काठमाडौं, मंसिर ३ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।
दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताइन्।
अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अट्नुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । आफुले एकपटक फेरि दुवै उम्मेदवारलाई एक ठाउँमा राखेर कुरा गर्ने समेत बताइन् ।
उनले भनिन्, ‘अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’
महासंघको हितको लागि भएपनि दुवैजनाले त्याग गर्न सक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताइन् ।
उनले भनिन्, ‘दुवै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरि एकचोटी अन्तिम प्रयास रहनेछ ।’
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। निर्वाचनका लागि किसोर प्रधान र चन्द्रप्रासद ढकालले आ–आफ्नो प्यानल सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पटक पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।