काठमाडौं, ५ असार । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिए ।
उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार ८ गतेको बैठकमा हुने गरी निर्धारण गरेको ब्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य सङ्ख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको ब्यहोरा जानकारी गराउँछु । नियम अनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरूले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ । र समूह १ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउँछु ।’
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै(मङ्गलवार) दिनको पाँच बजेसम्म प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेका छन् ।