यसरी ठगिए आनन्द राजभण्डारीको परिवार, अदालतमा मुद्दा दायर गरेपछि प्रतिवादीहरू फरार

35.7k Shares

 काठमाडौं । कोरना कहरपछि नेपालमा ठगी मात्रै बढेको छैन कि आर्थिक अपराधका घटनाहरू ह्वात्तै बढेका छन् । नचिनेका, टाढाका मानिसले मात्रै होइन नजिकका, आफन्त र चिनेजानेका व्यक्तिहरूले समेत ठगी गर्ने गरेको तथ्य सार्वजनिक भैरहेका छन् । बिशेष गरेर बैंकिङ ठगी, अनलाइन ठगी र बैदेशिक रोजगारीका ठगीका घटनाहरू पछिल्लो समय ज्यादै बढिरहेका छन् । यस्तै एउटा ठगीको घटना छ, जहाँ आफ्नै भतिजोलाई बिश्वास गर्दा एउटाको परिवार नराम्रोसँग ठगिन पुगेको छ । यसरी ठगिन पुगेका परिवार हुन, आनन्द राजभण्डारी र उनको परिवार ।
कसरी ठगिए आनन्द राजभण्डारी 
झण्डै आठ बर्ष अघिको कुरा हो, बागलुङ घर भएर काठमाडौं बस्दै आएका आनन्दका छोरा आकाश, भतिजो अशोककुमार राजभण्डारी, केशवमान श्रेष्ठ र राजेश श्रेष्ठले साझेदारीमा कम्प्लेक्स संचालनमा ल्याएका थिए । भवन निर्माण गरेर व्यवसायिक कार्यमा लगाउने उद्देश्यले चार जनाले काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्वस्थित आकार कम्प्लेक्स प्रा.लि. दर्ता गरे । शुरूमा आकाश र अशोक मिलेर मात्रै कम्प्लेक्स खोल्ने सहमति भएको थियो । तर अशोकले काम गर्न सहज हुने भन्दै सिन्धुपाल्चोकका केशवमान श्रेष्ठ र भक्तपुरका राजेश श्रेष्ठलाई साझेदार बनाए । आकाशको लगानीमा काठमाडौं वडा नम्बर ३० मा रहेको कित्ता नम्बर ३०४८, ३०४७ र २९८८ का जग्गाहरू खरिद गरि चार जनाको नाममा दर्ता श्रेस्ता कायम गरिएको थियो । हाल कित्ता नम्बर ३०४८ , ३०४७ को जग्गा कम्पनीको नाममा र २९८८ को जग्गा चार जनाको नाममा रहेको छ । उक्त जग्गा धितो राखेर प्रभु बैंकबाट कर्जा लिएर शेयर लगानी गरि भवन खडा गरिएको थियो । भवन निर्माणको क्रममा भएको लगानीको रकम साझेदारहरूले शेयरमा रूपान्तरण गरौंला भन्ने मौखिक सहमति पछि आकाशले भुक्तानी गरिदिए । तर भवन निर्माणको भुक्तानी भएपछि उक्त रकम शेयरमा समायोजन गर्न अरू साझेदार नमानेपछि विवादको बीउ रोपियो । सहमति र सम्झौता बिपरित कम्प्लेक्स उनीहरूले मनोमानी ढंगले चलाउन थालेपछि उनीहरू बीच विवाद बढ्दै गयो । हुँदाहँुदै उक्त कम्प्लेक्सबाट आकाशलाई हटाउनको लागि राजेश श्रेष्ठले अशोककुमार र केशवमानलाई आफ्नो पक्षमा लिए । जसको कारण संचालक समितिमा नै झगडा शुरू भयो । आकाशलाई थाहै नदिई अरू तीन जनाले आफू खुशी सटर भाडामा लगाउने र भाडा उठाउने गर्न थाले तर बैंकको किस्ता, कर्मचारीको तलव, तिर्नुपर्ने कर समेत उनीहरूले नतिरेपछि विवाद झनै उत्कर्षमा पुग्यो ।
विवादको उग्ररूप यस्तो
विवाद यतिमा मात्र सीमित रहेन, आकाशको नाममा रहेको शेयर समेत कसैलाई जानकारी नदिई घटाउने काम अरू साझेदारहरूले गरे । कम्प्लेक्समा आकाशको ४२ प्रतिशत र अशोककुमार, केशवमान अनि राजेशको ५८ प्रतिशत शेयर थियो । तर उनीहरूले शेयर संचालक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई समेत जानकारी नदिई आकाशको ४२ प्रतिशत शेयर, ८ प्रतिशत कायम गरेपछि झनै विवादले उग्ररूप लियो । ७ करोड १५ लाख ६५ हजार ९६९ रूपैयाँको प्रत्यक्ष नोक्सानी पु¥याएपछि पीडित आकाश कानुनी उपचारको खोजिमा लागे, जुन स्वाभाविकै थियो । उनले आकार कम्प्लेक्सलाई एकलौटी रूपमा नियन्त्रणमा लिएर कार्यालयमा प्रवेश