काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शनमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री ओलीको कदमविरूद्ध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।
गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर वैशाखमा चुनाव तय गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग र वैशाखमा चुनावको मिति तय गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्थाअनुसार प्रतिनिधि सभा भंग गरेको भन्दै कांग्रेसले उक्त कदम असंवैधानिक भएको बताइरहेको छ । प्रधानमन्त्रीको कदमविरूद्ध सर्वोच्च अदालतमा पनि रिट परेका छन् ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरे पनि कांग्रेसभित्र अहिले नै आन्दोलनमा जाने कि सर्वोच्चको आदेशपछि भन्नेमा मतभेद थियो । केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल पक्षले आन्दोलनमा गइहाल्न भनेका थिए भने सभापति देउवा पक्षका केन्द्रीय सदस्यले चुनाव हुन सक्ने भन्दै तयारी गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
पुस १९ गतेसम्म केन्द्रीय समिति बैठक स्थगित गरेर कांग्रेसले सोमबार सडक प्रदर्शन गर्न लागेको हो । उक्त प्रदर्शन गर्न सभापति देउवा र पौडेल एकै ठाउँमा उभिएका छन् ।
शनिबार बेग्लाबेग्लै अपिल जारी गर्दै देउवा र पौडेलले प्रदर्शनमा सक्रियतासाथ उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘प्रदर्शनमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको देउवाले उल्लेख गरेका छन् । ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरूद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाको भनाइ छ । उनले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।
‘असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ देउवाले भनेका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीमा संविधानवाद र लोकतन्त्रउपर विश्वास रहेको नदेखिएको बताएका छन् ।
संविधानका मर्म र भावनाविपरीत हुने गरी प्रधानमन्त्री ओलीले कदम चालेकोले विरोधमा उत्रनु परेको उनले बताएका छन् । ‘कामचलाउ प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उलंघन गर्नुभयो। अब हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने विश्वास छैन,’ पौडेलले भने ।
प्रधानमन्त्रीको कदम सच्याउन देशैभर कांग्रेसले प्रदर्शन राखेको पौडेलको भनाइ छ । ‘कांग्रेसले यो कदम सच्चियोस् भनेर दैशैभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सबै साथीहरूलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु,’ पौडेलले भनेका छन् ।