धनुषामा प्रहरीको सेटिङमै जुवा अखडा संचालन

16.6k Shares

जनकपुरधाम । धनुषामा अवैध रूपमा क्यासिनो अर्थात जूवा अखडा नै संचालन भएको छ । स्थानीय मात्रै नभएर उक्त जूवा अखडामा जूवा खेल्नका लागि सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साबाट मात्रै होइन हेटौंडाबाट र भारतीय नागरिक समेत आउने गरेको तथ्य उजागर भएको छ । जुवाडेहरू मात्रै होइन स्थानीयले समेत यस अखडालाई मिनी क्यासिनोको नाम दिएका छन् । 
क्यासिनो अर्थात् जुवा अखडा संचालन गर्ने प्रमुख व्यक्तिहरूमा किशोरी साह र दामोदर भुजेल प्रमुख छन् । उनीहरूले जानकी मन्दिर नजिक किशोरीनगरमा जुवा खेलाउंदै आएका छन् । धेरै जसो त दामोदर भुजेलको घरमा नै जुवा अखडा चल्दै आएको स्थानीयहरू बताउँछन् । यो जुवा अखडामा दैनिक करोडसम्मको कारोवार हुने गरेको पनि जुवा खेल्नेहरू नै बताउँछन् । जुवा खेलाउन सहयोग गरेवापत र छापा नहानिदिएको कारण उनीहरूले प्रहरीलाई ठूलो रकम दिने गरेको समेत सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा रकम उठाउने काम उजुरी छानबिनका सई राजेश सिंहले गरेको समेत सार्वजनिक भएको छ भने अधिकार बिनाको संघिय इकाई प्रहरी कार्यालयलाई समेत जुवा संचालकहरूले मोटो रकम दिदै आएको खुलेको छ । संघिय प्रहरीको प्रमुख एसएसपी ध्रुव राउतको नाममा सोही कार्यालयका निरीक्षक लंक बहादुर श्रेष्ठले रकम लिने गरेको पनि खुलेको छ । यी दुबै प्रहरीहरू गत सोमबार बहालवाला एक सईको बजारस्थित घरमा गएर जुवा संचालकहरूबाट रकम लिएको समेत खुलेको छ । त्यसैगरी धनुषाका चर्चित तस्कर राजिव महासेठलाई पनि तिनै सईको घरमा भेटेर उनीहरूले रकम लिएको समेत खुलेको छ । त्यसैगरी बेचन शर्मा नाम गरेका क्रसर व्यवसायीसँग पनि त्याहांबाट सरूवा भएर गएका एक सई मार्फत् भेटघाट गरेर रकम लिएको खुलेको छ । सई राकेश सिंह तिनै व्यक्ति हुन जो सर्लाहीको त्रिभुवननगर इप्रकामा हँुदां तस्करसँग घुषको रकम लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए । महोत्तरी घर भएका सई सिंहले रामानन्द चोक भित्र आंँखा अस्पताल नजिकै सुबिधा सम्पन्न महल बनाएका छन् । यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बिश्व राज खड्कासंँग जिज्ञासा राख्दा उनले छानबिन गर्ने बताए । स्मरण रहोस्, संघिय इकाई प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय मातहत रहने व्यवस्था छ । प्रदेश प्रहरी प्रमुखले चाहेर पनि त्याहांँ कार्यरत प्रहरीलाई कुनै कारवाही गर्न सक्दैनन् ।

सम्बन्धित समाचार