि कोल्ड एलर्जीको समस्या देखा पर्ने हो । श्वास प्रश्वास प्रणालीमा जम्मा भएको मल (कफ, श्लेष्मा) चिसो हावा, पानी र चिसो खानेकुरा (फलफूल सलाद आदि) को प्रयोग भएपछि यात तरलरुपमा बग्न थाल्छ या जमेर श्वास प्रणालीलाई पूरै अवरोध गर्न खोज्छ । यस अवस्थामा “कोल्ड एलर्जी” का बिरामीले “चिसो”लाई आङ्खनो समस्याको कारण ठान्छ । सायद उपचारकहरुले पनि त्यसै भनेर बिरामीलाई सम्झाउने बुझाउने र चिसोको प्रयोगबाट बच्ने सुझाव दिन्छन् । र यसैले गर्दा अधिकांश मानिसहरुले चिसोलाई नै समस्याको कारण ठानेर चिसोबाट बच्ने प्रयास गर्दछन् र यो समस्याको नाम नै “कोल्ड एलर्जी” भनेर प्रचलित भएको छ ।
कतिपय समस्याहरुमा झट्ट हेर्दा माथिल्लो सतहमा जे देखिन्छ गहिरिएर हेरेपछि अर्कै कुरा देखिए जस्तै यो “कोल्ड एलर्जी” नामको समस्यामा यस्तै भईरहेको छ । मान्छेले चिसो हावामा निस्केपछि, चिसो पानीको प्रयोग गरेपछि र चिसो खानेकुराको प्रयोग गरेपछि “कोल्ड एलर्जी” को समस्या देखा पर्ने भएको हुनाले यस समस्याको माथिल्लो सतहमा “चिसो” नै कारण हो जस्तो देखिन्छ । तर, अलि गहिरिएर हेर्ने हो भने कुरा अर्कै देखिनेछ ।
जुन मान्छेको शरीर पहिलेबाटै विकारयुक्त भएर रक्त तथा श्वास प्रणालीमा मल जम्मा भएको हुन्छ, तिनीहरुलाई मात्र कोल्ड एलर्जीको समस्या भएको देखिन्छ । यदि “चिसो” नै “कोल्ड एलर्जी” को कारण भएको भए दुनियाूका सबै मान्छेलाई यो समस्या हुनु पर्ने हो, तर सबैलाई यो समस्या हुूदैन । चिसोमा एक्स्पोज हुूदैमा सबैलाई “कोल्ड एलर्जी” हुूदैन । यसको अर्थ यही हुन्छ कि कोल्ड एलर्जीको कारण चिसो होइन, अरु नै केही छ र त्यो हो– शरीरमा जम्मा भईरहेको मल ।
चिसोको प्रयोग भएपछि “कोल्ड एलर्जी” को समस्या वा लक्षण देखा पर्नुको अर्थ के हो ?
ताजा चिसोहावा र पानी तथा खानेकुरा (फल सलाद) स्वभाविक–प्राकृतिक चीज हुन जो मान्छेलाई अति आवश्यक हुन्छ । ताजा चिसो हावा, पानी र खानाले मान्छेको जीवन शक्तिलाई बलियो र क्रियाशील बनाउूछ र मान्छेलाई निरोगी राख्ने प्रयास गर्दछ । यसैले चिसोको प्रयोग भएपछि “कोल्ड एलर्जी” को लक्षण देखा पर्नुको अर्थ यही हुन्छ कि चिसो हावा, पानी र खानाले शरीरमा जम्मा भएको मललाई सफा गर्न खोजिरहेको छ जुन मल स्वभाविक ढंगमा शरीरको मलमार्गबाट बाहिर निस्कन सकेको छैन । शरीरलाई मलबाट मुक्त गर्ने जीवनी शक्तिको विशेष प्रयास नै “कोल्ड एलर्जी” को रुपमा प्रकट हुन्छ चिसोको प्रयोग पछि । किनभने चिसोले शरीरको जीवनी शक्तिलाई क्रियाशील हुनलाई उत्प्रेरकको भूमिका खेल्छ । यसैले मान्छेमा देखा पर्ने कोल्ड एलर्जीका लक्षणहरु आफैमा समस्या नभईकन समस्या समाधानको एउटा विशेष रुप हो । यो रुपलाई प्रकृतिले मान्छेलाई सचेत बनाउन कै लागि प्रयोग गर्छ । तर मान्छेले यो कुरा बुझ्न आनाकानी गर्छ र चिसोको सट्टामा तातै तातोको मात्र प्रयोग गर्छ, चिसो हावा, चिसो पानी, फल सलादको ठाउूमा झ्याल ढोका बन्द गरेर गुम्स्याइएको कोठा, उमालिएको तातो पानी, तारे–भुटेका माछा मासु, अण्डा र अन्य तातो खाद्यको प्रयोग गर्छ र आङ्खनो शरीरमा मलमाथि मलको खात जम्मा गर्छ ।
