विश्व सामु देशको नाम र झण्डा फहराउने क्षेत्र भनेको खेलकुद क्षेत्र हो । कतिपय नामै नसुनिएका देशहरुको नाम खेलकुद क्षेत्रले नै चिनाउने गरेको छ । यसको ज्वलन्त उदाहरण भनेको अर्जेन्टीनालाई लिन सकिन्छ । फुटबलकै कारण विश्वको कुनै पनि मुलुकका मानिसले अर्जेन्टिनाको नाम नसुनेको बिरलै होला ।
यस्तो क्षेत्रलाई पनि नेपालको नेतृृत्व गरी देश हाक्नेहरुले महत्व नदिएको झण्डै तीन दशक खेलकुद क्षेत्रमै लागेका ललितपुर धापाखेलका अचुत खड्का बताउँछन् ।
तिन दशकदेखि तेक्वान्दो खेलमा लागेका अचुत खड्का भन्छन् ‘खेलकुद विकासका लागि स्थापित राष्ट्रिय खेलकुद परिषद्मा विभिन्न राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्र हुन्छ, तबसम्म नेपालमा खेलकुद विकास र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले उत्कृष्ठ खेल प्रस्तुत गर्न नसक्ने बताउँछन् ।’
नेपालमा खेलकुद विकासको लागि भनेर स्थापना गरेको राष्ट्रिय खेलकुद परिषद् राजनीतिक कार्यकर्ताको भर्ती केन्द्रका रुपमा परिचित बन्दै गएको छ । राखेपमा राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रदेखि लिएर ती कार्यकर्ता खेलाडीको नाममा बैदेशिक भ्रमण गराउने थलोको रुपमा पनि विकसित बन्दै गइरहेको छ । सोही कारण पछिल्लो समय नेपालको खेलकुद क्षेत्रले उल्लेख्य विकास गर्न सकिरहेको छैन ।
खेलकुद क्षेत्रमा लागेर आफ्नै जीवन समर्पण गरेका खेलाडी तथा प्रशिक्षकका लागि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले वेवास्ता गरी आफ्ना आसेपासे र विभिन्न राजनीतिक दलका कार्यकर्तालाई काखी च्याप्ने प्रवृत्तिका कारण खेलकुद क्षेत्रमै लागेर आफ्नो भविष्य सुनिश्चित गर्ने सोचका साथ लागेका खेलाडीहरुको मनोबल गिर्दो अवस्थामा छ भने कतिपय राम्रो खेलाडीहरु विदेश पलायनसमेत भइसकेका छन् ।
नेपालका अधिकांश खेलाडीहरु आफ्नो सोखका कारण मात्र खेलाडी बनेका छन् । केही मात्र खेलाडीहरु खेलकुद क्षेत्रमा लागि आफ्नो देशलाई विश्वसामु चिनाउने उद्देश्यका साथ लागेका छन् । तर, त्यस्ता खेलाडीलाई राज्यले गनुपर्ने जतिपनि दायित्वहरु छन् ती दायित्व पूरा गर्न राज्यले खासै चासो देखाएको छैन । देशकै लागि खेल्ने खेलाडीका लागि राज्यले दिने गरेको जति पनि सेवा सुविधाहरु छन् त्यो खेलाडीहरुका लागि प्रयाप्त छैन, झारो टार्ने हिसावले मात्र दिने गरेको खड्का बताउँछन् । राज्यले खेलाडीलाई गरेको आर्थिक र अन्य सेवा सुविधाहरु वास्तवमै भन्ने हो भने खेलाडी आफूले दैनिक जीवन यापन गर्नसमेत अपुग हुनेछ भने ती खेलाडीले आफ्ना छोरा—छोरी र परिवारलाई दैनिक जीवन यापनका लागि कसरी पु¥याइरहेका होलान् खड्का बताउँछन् ? राज्य संचालकहरुले राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीलाई खासै महत्व दिइरहेका छैनन् । जबसम्म खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, राजनीतिक नियुक्ति हुन्छ तबसम्म नेपालको खेलकुद क्षेत्रमा लाग्ने खेलाडीको भविष्य नभएको खड्का बताउँछन् ।
धापाखेल निवासी खड्काले दुई वर्ष अगाडि ललितपुर महानगरपालिका विशालचोक—१४ वडामा कोरियन मार्सलआर्ट एकेडमी खोलेका छन् । खेल क्षेत्रमै तिन दशकदेखि निरन्तर लागेका खड्का भन्छन् ‘नेपालमा खेल क्षेत्रमा लाग्नेहरु प्रोफेसनल हिसावले भन्दा पनि स्वस्थ रहन र आत्म रक्षाको लागि खेल्ने गर्छन्, किनकी खेल क्षेत्रमा लाग्दा आफ्नो भविष्य सुनिश्चित हुने अवस्था छैन ।’
आफू खेलकुद क्षेत्रमा लाग्ने प्रेरणा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष तथा नेपाल करातेका हस्तीका रुपमा परिचित मीन कृष्ण महर्जनले दिएको बताउँछन् । खेलकुद क्षेत्रमै लाग्ने क्रममा एक वर्ष अगाडि ब्राजिलमा गएर हाप्की दो र जिजुत्सुको सफलताका साथ प्रशिक्षण लिई आफूले पनि ब्राजिलमा गएर लिएको प्रशिक्षणको ज्ञान अहिले आफ्नो प्रशिक्षार्थीहरुलाई दिँदै आइरहेको बताउँछन् । हाप्की दो र जिजुत्सु खेल लक सिस्टमको खेल हो ।
एक वर्ष अगाडि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको यङमुदो सेल्फ डिफेन्स खेल भित्र्याउने पहिलो व्यक्ति अच्युतम् लामिछाने हुनुहुन्छ । उहाँ यो गेमको महासचिव हुनुहुन्छ भने म प्रशिक्षकको रुपमा कार्य गरिरहेको छु ।