परासी । पश्चिम नवलपरासीको प्रहरी चौकी भुजहवाको प्रमुख रहेका असई राजाराम यादवलाई तस्करहरूले कुटपिट गरेर हतियार र मोवाइल समेत खोसेर लगेको कुरा सार्वजनिक भयो । बर्दीधारी असईलाई कुटपिट गरेर हतियार खोसेको जस्तो संवेदनशील बिषयमा न त जिल्ला, न त प्रदेश प्रहरी न त प्रहरी प्रधान कार्यालयले नै कुनै छानबिन गर्न समिति त परै जावोस् निर्देशन समेत दिन चासो देखाएन । जिल्ला प्रहरीले छानबिन नगरेपनि र बचाउन खोजेपनि प्रदेश र मुख्यालयले किन चासो दिएन भन्ने कुरा गम्भीर रूपमा उठेको छ । आखिर किन त जिल्ला प्रहरीले चासो दिएन भन्दा भुजहवा नाका तस्करीको अखडा हो र यो चौकीको प्रमुख हुन जिल्ला प्रहरीमा टेण्डर हालेर जानुपर्छ । टेण्डर हालेर गएपछि उनले मासिक जिल्लामा बुझाउने त छँदैछ आंफुले पनि कमाउनु त प¥यो । त्यसका लागि तस्करी चलाउनु प¥यो । तस्करसँग रकम उठाउनु प¥यो । तस्करहरू सकेसम्म रकम दिन खोज्दैनन् । बिवाद हुन्छ । यस्तै यस्तै । असई राजाराम यादव पनि टेण्डर हालेर गएका कारण यस्तै भयो । उनलाई आक्रमण गर्ने र हतियार खोस्ने तस्करहरू भारतीय नभएर नेपाली नै भएको तथा पक्राउ परिने डरले भारतीय भएको हल्ला गरिएको यहाँ बताइएको छ ।
समाचारस्रोतका अनुसार असई राजाराम यादवलाई डिएसपी भोजराज पाण्डेको पूर्ण सपोट र साथ रहेको कारण कुनै छानबिन नभई लुकाउने प्रयत्न गरियो । एसपी काजी आचार्य जो प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखामा जाने चर्चा चलिरहेको बखत उनले पश्चिम नवलपरासीको प्रहरी प्रमुख हुने मौका पाएका हुन् । उनी प्रहरी संगठनका राम्रो र भ्रष्टाचार एवं अनियमिततामा जोडिएका अधिकारी होइनन् तथापि यस जिल्लामा कमान्डर भएर आएपछि भने उनी निरीह बनेका हुन कि सबै जिम्मेवारी डिएसपी पाण्डेलाई दिएका हुन भन्ने प्रश्न उठेको छ । मातहतका थाना चौकी टेण्डरमा पठाउनेदेखि घुमुवा परिचालन गर्ने सबै काम डिएसपी पाण्डेले गरिरहेको जिल्ला प्रहरीका एक निरीक्षकको दावी छ । उनले भने, एसपी सा’पले तस्करी चलाउने, मातहतका युनिटबाट रकम उठाउने जस्ता कार्यहरू केही गर्नुभएको छैन । जिल्ला प्रहरी डिएसपी सा’पले चलाउनु भएको छ ।
असई राजाराम यादव यसअघि प्रहरी चौकी कुडियाको प्रमुख हुँदा पनि उनलाई बालुवा तस्करहरूले कुटपिट गरेका थिए । अपशब्द बोल्ने र वादविवाद हुने बित्तिकै पेस्तोल निकाल्ने उनको बानीले उनी सधै बिवादमा परिरहन्छन् । असई राजाराम यादवको काण्ड पछि जिल्ला मातहतका तीनवटा चौकीका प्रमुख परिवर्तन गरिएको छ । जसमा भुजहवामा सई राम बहादुर बिष्टलाई पठाएको छ भने गेर्मीमा बिजैश सहानी र गुठी पर्साैनीमा बिकाउ साह लगिएका छन् ।
अहिले गेर्मी नाकाबाट मालखा खांनको कुखुरा, सुर्ती, हार्डवेयर, खसी किरानाको तस्करीको लाइन चलेको छ । केही दिन अगाडि नवलपरासी वाइपासमा बरामद भएको म्याद सकिएको ठूलो मात्राको भारतीय मिठाइ यही गेर्मी नाकाबाट भित्रिएको समेत खुलेको छ । यो गेर्मी प्रहरी चौकीमा बिर्जेश सहानीलाई यसै सातादेखि प्रमुखको रूपमा पठाइएको छ । तर त्यहांँ तस्करीको सबै सेटिङ मिलाउने काम घुमुवा रहेका सहायक हवल्दार ओम प्रकाश यादवले गरिरहेका छन् । एसपी बिनोद सिलवाल प्रहरी प्रमुख हुँदां जिल्ला प्रहरी र उनको घुमुवा रहेका यादव काजी कुमार आचार्य प्रहरी प्रमुख भएर आएपछि गेर्मी प्रहरी चौकीमा पठाइएको थियो । तर अहिले पनि उनी जिल्लाको घुमुवा झैं सबै सेटिङ मिलाउने र डिएसपी पाण्डेको लागि काम गरिरहेकाले हाम्रो समाचारस्रोत बताउँछ । घुमुवा यादव यसअघि मनोज यादव (हाल एसएसपी भएर धरान संघिय इकाई प्रमुख छन्) नवलपरासीको प्रहरी प्रमुख हुँदा पनि घुमुवा थिए । त्यसपछि काजी कुमार आचार्य आएका हुन् । सिलवाल अघिका ऋषिराम कंडेल पनि काण्ड लागेर नै तानिएका थिए । गेर्मी नाकाबाट तस्करी गर्ने अन्यहरूमा अनिल सहानी माछा, गोरख खाद्यान्न, सुभाष, रघुबर, राजु मिनु, संजय कपडा, कल्खा कपडा, चिनी, चल्ला खाद्यान्न, बालमुकुन्द मोवाइल, अशोक किराना छन् । यिनीहरूले हंशपुर क्षेत्रको गेर्मी र रगरगंजबाट तस्करी धन्दा गर्दै आएका छन् । अचम्मको कुरा के छ भने सहायक हवल्दार ओम प्रकाश यादव नवलपरासीमा घुमुवाको रूपमा कार्यरत रहेको मात्रै पनि झण्डै दस बर्ष बितिसकेको छ । तर पनि प्रदेशदेखि प्रहरी प्रधान कार्यालयले उनले सरूवा गर्दैन । आखिर किन ? मनोज यादव पनि तस्करीको काण्ड लागेर नै बीचमै तानिएका थिए ।
बर्दघाट काण्ड
गत सोमबार इलाका प्रहरी कार्यालय बर्दघाटले तस्करीको सामान ठूलो मात्रामा वरामद ग¥यो । उक्त सामान महेशपुर नाकाबाट भित्रिएको समेत तस्करीमा संलग्नहरूले नै बताए । उक्त सामान बर्दघाटको चेकपोस्टमा वरामद भएको हो । व्यापारीहरूले उक्त इप्रकाका घुमुवा हवल्दार बिनोद चौधरीको सेटिङमा ल्याएको समेत सार्वजनिक गरे । उनीहरूले मासिक ५० हजार दिएर तस्करीको लाइन लिएको र बरामद सामान छोड्न दबाब पनि दिए । तर प्रहरी निरीक्षक केसीले यहाँ चेकिङमा सिसीटिभी भएकोले छोड्न नमिल्ने भन्दै बरामद सामान इप्रका लगे । इप्रका लगेलगत्तै केही सामान उनीहरूलाई नै फिर्ता गरिदिए । केही सामान राखे तर पनि गत बुधबारसम्म भन्सार नबुझाएको कुरा सार्वजनिक भयो । व्यापारीहरूले घुमुवा हवल्दार बिनोद चौधरीलाई मासिक ५० हजार दिएर तस्करीको लाइन लिएको सार्वजनिक भए पछि तस्करीको सेटिङ उजागर भएको हो । तर उक्त सामान घुमुवा चौधरी बिदामा गएको बेला चेकपोस्टमा खटिएका प्रहरीले बरामद गरेका थिए । घुमुवा रहेका चौधरी धेरै लामो समयदेखि नवलपरासी र मातहतका कार्यालयहरूमा घुमुवाको रूपमा कार्यरत रहिरहेका छन् तर पनि उनको अन्यत्र सरूवा हुदैन, किन ? तस्करीको सामान बरामद भएको र व्यापारीहरूले विरोध गरेको थाहा पाएपछि एसपी काजी कुमार आचार्यले जिल्लाबाट प्रतिनिधि पठाई छानबिन गर्दा इप्रका भने तस्करीको सामान नदेखिएको खुल्यो । उनले भने, मैले जिल्लाबाट मान्छे पठाएर हेर्न लगाउँदा सामान भेटिएन, घुमुवा बिदामा गएको थाहा भयो, म छानबिन गरिरहेको छु । अहिले घुमुवा हवल्दार चौधरीको सेटिङमा बर्दघाटको चेकपोस्टमा चेकिङ नहुने लाइन पाएका व्यापारीहरूमा गोरे , रघुबन , सुभाष , हरिजन , छोटु , दिपक , बिष्णु चापांगाई मुख्य रहेका छन् । यी व्यापारीहरूको घुमुवा चौधरीसंग सेटिङ रहेको कारण बर्दघाट इप्रकाको चेकपोस्टमा चेकिङ नहुने समेत सोही कार्यालयको समाचारस्रोत बताउँछ । भारतीय भूमिबाट तस्करीको सबै सेटिङ र लगानी गर्ने तस्कर भने शंकर गुप्ता रहेका छन् । उनी ठूलो तस्कर रहेको समेत थाहा भएको छ। उनले महेशपुर नाकाबाट सेटिङ मिलाएर तस्करी गर्दै आएका छन् ।बिष्णु चापागाईंले चिनीको ठूलो कारोवार यही महेशपुर नाकाबाट गर्ने गरेको समेत खुलेको छ।अहिले पश्चिम नवलपरासीमा सहायक हवल्दार हाइधर धोवी घुमुवाको रूपमा परिचालन गरिएका छन् । उनलाई डिएसपी पाण्डेले परिचालन गर्ने गरेको थाहा भएको छ। यसअघि ओम प्रकाश यादव घुमुवाको रूपमा परिचालन गरिएको थियो । त्यसअघि हाइदर धोवीका दाजु करमुल्ला धोवी घुमुवा थिए । उनी अहिले असई भए पछि पूर्वी नवलपरासीमा कार्यरत छन् । अहिले डिएसपी पाण्डे सरूवा हुदां प्रहरी महानिरीक्षक बसन्त कुंवरको गृह जिल्ला अर्घाखाँची जानका लागि दौडधुपमा छन् ।