काठमाडौं । राष्ट्रले खेलकुदको विकासका लागि गठन गरिएका संस्थाले गर्न नसकेको काम तेक्वान्दो संघ काठमाडौं शाखाका सचिव एवम् प्रशिक्षक कुमार लामा घिसिङ्गले गरेर देखाइदिएका छन् ।
घिसिङ्गले नेपालका तेक्वान्दो खेलाडीहरुको स्कील, टेक्निक र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा आत्मबल बढाउनका लागि घिसिङ्गसहितका साथीहरु मिलेर सन् २०१६ सालदेखि काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचालन गर्दै आइरहेका छन् । तेक्वान्दोका पाँचौं डान प्रशिक्षक घिसिङ्गसहितका टोलीले कोरोना भाइरसको महामारीको समयमा पनि अन्तर्राष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसीप प्रतियोगिता आयोजना गरेर खेलकुदको नेतृत्व गर्ने सरकारी अधिकारीहरुलाई कुरीकुरी पारिदिएका छन् ।

आजभन्दा २७ वर्ष अगाडि तेक्वान्दो खेलसँग आवद्ध प्रशिक्षक घिसिङ्ग नेपाल तेक्वान्दो संघ काठमाडौं शाखाको सचिवको रुपमा कार्यरत छन् । घिसिङ्गका अनुसार, ‘नेपालमै आयोजना गरिएको प्रतियोगितामा नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरी रिजल्ट पनि राम्रो ल्याएका छन्, तर विदेशमा आयोजना भएको प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले खासै राम्रो नतिजा ल्याउन नसकेको उनको तर्क छ । सोही कारण पनि नेपाली खेलाडीहरुलाई नेपाली—नेपाली खेलाडीबीच प्रतिस्पर्धा नगराई विदेशमा भएको विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर सिर्जना गर्नुका साथै प्रशिक्षण पनि गराई दिने वातावरण राज्यले गरिदिएको खण्डमा नेपाली खेलाडीहरुले नेपालमा मात्र आयोजना भएको प्रतियोगितामा मात्र नभई अन्य विदेशी मुलुकमा आयोजित प्रतियोगितामा पनि राम्रो रिजल्ट ल्याउन सक्ने घिसिङ्गको भनाई रहेको छ ।
वास्तवमा नेपालको खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, खेल क्षेत्रमै निरन्तर लाग्दा आफ्नो र परिवारको भविष्य अन्धकार हुने भएका कारण पनि राम्रा र अनुभवी खेलाडीहरु बाध्य भएर विदेशिएका धेरै खेलाडीहरु छन् ।
नेपालको परिवेशमा हेर्ने हो भने खेलकुदमै लागेर दैनिक जिविकोपार्जन गर्नसमेत धाउँधाउँ पर्ने अवस्था छ । पछिल्लो समयमा दैनिक जिविकोपार्जन गर्न केही सहजता भएको हो कि भन्ने छ, तर पनि राजनीतिक हस्तक्षेप, राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र, कार्यकर्तालाई खेलाडी बनाएर विदेश शयर गराउने, सामान्य प्रशिक्षक नियुक्तिमा राष्ट्रिय खेलकुद परिषद्देखि लिएर मन्त्रीसम्मको पावर लगाउने परम्परा नतोडिएसम्म नेपालको खेलकुदको भविष्य अन्धकार नै हुने घिसिङ्गको भनाई रहेको छ । 
कुराकानीकै क्रममा घिसिङ्ग थप्छन्, ‘नेपाली खेलाडीहरु कम्जोर छैनन्, अन्तर्राष्ट्रियस्तरमा राम्रो खेल्ने खेलाडीहरु पनि छन्, तर त्यस्ता खेलाडीलाई नेपालमै प्रशिक्षण गराउने, नेपालकै खेलाडीहरुसँग प्रतिस्पर्धा गराउने परम्परा, खेलाडीहरुको आर्थिक अवस्था ज्यादै नै दयनीय अवस्थाका कारण पनि नेपाली खेलाडीले खासै सोचेको जस्तो प्रगति र रिजल्ट निकाल्न नसकेको उनको ठम्याई छ । सोही अवस्थालाई मध्यनजर गरेर नै खेलकुद क्षेत्रका सरकारी पदाधिकारीहरुलाई कुरीकुरी पार्ने गरी घिसिङ्गलगायतका साथीहरु मिली सन् २०१६ सालदेखि निरन्तररुपमा अन्तर्राष्ट्रियस्तरका काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरु आयोजना गरी नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरी अनुभव बटुल्ने अवसर सिर्जना गरिदिएका छन् ।
घिसिङ्गले एउटा सामान्य साथीभाईहरुसँग हातेमालो गरी संचालन गरिएको कालिमाटीस्थित युटाइटेड तेक्वान्दो डोजाङ्गले तेक्वान्दोका खेलाडीहरुको स्तरउन्नतिका लागि विदेशी खेलाडीलाई नेपालमा ल्याई प्रतिस्पर्धा गराउने थलोको रुपमा स्थापित गरिदिएका छन् । यो देखेर खेलकुदको विकासका लागि भनेर स्थापित विभिन्न संघसंस्थाहरुले घिसिङ्गले गरेको योगदानको कदर गर्दै सरसहयोग गर्नुपर्नेमा खासै कतैबाट पनि सहयोग र हौसला मिल्ने खालको कार्य नभएको उनको गुनासो छ ।
वास्तवमा नेपालमा खेलाडीहरुले आफ्नो साइड काम नगर्ने हो भने साँच्चै भन्नुपर्छ, दैनिक हातमुख जोर्नसमेत सक्ने अवस्था छैन । साइड काम गरेर आफ्नो परिवारको दैनिक जिविकोपार्जनदेखि शिक्षालगायतका अन्य आवश्यकताहरु पूरा गर्नुपर्ने अवस्था छ । यसरी देशको लागि खेलाडीहरुले कहिलेसम्म खेल्ने ? उनले खेलकुद विकासका लागि भनी नियुक्ति खाई आएका व्यक्तिहरुले यसतर्फ गम्भीर भएर ध्यान दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ । घिसिङ्गले हाल कालिमाटीस्थित युनाइटेड डोजाङमा झण्डै एक सयभन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण दिनुका साथै थुप्रै स्कुलहरुमा पनि प्रशिक्षण दिँदै आइरहेका छन् ।