शरीरमा मलमाथि मलको खात जम्मा भएपछि झन्झन् कोल्ड एलर्जीको “समस्या” चर्किन थाल्छ, थोरै चिसोको प्रयोग पनि असहृय हुन जान्छ र “म जाडोमा १५ दिनको एक पटक, गर्मीमा हप्तामा १ पटक तातो पानीले नुहाउूछु, चिसो पानीले कहिल्यै नुहाउँदिन” भन्नु पर्ने अवस्था आईपर्छ । यस्तो अवस्था आउनु भनेको कोल्ड एलर्जीको समस्या जीर्ण र दीर्घ हुनु हो ।
मुक्तीको उपाय छ
कोल्ड एलर्जीका लक्षणहरु देखाएर प्रकृतिले सचेत गराएपछि सचेत भएर प्राकृतिक आहार विहार अपनाउनु नै कोल्ड एलर्जीबाट मुक्तीको उपाय हो । यदि बेलैमा सचेत भएर प्राकृतिक–स्वभाविक आहार विहार अपनाउन आनाकानी गरेर अनुचित आहार विहार नै गरिरहने हो भने समस्या चर्किएर अन्य अनेक चर्को रुपमा प्रकट हुन सक्छ । कोल्ड एलर्जीबाट मुक्तीको उपाय चिसोलाई शत्रु ठान्नु होइन कि मित्र ठान्नु नै हो ।
चिसो के कारणले मित्र हो ?
जग जाहेर भएको कुरा हो, एउटा निरोगी मान्छेको निम्ति बिहानको ताजा हावा एकदमै लाभकारी हुन्छ र बिहानीको ताजा हावा चिसो नै हुन्छ । सूधै बिहानीको ताजा र चिसो हावाको सेवन गर्ने मान्छेको शरीर हलुका र स्फूर्त हुन्छ । बिहानको चिसो हावाको सेवन नगर्ने व्यक्तिको शरीर दिन भरी भारी भैरहन्छ । कोल्ड एलर्जीको समस्या हुने बाहेक अन्य सबै जसो र विशेष गरी निरोगी मानिसहरुको लागि स्फूर्तिको स्रोतको रुपमा रहने बिहानीको ताजा चिसो हावाले कसैलाई कोल्ड एलर्जी गराउूछ भने त्यो चिसो हावाको दोष होइन । दोष त्यही व्यक्तिको हुन्छ । चिसो ताजा हावाले त समस्या छ भनेर देखाई दिन्छ र समाधान गर्नलाई जीवनी शक्तिलाई उत्प्रेरित गर्दछ । त्यसैले चिसो ताजा हावाबाट बच्नु कोल्ड एलर्जीको समाधान होइन बरु शरीरमा भएको विकारलाई देखाउने र निस्काशन गर्न जीवनी शक्तिलाई उत्प्रेरित गर्ने चिसो ताजा हावाको नियमित सेवन साथसाथै शरीरमा मल (विकार) जम्मा हुन नदिने आहार गर्नु अर्थात् प्रकृतिको चुल्होमा पाकेका ताजा फलफूल तथा तरकारी आहारको रुपमा प्रयोग गर्नु नै कोल्ड एलर्जीबाट मुक्त हुने र रहने स्थायी उपाय हो ।
