न्याम्सको विकास र विस्तारका लागि डा. भुपेन्द्रको योजना

19.7k Shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानको विकास र विस्तारका सात बुँदे योजना सार्वजनिक गरेका छन् । डा. बस्नेतले प्रतिष्ठानको निमित्त उपकुलपति रहे पनि न्याम्सको विकासका लागि काम सुरु गर्ने र भविष्यमा आउने उपकुलपतिले पनि यी विषयमा जोड दिँदा उत्तम हुने भएकाले सात बुँदे योजना तयार पारेको कुराकानीको क्रममा बताउनुभएको छ ।

’अहिले त म निमित्त उपकुलपति मात्र हुँ । तर वीर अस्पतालमा लामो समय काम गरेको अनुभव र विज्ञहरुसँगको छलफलका आधारमा सात बुँदे सुधारको योजना बनाएको हुँ,’ उहाँले भन्नुभयो, ’यी विषयमा भोलिका दिनमा आउने उपकुलपतिले पनि काम गर्न सक्नुहुनेछ । भोलि आउने उपकुलपतिलाई पनि सहज होस् भनेर सात बुँदे योजना तयार पारेर काम अगाडि बढाउन खोजेको हुँ ।’

डा बस्नेतले न्याम्स विकास र विस्तारका विषयमा सञ्चारकर्मीसँग छलफल गरी न्याम्सको शैक्षिक, भौतिक, अनुसन्धानसहित वीर अस्पतालको सेवा सुधारका विषयमा तयार पारेको सात बुँदे योजना सुनाउनुभएको थियो ।

डा. बस्नेतले न्याम्सको नाममा भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा शैक्षिक कार्यक्रमदेखि अस्पताल सञ्चालनको काम, देशका सबै संघीय अस्पतालमा पोष्ट ग्राजुयट कार्यक्रम चलाउने, न्याम्सका विभागलाई अन्तराष्ट्रिय विश्वविद्यालयसँग जोड्नका लागि अन्तराष्ट्रिय युनिट बनाउने, कर्मचारीको समस्या समाधान, वीर अस्पतालको सेवा विस्तार, अनुसन्धान लगायतका योजना बुँदागत रुपमा सुनाउनुभएको थियो ।

डा. बस्नेतले सार्वजनिक गर्नुभएको सात बुँदे योजनाहरु यस्ता छन् ः

१. न्याम्सको नाममा रहेको ५७० रोपनी जग्गामा न्याम्सको केन्द्रीय १ हजार बेडको अस्पताल, शैक्षिक भवनहरू तथा आवास क्षेत्र बनाउने गुरुयोजना छ । जुन गुरुयोजना धेरै अगाडि बनेको थियो तर त्यो अनुसार काम हुन सकेको छैन । उक्त गुरुयोजना अनुसार न्याम्सको दुवाकोटमा अस्पताल, शैक्षिक भवन तथा आवास भवन बनाउने कामलाई अगाडि बढाउने काम पहिलो प्राथमिकतामा राख्नुभएको छ ।

२. न्याम्सको शैक्षिक कार्यक्रम (एमडी, एमएस) अहिले कान्ति अस्पताल, प्रसूति गृह, सिभिल अस्पताल, गङ्गालाल र मानसिक अस्पताल लगनखेलमा चलिरहेका छन् । उक्त शैक्षिक कार्यक्रमलाई उपत्यकाभन्दा बाहिर नेपाल सरकारका सबै सङ्घीय अस्पतालहरूमा जस्तैः कोशी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालहरूमा लैजाने ।

