काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) बाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द भएका छन् ।
महाशाखामा रहेका दुईजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द भएका हुन् ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३७५ जना नै क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १५ सय ४५ ट्राफिक प्रहरी कार्यरत छन् ।
करिब चार सय प्रहरी क्वारेन्टिनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कर्टिङमा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ ।