काठमाडौं । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याचीलाई अहिले डीआईजी बन्न मुस्किल देखिएको छ ।
प्रहरी वढुवामा हुने शक्तिकेन्द्रको दबाब र प्रभावका कारण आईजीपीकै ब्याची रहेका एसएसपीहरूलाई समेत डीआईजी बन्न मुस्किल देखिएको हो ।
तर यस्तो बेलामा जुनियर ब्याचका विश्वराज पोखरेललाई एआईजी बनाइएपछि प्रहरीभित्रै व्यापक असन्तुष्टि बढेको छ । उनले दज्र्यानी चिन्ह भने लगाउन बाँकी छ । ईश्वर पोखरेलको दबाबमा पोखरेल नयाँ दरबन्दी सिर्जना गर्दै एआईजी बन्न सफल भएका हुन् ।
जुन प्रस्तावका बारेमा गृह मन्त्री र प्रहरी महानिरीक्षक पनि जानकार थिएनन् ।
वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल सकिन अझै डेढवर्ष बाँकी छँदै एआईजी बन्न लागेका पोखरेल त्यसपछि निर्विकल्प आईजीपी हुनेछन् । जुनियर ब्याची आईजीपी बन्ने निश्चित हुँदा पनि आईजीपी क्षेत्रीकै ब्याची भने डीआईजी बढुवामा पनि छुट्नसक्ने सम्भावना छ ।
पोखरेलको बढुवालाई लिएर प्रहरीभित्र व्यापक असन्तृष्टि छ । उनलाई एकल बढुवा गरेर आफूहरूलाई अन्याय गरेको पोखरेलकै ब्याची डीआईजीहरूको गुनासो छ ।
नेपाल प्रहरीमा नौजना डीआईजीका लागि दुई ब्याचका गरी दुई दर्जन एसएसपीको दौडधुप सुरु भएको छ । ३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो ।
सोही निर्णयपछि एआईजीमा पोखरेलको नाम सिफारिस भएको छ भने डीआईजीको टुङ्गो लगाउन आन्तरिक गृहकार्य सुरु भएको गृह मन्त्रालय स्रोत बताउँछ ।
डीआईजीका लागि हालका प्रहरी प्रमुख आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची एसएसपी गणेश ऐर, पुरुषोत्तम कँडेल, सौरभ राणा, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्जित र राजेशलाल कर्ण प्रतिस्पर्धामा छन् । स्रोतका अनुसार आईजीपीकै ब्याची भए पनि सबैजना डीआईजी हुने सम्भावना कम छ । प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले चाहेका व्यक्ति मात्रै बढुवा हुने हुँदा प्रतिष्पर्धामा रहेका सबै हुन नसक्ने ती अधिकारीको भनाइ थियो ।
उनीहरू सबै आईजीपी शैलेश थापासँगै अवकाशमा जानेछन् । यस्तै त्यसपछिको ब्याचका नलप्रसाद उपाध्याय, दिवेश लोहनी, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मोहमद आलम खाँ, देवबहादुर बोगटी पनि बढुवाको लाइनमा छन् ।
आईजीकै ब्याची प्रद्युम्न कार्की, नीरजबहादुर शाही डीआईजीबाट एआईजीमा बढुवा र अर्का डीआईजी सूर्य उपाध्यायले अनिवार्य अवकाश पाएपछि तीन डीआईजीको पद रिक्त थियो । डीआईजी बढुवामा सत्तारुढ दल र प्रधानमन्त्रीले नै चाहेका व्यक्ति पहिलो रोजाइमा पर्नसक्ने सम्भावना बढी रहन्छ । त्यसैले डीआईजीका दाबेदार मानिएका अधिकांश एसएसपीहरू शक्तिकेन्द्र धाउनुपर्ने बाध्यता रहेको एक प्रहरी अधिकृत बताउँछन् ।