हाल समाजमा प्रचलित आहार ढाँचा कार्बोहाइडे«ट प्रोटीन र चिल्लो प्रधान रहेको छ । भात, रोटी, दाल, गेडागुडी, दुग्ध पदार्थ, माछा, मासु, अण्डा, तारे–भुटेका चीज चीनी आदि कार्बोहाइडे«ट, चिल्लो र प्रोटीन प्रधान आहार हुन् । धनी होस् या गरीब, सबै जसोले यी मध्ये कुनै न कुनै चीज आफ्नो शरीरको आवश्यकता भन्दा बढी खाने गरेका छन् । कुनै पनि चीज असंतुलित रुपले शरीरको आवश्यकता भन्दा बढी खानाले शरीरमा मल अड्किन जान्छ । त्यही अड्किएको मल कूपित भएर नै कुनै न कुनै स्वास्थ्य समस्या देखा पर्छ । भात, दुग्ध पदार्थ, तारे–भुटेका चिल्लो चीज, चीनीको अति प्रयोग र हरियो साग सब्जी र हरियो तरकारी, हरियो सलाद तथा रसिला फलफूल (सुन्तला, मौसम, कागती) हरुको प्रयोग गर्दै नगर्ने वा अति नै कम मात्र कहिले काहीं मात्र प्रयोग गर्ने गर्नाले शरीरमा जुन विकार जम्मा हुन्छ त्यसले शरीरको श्वास प्रश्वास प्रणाली बढी आक्रान्त हुन्छ । यही कारणले गर्दा नै चिसोसँग जम्काभेट भएपछि “कोल्ड एलर्जी” हुने गर्छ । आवश्यक मात्रामा पानी प्रयोग नगर्नु र गरी हाले पनि कुबेलामा र तातो पानी मात्र प्रयोग गर्ने गर्नु पनि कोल्ड एलर्जीको एउटा कारण हो ।
कोल्ड एलर्जीमा सबै भन्दा पहिला आहारमा नै ध्यान दिनु पर्दछ । आहारमा ध्यान दिने भन्नाले प्राकृतिक सन्तुलित आहारको कुरा आउँछ । यस अन्तरगत उपवास, फलाहार, सन्तुलित आहार पर्छन् । व्यक्तिको अवस्था हेरेर उपवास, फलाहार, उचित आहारको विधि अपनाउनु पर्छ । मानिस मोटो छ र उपवास गर्न सकिने अवस्था भए २ दिन फलाहार २—३ दिन उपवास र फेरि २ दिन फलाहार गरेर सातौं÷आठौं दिनबाट सन्तुलित उचित आहार गर्नुपर्छ । फलाहार गर्दा रसिला फलफूल (केरा र मेवा बाहेक) प्रयोग गर्न सकिन्छ । विशेष गरी सुन्तला, मौसम लाभदायक हुन्छ । फलाहार दिनको तीन पटक गर्न सकिन्छ— १) बिहानको खानाको सट्टामा, २) दिउँसोको खाजाको सट्टामा र ३) बेलुकाको खानाको सट्टामा । पेट उकुश मुकुश नहुने गरी आवश्यक मात्रामा फल लिन सकिन्छ । फलाहार गर्दा बीच बीचमा, अर्थात् फल खानु भन्दा एकघण्टा अघि देखि १ घण्टा पछिसम्मको समय बाहेक अरु समयमा प्रतिएकडेढघण्टामा १ गिलास (२५० एम.एल.) पानी लिइरहन सकिन्छ । पानीमा कागतिको रस हाल्न सकिन्छ । कागतिको रस राख्दा खेरी १ गिलास पानीमा सानो कागति भए ४ भागको १ भाग र अलि ठूलो कागति भए ८ भागको १ भाग र धेरै ठूलो खालको कागति भए १६ भागको एक भागको रस हाले पुग्छ ।
उपवास गर्दा खेरि चाहीं दिन भरी पानी मात्रै पिएर बस्नु पर्दछ । कुनै ठोस आहार लिनु हन्न । आवश्यक लागे पानीमा मह र कागति मिसाउन सकिन्छ । एक गिलास पानीमा एक चम्चा मह र कागति चाहिं माथि उल्लेख गरे अनुसार हाल्दा पुग्छ । यस प्रकारले कुनै बेला सादा पानी मात्र र कुनै बेला कागति मह पानी १–२ घण्टाको फरकमा दिन भरी पिइरहनु पर्दछ । यस प्रकार तीन दिनसम्मको उपवास घरमै गर्न सकिन्छ भने तीन दिन भन्दा बढीको उपवास जानकार व्यक्तिको सुपरिवेक्षणमा मात्र गर्नु पर्दछ । ३ दिनको उपवास पछि फेरि २ दिन फलाहार गरी तेस्रो दिन सामान्य सन्तुलित आहार गर्न सकिन्छ ।
