काठमाडौं, ३ जेठ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको छ । शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएका छन् । मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।
सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो ।
पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ । ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको बयान बाँकी छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शेर्पाको बयान बुधवार गराउने प्रहरीको तयारी छ ।