गर्न नदिएको र आफ्नो शेयर घटाई व्यक्तिगत लाभ लिन खोजेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गरे । प्रहरीले अनुसन्धान अघि बढायो । जिल्ला सरकारी वकिल कार्यालय मार्फत् काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो । जिल्ला अदालतले उनीहरू विरूद्व पक्राउ पूर्जि जारी ग¥यो । पक्राउ परेका केशवमान श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ भदौ २७ गतेको आदेशले हाजिर जमानीमा छोडियो । राजेश र अशोककुमारले आंफुहरूलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएपछि उच्चले निषेधाज्ञा आदेश जारी ग¥र्या र उनीहरूलाई बाहिरै राखेर अनुसन्धान अघि बढाउने काम भयो ।
१७ करोड २४ लाख ३१ हजार रूपैयाँ कायम गरिएको चुक्ता पूंजि घटाएर २०७८ चैत १८ गतेको कम्प्लेक्सको संचालक समितिको बैठकबाट ८ करोड ८० लाख ६० हजार ४०० कायम गरि शेयर लागत अभिलेखका लागि बिद्धुतिय माध्यमकाट कार्यालयमा प्रवेश गरेको भनी कम्पनी रजिस्ट्रारको कार्यालयले २०७९ असोज २८ गते जिल्ला सरकारी वकिल कार्यालयलाई समेत पत्र पठाएको छ । कम्पनी ऐन २०६३ को दफा ५७ र दफा ५८ को व्यवस्था बमोजिम अदालतको अनुमतिबिना चुक्ता पूंजि घटाउन नमिल्ने हुँदा साधारण समितिको बैंठकबाट पेश गरिएको शेयर लगायतका अभिलेखलाई मान्यता प्रदान नगरिएको रजिस्ट्रारको कार्यालयले जानकारी दिएको छ । प्रहरीको अनुसन्धान, प्रतिवादीहरूको बयान, साक्षीहरूलाई मध्यनजर गर्दै सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा पुनः मुद्दा दर्ता दायर गरेको छ ।
प्रतिवादीहरूले शेयर घटबढ गर्ने बिषयमा अदालतबाट कुनै अनुमति नलिई जानीजानी कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रस्ताव पेश गरेको, आकाशको नाममा भएको शेयर आफूखुसी घटाई एकलौटी रूपमा कम्प्लेक्स हडपेको र नोक्सानी पु¥याउने उद्देश्यले आकाशलाई विश्वास दिलाएर ठगी र आपराधिक विश्वासघात गरेको भनी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ ले निषेधित र उपदफा २ ले परिभाषित कसूर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २५२ (१) ले निषेधित उपदफा २ बमोजिम कसूर गरेको सरकारी वकिल कार्यालयको ठहर छ । मुलुकी अपराध संहिता २४९ मा ठगी गर्न नहुने उल्लेख छ । कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएर सो बमोजिम नगरेमा, बेईमानी पूर्वक हानीनोक्सानी वा क्षति पु¥याएमा वा अन्य कुनै किसिमले ठगी गरेमा सात बर्षसम्म कैंद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ । त्यस्तै, आपराधिक विश्वासघात गरेमा पाँच बर्षसम्म कैंद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ । सरकारी वकिल कार्यालयले उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम अदालतबाटै पक्राउ पूर्जी जारी गर्न सक्ने समेत माग गरेको छ । जिल्ला अदालतमा मुद्दा दायर गरेपछि प्रतिवादीहरू फरार छन् । केशवमानले बयानका क्रममा आफूले ठगी नगरेको दावी गरेका छन् । आकाशले आफूखुसी कर्मचारी नियुक्ति गरि आर्थिक हिसाब किताबबारे शेयर संचालकहरूलाई जानकारी नगराउने गरेको, आयव्ययको रकम हिनामिना गरेको थाहा पाएपछि उनलाई शेयरधनीको प्रस्तावबाट निष्कासन गरिएको केशवमान बताउँछन् । राजेश र अशोककुमारको भनाइ पनि त्यस्तै रहेको छ ।

 

सम्बन्धित समाचार