फलाहार–उपवास–फलाहार पछिको सन्तुलित आहारमा भात अथवा रोटी एक भाग, हरियो तरकारी एक भाग, हरियो साग एक भाग र हरियो सलाद एक भाग हुनु पर्दछ । अर्थात् सम्पूर्ण आहारको २५ प्रतिशत भात अथवा रोटी, २५ प्रतिशत हरियो तरकारी, २५ प्रतिशत हरियो साग र २५ प्रतिशत हरियो सलाद हुनुपर्छ । भात रोटीसँग दाल लिनु हुन्न ।
उचित सन्तुलित आहारको क्रममा दिउूसोको खाजा फलफूल (केरा र मेवा बाहेक) लिंदा हुन्छ । बेलुकाको खाना भने बिहानको जस्तै १+१+१+१ . ४ हुनुपर्छ । फलाहार–उपवास–फलाहार—सन्तुलित आहारको यो कोर्सले अधिकांश अवस्थामा एक पटक मै कोल्ड एलर्जीको समस्या समाधान हुन्छ भने केही गरी अलिअलि बाूकी रहेमा फेरि एकपटक दोहो¥याउन सकिन्छ ।
यदि व्यक्तिको अवस्था फलाहारको लागि मात्रै उपयुक्त छ भने माथि भनिए जस्तै दिनको ३ पटक केरा र मेवा बाहेकको फलफूल खाएर कम्तिमा सात दिन रहनु पर्दछ । अधिकांश अवस्थामा सात दिनको फलाहारले धेरै हदसम्म कोल्ड एलर्जीको समस्या ठीक हुन्छ । सात दिनको फलाहारपछि सन्तुलित आहारमा जानु पर्छ । यदि व्यक्तिको अवस्था फलाहार र उपवासगर्ने खालको छैनभने उचित सन्तुलित आहारले मात्र पनि कोल्ड एलर्जीलाई ठीक गर्न सकिन्छ । यस अवस्थामा एक–दुई महिना समय लाग्छ ।
माथि उल्लेख गरेजस्तो सन्तुलित आहार पनि सम्भव छैन भने दुई महिनासम्म लगातार भात र साग मात्र खाएर पनि कोल्ड एलर्जी ठीक गर्न सकिन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने भातको तुलनामा साग बढी हुनु पर्दछ र व्यक्तिले कहिल्यै पनि उकुश मुकुश हुने गरी खानु हुँदैन । समस्या ठीक नहोउन्जेल बिरामीले तोरीको साग खानु हुँदैन ।
समस्या ठीक नहोउन्जेल बिरामीले दुग्ध पदार्थ, माछा, मासु, अण्डा, चिनी, चिया, मैदाबाट बनेका चीजहरु, तारे–भुटेका चीजहरु पूर्णरुपले बार्नु पर्छ । भातसँग दाल पनि प्रयोग गर्नु हुँदैन ।
यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने कोल्ड एलर्जी तीव्र रुपमा रुघा–खोकी–दमको रुपमा प्रकोप भइरहेको भए लक्षण ठीक नभएसम्म चिसो÷काँचो खानु हुँदैन । माथि भनिएको आहार हल्का तातो÷मन तातो अवस्थामा प्रयोग गर्नुपर्छ भने चिल्लो आहार तातो पनि लिनु हुँदैन ।
यी त भए आहार मिलाउने कुरा । कोल्ड एलर्जी ठीक गर्नलाई विहार पनि मिलाउनु पर्दछ । विहार मिलाउने भन्नाले सुत्ने, उठ्ने, बिहानको नित्य कर्म आदि पर्छन् । समस्यामा रहेको व्यक्ति बेलुका छिटै सुतेर बिहान सबेरै, कमसेकम घाम उदाउनु एक डेढ घण्टा अघि उठ्नु पर्छ र चिसो पानीले मुख कुल्ला गरेर घटघट पिउन सकिने तापक्रमको मनतातो पानी ३–४ गिलास पिउनुपर्छ । त्यसपछि दिसा आउला जस्तो भए जानु पर्छ र नभए केही समय तल माथि हिंड्ने वा जिउ तानतुन गर्नु पर्छ । यसो गरेपछि एक छिनमा दिसाको संंकेत हुन्छ र त्यस्तो संकेत भए पछि जानु पर्छ । दिसा पिसाब गरी सकेपछि बिहानको चिसो र ताजा हावामा एक घण्टा