रुपन्देही । बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे ।
लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
त्यसअवसरमा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । सालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।