कलैया । देशको अर्थतन्त्र खराव अवस्थामा छ भन्ने कुरा यहाँ लेखिरहनु पर्ने विषय होइन । देशका कुनै पनि भन्सार कार्यालयले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न नसकेको अवस्था सार्वजनिक भैरहेको छ । लक्ष्य अनुसारको राजश्व संकलन हुन नसक्नुको कारण मध्येको एउटा हो चोरी तस्करी पनि । अर्थ मन्त्रालयले बारम्बार नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर चोरी तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिएकै छन् । दुबै प्रहरी संगठनका महानिरीक्षकहरूले मातहतका प्रदेश प्रमुख देखि जिल्ला र गण प्रमुखहरूलाई बारम्बार चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् । तर पनि सीमावर्ती क्षेत्रबाट हुने गरेको चोरी तस्करी नियन्त्रण भएको छैन, उल्टो बढेको छ । अहिले बारा जिल्लाको छतवा नाकाबाट ठूलो मात्रामा खुलेयाम तस्करी भैरहेको छ । छतवा नाकाबाट सुरक्षाकर्मीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा चन्दन (कपडा )बासुदेव (कपडा ) भोला (कपडा )सन्तोष (भैंसी ) धर्मेन्द्र ( चल्ला ) बिबेक ( सूर्ति जन्य सामान ) महादेव ( माछा )कपिल ( माछा ) मुख्य रहेका छन् । छतवा चौकी नेपाल प्रहरीको हकमा यस्तो चौकी हो जहाँ जिल्ला प्रहरी कार्यालयमा टेण्डर हालेर जाने प्रचलन छ । यहाँ जानका लागि मासिक न्युनतम पनि एक लाख दिनुपर्ने गरि टेण्डर हुने गरेको प्रहरी भित्र नै चर्चा हुने गर्दछ । अहिले छतवा प्रहरी चौकीको प्रमुखमा बरिष्ठ सई श्यामबाबु यादव रहेका छन् । प्रहरी संरक्षण र सेटिङमा तस्करी भैरहेको छ नि भन्ने हाम्रो संवाददाताको प्रश्नको उत्तरमा उनले आंफुले कसैलाई तस्करीको लाइन नदिएको दावी गरे । जबकि यो संवाददाता छतवा नाकामा झण्डै आधा घण्टा बस्दा मोटरसाइकल र साइकलमा खुलेयाम तस्करीको सामान ल्याइ रहेको देखिन्थ्यो ।
बरिष्ठ सई श्यामबाबु यादव रौतहटको स्थानीय बासिन्दा भए पनि बिरगंज बसपार्कमा सुबिधाजन्य घर बनाउन सफल भएका छन् भने उनी यसअघि बाराको पथलैंया, परवानीपुर, अमलेखगञ्ज, कवही जस्ता अतिरिक्त कमाई हुने चौकी तथा इप्रकामा बसिसकेका छन् ।यसबाहेक सर्लाहीको सबैभन्दा बढी अतिरिक्त आम्दानी हुने चौकीको रूपमा रहेको त्रिभुवननगर नाकामा पनि उनी बस्न सफल भएका छन् । हालका प्रहरी महानिरीक्षक बसन्त कुंबर चितवन जिल्ला प्रहरी कार्यालयको प्रमुख हुदा सई श्यामबाबु यादव जिल्लाकै सबैभन्दा बढी अतिरिक्त आम्दानी हुने जुगेडी चौकीमा कार्यरत थिए । महानिरीक्षक कुंबरसंग त्यही चिनजानको भरमा उनी मधेस प्रदेशको डिआइजी हुदा संगै खिचेको फोटो देखाउंदै यादव अहिले कुंबरको कार्यकालमा आंफुलाई कसैले केही गर्न नसक्ने भन्दै आइजिपीको नाम बेच्ने गरेको पनि बारा जिल्लामा प्रहरीहरू चर्चा गर्ने गर्छन् ।