घुमुवा प्रहरीको सेटिङमा झापाको सीमावर्ती क्षेत्रमा चोरी तस्करी मौलाउँदै

18.3k Shares

झापा ।  सरकार  भ्रष्टाचार नियन्त्रणमा लागिपरेको छ । पुराना भ्रष्टाचारका फाइलहरू खुल्दै गएका छन् । भ्रष्टाचार र अनियमिततामा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन् । उनीहरूको छानबिन भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भ्रष्टाचार र घुष काण्ड रोक्ने अभियानमा सरकार लागि परेको बताइरहेका छन् । लाग्छ अब नेपालमा भ्रष्टाचार र अनियमितता भन्ने कुरा नै हुँदैन । तर पनि जनताले यो कुरा पत्ता लगाउन सकिरहेका छैनन् कि यो सरकारले भ्रष्टाचार, चोरी तस्करी र अनियमितता रोक्ला भनेर । यसको पछाडि एउटै कारण छ कि सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण भएको छैन कि ? 
अहिले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुने होइन झन् बढेको छ । खास गरेर सुरक्षाकर्मीको संरक्षण  र सेटिङमा हुने चोरी तस्करी अहिले निकै बढेको छ । जिल्लादेखि मातहतका प्रहरी कार्यालयका प्रमुखहरूले घुमुवा राख्ने, उनीहरू मार्फत तस्करीको लाइन दिने र तस्करी गराए बापत रकम लिने काम तराईका जिल्लाहरूमा अहिले व्यापक चलेको छ । झापा जिल्लामा पनि अहिले यस्तै गरेर तस्करी चलेको छ । झापाको काकडभिट्टा नाकाबाट प्रहरीले केही तस्करहरूलाई तस्करीको लाइन दिएको छ । हाम्रा स्थानीय संवाददाताले एक महिनाको निरन्तर अनुगमन गर्ने क्रममा काकडभिट्टा नाका नजिकैको माता मन्दिर र पिड्की ढ्याक नाकाबाट व्यापक तस्करी चलिरहेको छ । नेपाल  प्रहरीको सेटिङ र संरक्षणमा यी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा राजन खड्का, रन्जित कट्टेल र सुनिल गुप्ता मुख्य छन् भने अन्य साना झोले पोके त दर्जनौंको संख्यामा छन् । 
तस्करीको सेटिङ मिलाउने झापा जिप्रकाबाट खटिएका तीन जना घुमुवाले गर्दै आएका छन् । अहिले झापा जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले हवल्दार यम श्रेष्ठ, बिरेन्द्र मण्डल र सहायक हवल्दार नरेश दाहाललाई घुमुवाको रूपमा खटाएका छन् । तस्करीको सेटिङ र संरक्षण अनि लेनदेन सबै काम यी घुमुवाहरूले गर्दै आएको इप्रका काकडभिट्टाका एक प्रहरी निरीक्षकले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने, यी घुमुवाहरूले जिल्लाको एसपी र काकडभिट्टा इप्रकाको डिएसपी दुबै जनाको घुमुवाको काम गरिरहेका छन् । दुबै हाकिमको आर्थिक कारोवार यिनीहरूले नै गर्ने गरेको उनले बताए । अहिले इप्रका काकडभिट्टामा डिएसपी दीपक भारती प्रमुख छन् । उनी ललितपुर प्रहरी परिसरको मुद्दा शाखाबाट यहाँ आएका हुन् । अचम्मको कुरा त के छ भने नेपाल प्रहरीका महानिरीक्षकदेखि कोशी प्रदेशका डिआइजी भएर कार्यरत रहेकाहरूलाई थाहा नभएको त पक्कै होइन होला कि यी तीनजना घुमुवाहरू झापा जिल्लामा कहिलेदेखि कार्यरत छन् । कहिले इलाम त कहिले अन्य ठाउँमा दरबन्दी परेपनि यी घुमुवाहरू जानुपर्देंन । उनीहरू झापामा घुमुवाको रूपमा कार्यरत रहिरहन्छन्, अनि यसरी नै तस्करीको सेटिङ मिलाउने काम गरिरहन्छन् । हालका आइजिपीले ल्याएको दरबन्दी पठाउ अभियान झापाका यी घुमुवाको हकमा अहिलेसम्म लागू भएको छैन । झापाका एसपी दुर्गा रेग्मी डिएसपी हुँदा इप्रका काकडभिट्टामा कार्यरत रहेको कारण उनले यस नाकाबाट काम गर्ने तस्करहरू चिन्ने भएको कारण पनि तस्करीको लाइन चलाउन मात्रै होइन घुमुवालाई परिचालन गर्न पनि सजिलो भएको प्रहरीहरू बताउँछन् । स्मरणरहोस् यी झापाका घुमुवाहरू झण्डै नौ बर्षदेखि यहाँ कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार