देशमा धर्मयुद्धको खतरा

16.9k Shares

काठमाडौं । धर्मनीरपेक्ष संविधानमा राख्न लगाएर अमेरिकालगायत पश्चिमा देशले ठूलै उभद्रो मच्चाइरहेको छरपष्ट भएको छ । विभिन्न सामाजिक संस्थाका नाममा धर्म परिवर्तन गराउन अमेरिका र यूरोपेली यूनीयनले पैसाको खोला बगाइरहेको खुल्दै गयो । नेपाली समाजको संरचना नै भत्काउने योजनामा ठूलै रकमको चलखेल भएपछि नाम चलेका नागरिक समाजका अगुवा, बुद्धिजीवीदेखि राजनीतिक दलका नेता समेत धर्मनीरपेक्ष जप्न थाले । जब यो तथ्य उजागर भयो तब उनीहरुको बचाऊ गर्न अमेरिका आफै उत्रियो । नेपालमा धार्मिक स्वतन्त्रतामाथि प्रहार भइरहेको रिपोर्ट सार्वजनिक ग¥यो । यतिसम्मकी ९० प्रतिशत भन्दा बढी सनातन हिन्दू धर्म मान्ने रहेको देशमा हिन्दूत्वका लागि भारतबाट पैसा आइरहेको आरोप लगायो । जब कि नेपाली हिन्दूहरु भारतको तीर्थयात्रामा गएर वर्षेनी अरबौं खर्च गर्छन् । त्यहाँका धार्मिक गुरु र मन्दिरहरुमा भेटी चढाउँछन् । अमेरिकाको यो आरोपले नेपाली हिन्दू समाज सतर्क भएको छ ।

इशाई धर्मका लागि अहिले ठूलै रकम ओइरिएको छ । उनीहरु धार्मिक विद्यालय खोल्न खोजिरहेका छन् । धर्म परिवर्तनका गतिविधि चलाइरहेका छन् । सरकारी निकायबाट अवरोध भएपछि बाह्य दबाब बढ्न थालेको छ यतिबेला । पुस्तकमै इशाई धर्मको प्रचार गर्न खोजियो । यसको विरोध संसदमै भयो । त्यसप्रति पनि अमेरिकी रिपोर्ट नकारात्मक छ । समाजको सबै एकाईमा योजनावद्ध तरिकाले पश्चिमाहरुले हिन्दू धर्ममाथि प्रहार बढाएपछि सतर्क भएको छ हिन्दू समाज । उनीहरु एकजुट पनि हुन थालेका छन् । यसलाई लिएर धर्मनीरपेक्षताका पक्षधर आत्तिएका छन् । देशमा यस्तै अराजकता रहे धार्मिक युद्ध निम्तनसक्ने खतरा पनि देखिन थालेको छ ।

पश्चिमाहरुले सुडानमा धार्मिक हिंसा फैलाउन भूमिका खेलेको इतिहास साक्षी छ । उनीहरु आफ्नो देशमा इशाई धर्मको रक्षा गर्ने र अन्यत्र फरक धर्ममाथि योजनावद्ध तरिकाले प्रहार गर्ने गर्दै आए । यतिसम्मकी अफगानिस्तानमा हिन्दू निमिट्यान्न पार्न तालिवान लाग्दा केही कदम चालेनन् जब कि त्यतिबेला अफगानिस्तानमा अमेरिकी सेना नै थियो । नेपालमा इशाईको जनसंख्या झण्डै ५ प्रतिशत पुगेको रिपोर्ट अमेरिकाले सार्वजनिक गरेको छ । यसले धेरैलाई झस्काएको छ । धर्मान्तरणबाट यो संख्या बनेको छ । यसरी नै संख्या बढाउने र उनीहरुलाई एकजुट बनाएर यहाँको सनातन धर्ममाथि प्रहार गर्दै हिंसा मच्चाउने योजनाहरु बुनिएका छन् ।

नेपालमा यसै पनि भारतविरोधी राष्ट्रवाद हावी छ । हिन्दू धर्मको विषयमा पनि भारतको सत्तारुढ भारतीय जनता पार्टीले नेपालमा पैसा खन्याएको आरोप लगाएर ध्यान मोड्न खोजिएको छ । भारतलाई देखाएर नेपालमा हिन्दूत्वको मुद्दा कमजोर पार्ने र इशाईको गतिविधि बढाइरहने अमेरिकी योजना देखिएकै छ । यो अवस्था कायमै रहेमा देशमा ठूलै दुर्घटना हुनसक्छ । जनता धर्मनिरपेक्षका पक्षधरप्रति आजित छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको अभियान बढेको छ । नेताहरु बदनाम भएका छन् । यसले हिन्दुराष्ट्रको मुद्दा मजबुत हुँदै गएको देखिन्छ । यहीं मौकामा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता पनि बढेको छ । उनी नागरिकसँग जोडिन लागिपरेका छन् । यता संसदमा भ्रष्टाचार काण्डले नेताहरुको हिलो छ्यापाछ्याप छ । यस्तै परिस्थिति रहे कुनैपनि बेला राजनीतिक उथलपुथल नै हुने सम्भावना बढेर गएको छ ।

अहिले मुख्य राजनीतिक दलहरुभित्रै हिन्दूराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । यो मुद्दा नबोके आफ्नै अस्तित्व खतरामा पर्ने देखे नेताहरुले । हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्ष संविधानमा लेख्न मुख्य भूमिका खेलेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा समेत यो मुद्दाले प्रवेश पाएको छ । यो घटना अर्थपूर्ण छ । एमालेमा हिन्दूराष्ट्रको पक्षमा केही नेताहरु खुल्न थालेका छन् । महेश बस्नेतले यो मुद्दा उठाइसकेका छन् नेपाली काँग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा प्रभावशाली नेताहरु नै खुलेका छन् । काँग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, शंकर भण्डारीलगायतका नेता पनि हिन्दूराष्ट्रका पक्षधर हुन् । काँग्रेस केन्द्रीय सदस्य एवं नेपालका परराष्ट्रमन्त्री एन पी साउद पनि हिन्दूराष्ट्रको मुद्दा उठाउने मध्येका हुन् । काँग्रेसभित्र ठूलो संख्यामा नेता कार्यकर्ता हिन्दूराष्ट्रको पक्षधर हुन् । यो मुद्दा अब मजबुत बन्दै गएको छ । राप्रपाको आफ्नै शक्ति छ हिन्दूराष्ट्रको पक्षमा छ । तर, यो मुद्दाका शक्ति संगठित हुन नसक्दा बाह्य शक्तिले नेपालको सनातन धर्ममाथि व्यापक चलखेल गरिरहेको छ । उनीहरु फुटाउने प्रपञ्चमा लागेका छन् ।

सम्बन्धित समाचार