एमबिबिएस अध्ययनपछि पिजी अध्यनका लागि संख्यात्मक हिसाबले धेरै ग्याप छ । नेपालमा हरेक वर्ष तीन हजार विद्यार्थीले एमबिबिएस पास गर्छन् तर जम्मा ७ या ८ सयले मात्रै पिजी पढ्न पाउँछन् । सङ्घीय अस्पतालमा शैक्षिक कार्यक्रम लैजाने हो भने पिजी गर्ने विधार्थीहरुको संख्या बढ्छ । त्यो हुने हो भने चिकित्सकहरूलाई पनि पिजी गर्ने अवसर बढ्छ । पिजी कार्यक्रम सञ्चालन भएपछि त्यहाँ पढ्ने पढाउने, नयाँ–नयाँ अध्ययनहरू गर्ने हुँदा त्यहाँ बिरामीले पाउने सेवाको स्तर पनि बढ्छ । त्यसले विभिन्न अस्पतालहरूसँग चिकित्सकहरूको कनेक्सन राम्रो हुन्छ । जसकारण रेफरल सिस्टम पनि बलियो हुन्छ । त्यसैले संघीय अस्पतालमा शैक्षिक कार्यक्रम लैजानु एकदमै जरुरी छ र यसलाई हामी अगाडि बढाउने छौँ ।

३. न्याम्सको अहिले भइरहेको संरचनामा हामी इन्टरनेशनल अफेअर सेक्सन (अन्तर्राष्ट्रिय मामिला विभाग) भनेर एउटा शाखा थप्छौँ । त्यसपछि हामी न्याम्सको विभागहरूलाई बाहिरका ठूला ठूला प्रख्यात विश्वविद्यालयसँग एमओयु गरेर फ्याकल्टी एक्सचेन्ज प्रोग्राम र रेजिडेन्ट एक्सचेन्ज प्रोग्राम गर्छौँ । जसकारण शिक्षाको गुणस्तर सुधार हुन्छ । साथै, यहाँ फ्याकल्टीले बाहिरका ठूला विश्वविद्यालय गएर हेर्न पाउँछन् र त्यहाँका विद्यार्थीहरू यहाँ आउन पाउँछन् । त्यसको लागि पनि हामी काम गर्छौँ ।

४. वीर अस्पतालकै आन्तरिक सुधार धेरै जरुरी छ । जस्तैः ओपिडी कै लाइन धेरै हुन्छ । त्यसलाई व्यवस्थित गर्नु जरुरी छ । अप्रेसन थिएटरको पालो घटाउनु छ, आइसियुमा बेड नपाउने समस्या मिलाउनु छ, आकस्मिक कक्षमा बेड कम छ त्यसलाई पनि बढाउनु पर्ने छ । यो त हामीले सुरु समेत गरिसकेको काम हो । साथै फार्मेसीको क्षमता बढाउनु छ । यी सबै कुरा गरेर बिरामीलाई सुविधा दिने काम गर्नुका साथै हालै बीर अस्पतालको नयाँ भवनमा सफासुग्घरदेखि लिएर उपचारका लागि आउने विरामीहरुको सेवा सुविधाको लागि हामीले कुनै प्राइभेट अस्पतालको भन्दा कम नगरी सेवा दिन सफल बन्दै आइरहेका छौं । गरिब, निमुका विरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचारहरु गराइरहेका छौं ।

५. वीर अस्पताल भित्रका कर्मचारीहरूको पनि समस्या छ । केही नेपाल सरकारका कर्मचारीहरू छन् त केही चाहिँ न्याम्सका कर्मचारी छन् । उहाँहरुको वृत्तिविकासमा केही फरक छ । त्यसलाई हामी एकरूपता ल्याएर सबैको वृत्तिविकास हुने अवस्था सिर्जना गर्नेछौँ ।

६. न्याम्सको स्थापना नै नेपाल सरकारका डाक्टरहरूलाई तालिम गराउने हिसाबले भएको हो । त्यसकारण नेपाल सरकारको नीति तथा कार्यक्रम, स्वास्थ्य मन्त्रालयको नेतृत्वको भावना अनुसार हामी विशिष्टीकृत जनशक्ति उत्पादन र नयाँ शैक्षिक कार्यक्रमहरू ल्याउँछौँ ।

७. अहिले थुप्रो विश्वविद्यालय र एकेडेमीहरू छन् । जसको लागि एउटा छाता ऐन पनि आउने कुरा छ । त्यो ऐन आयो भने न्याम्स त्यसको एपेक्स बडी बनोस् भन्ने हिसाबले अगाडि लाविङ गरेर समेत काम गर्छौं ।

सम्बन्धित समाचार