एमाले सचिव टोपबहादुर रायमाझीको सांसद् पद निलम्बन हुने

15.6k Shares

काठमाडौं,१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरीका पठाउन सहयोग गरेको आरोपमा पक्राउ परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था छ । बैठक नचलेको बेला भने त्यसबारेमा सूचना टाँस गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

उपनियम ३ मा ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’ भन्ने व्यवस्था रहेको छ ।

साथै उपनियम ३ बमोजिम पक्राउ भएको कुनै सदस्यले सफाइ पाएमा वा थुनामुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिनुपर्ने व्यवस्था रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई गराइएको छैन । संसदले उनि पक्राउ परेको सूचना प्रकाशीत गरेपछि मुद्दाको अन्तिम फैसला नभएसम्म रायमाझी निलम्बनमा पर्ने छन् ।

सम्बन्धित समाचार