काठमाडौं । ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया धरौटीमा छुटेका छन् । एनसीबीले गाँजा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।
उनीहरुसँग भएको सोधपुछमा उनीहरुले गाँजा लिएको स्विकारेका थिए । उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो ।
शनिबार पक्राउ परेका उनीहरुलाई हिजो अदालतले न्यायिक हिरासतमा पठाएको थियो । आज जमानतको निवेदनमाथि सुनुवाइपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको हो । उनीहरुले मुम्बइको किला कोर्टमा जमानतको लागि निवेदन दिएका थिए ।
शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारती र हर्षका ३ घरमा छापा मारेको थियो । यस क्रममा उनीहरुको घरमा गाँजा बरामद भएपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो । सुशान्त सिंह राजपुतको मृत्युपछि खुलेको बलिउडको ड्रग्सको जालोमा अहिलेसम्म दर्जनभन्दा बढी बलिउड सुपरस्टारहरु मुछिइसकेका छन् ।