भ्रमण, व्यायाम, प्राणायाम गर्नु पर्छ । भ्रमण व्यायाम केही गर्ने अवस्था छैन भने बिहानको खुला हावामा बसेर प्राणायाम मात्र गरे पनि हुन्छ । प्राणायाम भन्नाले यहाू सामान्य प्राणायाम भन्न खोजेको हो । सामान्य प्राणायाम भन्नाले मुख बन्द गरेर नाकबाट लामो सास लिने र छोड्ने प्राणायाम हो । प्राणायाममा बस्दा खेरी वातावरणको तापक्रम अनुसार आवश्यक कपडा लगाउनु जरुरी हुन्छ । तर सम्भव भएसम्म टाउकोमा कुनै कपडा या टोपी नलगाउनु बेस हुन्छ । बिहानको चिसो ताजा हावासँग मितेरी साइनो गाँसेर प्राणायाम गर्ने गरेपछि त्यो ताजा हावा मार्फत् पनि शरीरको धेरै विकार नष्ट हुन्छ र बिस्तारै चिसोलाई सहने शरीरको क्षमता बढ्छ ।
यसको अलावा पानीको सुविधा उपलब्ध छ भने बिहान उठ्नासाथ चिसो पानीले नुहाउनु पनि कोल्ड एलर्जीको एउटा उपचार हो । चिसो पानीले नुहाउँदा ३ देखि ५ मिनेट भित्र नुहाई सक्नु पर्छ । हातमा पानी लिँदै खुट्टा देखि शुरु गरेर अन्तमा टाउको माडेर नुहाउनु पर्छ र नुहाउना साथ व्यायाम गरेर वा सिरक ओढेर जिउ तताउनु र्पछ । नुहाएपछि जिउ तातो भइरहेमा नुहाउनुको लाभ हुन्छ । यसैले चिसो पानीमा कुनै पनि हालतमा लामो समयसम्म चलिरहनु हुँदैन । लामो समय लगाएर चिसो पानीले नुहाउनु अनुचित विहार हो र त्यसले शरीरलाई हानी गर्छ ।
नुहाउँदा खेरी ध्यान दिनु पर्ने एउटा महत्वपूर्ण कुरा के हो भने नुहाउनु अघि पनि शरीर तातो हुनु पर्छ र नुहाउनुको प्रतिकृया स्वरुप पनि शरीर तातो हुनु पर्छ । यस अवस्थामा मात्र नुहाउनुको लाभ हुन्छ । अन्यथा नुहाउनु भन्दा ननुहाउनु बेस हुन्छ ।
विहारमा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो– बस्दा र सुत्दा कोठालाई गुम्स्याई
राख्नु हुँदैन, वातावरणले अनुमति दिए दिउँसो झ्यालढोका सबैखुलै राख्नु र्पछ र राती सुत्दा कमसेकम केही मात्रामा भए पनि झ्याल (भेन्टिलेसन) खुला राखेर सुत्ने गर्नुपर्छ ताकि कोठाको हावा गुम्सिन नपाओस् । गुम्सिएको हावा दूषित हुन्छ र दूषित हावाले श्वास प्रश्वास प्रणालीमा विकार जम्मा हुन्छ ।
यसको अलावा चिसो फलफूल खान हुँदैन, काँचो सलाद खानु हुँदैन, चिसो हावामा निस्कनु हुँदैन, चिसो पानी प्रयोग गर्नु हुँदैन, दही, दूध, माछा, मासु, अण्डा खाए बलियो भइन्छ भन्ने गलत विचार पनि त्याग्नु पर्दछ । जबसम्म यस्तो गलत विचार त्यागिंदैन तबसम्म आफूले गर्न लागेको आहार विहारमा अलमल भइरहन्छ र अलमलमा पर्नु नै जीवनलाई गडबड बनाउनु हो । त्यसैले उचित विचार सम्बन्धि जिज्ञाशा बढाएर उचित आहार, विहार र उचित विचार सम्बन्धि किताब–प्रकाशनहरुको अध्ययन मनन गर्नु पर्छ । बारम्बार उचित विचारको अध्ययन, मनन र उचित आहार, विहार र विचार भएकाहरुसँगको सत्संगले व्यक्तिमा उचित विचारले बास गर्छ र समस्या मुक्तीको काममा सहयोग पुग्छ ।