एसपी विकले संगठनको साख जोगाउने काम गरेका छन् ः उद्योगी व्यवसायी

19.3k Shares

रुपन्देही । रुपन्देही जिल्लाको कमाण्ड सम्हालेका एसपी भरत बहादुर विकले नाकामा हुने चोरी पैठारी रोक्न शुन्य सहनशीलता अप्नाएका छन् ।
एसपी विकले गरेको कार्यको रुपन्देहीका उद्योगी व्यवसायीहरुले खुलेरै प्रसंशा समेत गरेको पाइएको छ । खुला सिमानाबाट हुने तस्करीलाई ग्राउण्ड जिरोमा झार्नुका साथै जिल्लाको शान्ति सुरक्षाका लागि अहोरात्र खटिएका एसपी भरत बहादुर विकले नेपाल प्रहरी संगठनको साख जोगाउने काम गरेको व्यवसायीहरुले बताउने गरेका छन् । पछिल्लो समय भैरहवा भन्सार कार्यालयले गरेको कडाईमा विभिन्न क्षेत्रका अधिकारी र संघसंस्थाहरुले एक्यवद्धता जनाउंंदै यसलाई निरन्तरता दिनुपर्ने बताउँदै आइरहेका छन् । भन्सारमा सर्वसाधारणलाई लाईनमा राख्ने कार्य अव्यवहारिक भएको भन्ने जनगुनासा आएसँगै यस विषयमा रायसुझाव लिने उद्देश्यले राजश्व चुवावट नियन्त्रण समितिले सबै क्षेत्रका अधिकारीहरुलाई समेटेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
भन्सारमा राजश्वमा गरिएको कडाईलाई लिएर भारतीय बजारमा गलत प्रचार गर्ने, नेपाली उपभोक्तालाई भारतीय बजारमा रोकलगायत जस्ता भ्रमपुर्ण हल्लाहरु चल्न थालेपछि यसलाई स्पष्ट पार्न जरुरी रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई लक्षित गर्दै भने “हामीले उपभोक्तालाई रोकेका हाईनौं कानुन सम्वत भन्सार शुल्क बुझाउनुस् मात्र भनेका हौं ।”
बैठकमा सिमा जोडिएका पालिकाका प्रमुखहरुले सिमानाकामा हुनसक्ने अवैध चोरी पैठारी रोक्न स्थानीय सरकार प्रतिवद्ध रहेको पनि जानकारी गराएका थिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले सरकारको मुख्य आम्दानी रहेको राजश्व चुवावट नियन्त्रणमा सबै लाग्नुपर्ने बताए । राजश्व कम हुँदा देश आर्थिक संकटमा जाने भएकोले प्रत्येक व्यतिm राष्ट्रप्रति वफादार बन्नुपर्ने र सिद्धार्थनगर यसमा साथ रहने प्रमुख खानको भनाई थियो । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले नेपाल सरकारले किसानलाई समयमा मलखाद उपलब्ध गराउन नसक्दा किसानप्रति निर्मम बन्न नसकिएको बताए । रोहिणी गाउँपालिकाको भगवानपुरमा भन्सार सुविधा नहुँदा तस्करी रोक्न समस्या भएको उनले बताए । भगवानपुरमा छोटी भन्सार स्थापना गर्न भैरहवा भन्सार कार्यालयलाई अनुरोध गरे । यस्तै सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले सम्मरीमाई गाउँपालिका भारतसँग सिमा जोडिएको पालिका भएका कारण व्यवहारिक रुपमा चोरी पैठारी रोक्न कठिनाई भएपनि त्यसप्रति पालिका कटिवद्ध रहेको बताए ।
किसानहरुले थोरै मात्रामा मलखाद ल्याए पनि ठुला तस्करीहरु नभएको जिकिर गरे । यस्तै नीजि क्षेत्रका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुले चोरी तस्करी रोक्न रुपन्देही प्रहरी प्रमुखहरुले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताए । भन्सारमा एक सय रुपैंयाँ भन्दा बढीको प्रज्ञापन भर्न लगाउने र चोरी तस्करी नियन्त्रणमा प्रहरीको सक्रियताले नेपाली व्यवसायीहरुमा उत्साह जागेको प्रतिक्रिया दिए । उद्योग वणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, बुटवल तथा भैरहवाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
सो कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले सामान खरीद गर्दा अनिवार्य उपभोक्तालाई विल उपलब्ध गराउनु पर्ने, भन्सारमा यात्रुहरुको सुविधाका लागि अनलाईन भुक्तानीको व्यवस्था गर्नुपर्ने, नेपाली बजारमा भएको अस्वभाविक मुल्यबृद्धिका सम्बन्धमा प्रभावकारी अनुगमन गर्नुपर्नेलगायतका सुझाव राखेकी थिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बहादुर विक, सशस्त्र प्रहरी उपरिक्षक दिपक थापा, भैरहवा भन्सार एजेण्ट संघका अध्यक्ष मधु पन्थी, सामाजिक अभियान्ता प्रख्यात बन्जाडेलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले तथ्यमा रहेर चोरी तस्करीका समाचार संप्रेशण गर्न संचारकर्मीहरुलाई समेत सुझाव दिए । कतै अधैव सामान आयात भएको सुचना पाए सम्बन्धित निकायलाई खबर गर्न उनले अनुरोध गरेका थिए । 

सम्बन्धित समाचार