काठमाडौं, २६ बैशाख । दर्ता नै नगरी अबैध बाटो अप्नाई बालबालिकालाई प्रयोग गर्दै बौद्धस्थित बहुनधारामा भीआईपी स्पा एण्ड हेल्थ क्लव संचालन हुँदै आएको समाचार खोजतलासले पत्ता लगाएको छ ।
दर्ता नै नभएको सो स्पामा कलिला १७ वर्ष मुनिका किशोरीहरुलाई प्रयोग गरी सामाजिक सञ्जाल टिकटक लाइभमा देखाई ग्राहकलाई लोभ्याई भीआईपी स्पामा यौन धन्दा संञ्चालन भइरहेको तथ्य खुल्न आएको हो । यसरी खुल्लम खुल्ला दर्ता नै नगरी कलिला बालबालिकादेखि लिएर किशोरीहरुलाई प्रयोग गर्दै यौनजन्य गतिविधि गराउँदै आएको सो स्पालाई किन कारबाहीको दायरामा ल्याउने निकायले चासो देखाएको छैन ? कतै स्पाका संचालकले कारबाही गर्ने निकायका अधिकारीहरुलाई स्पाको मज्जा दिलाउनुका साथै हप्ते बुझाएरै उनीहरुले कानमा तेल हालेर बसेका त होइनन् भन्ने प्रश्न उठेको छ ।
त्यसबारे बुझ्न हामीले केही समयदेखि भीआईपी स्पामा रिर्पाेटिङ गर्ने क्रममा एकजना स्टाफसँग नाम नबताउने सर्तमा कुराकानी गर्दा उनले भनिन् ‘यो स्पा त कुनै पनि निकायमा दर्ता गरेको प्रमाण पत्र नै छैन ।’
‘हाम्रो साउजी त पावर भएको मान्छे हो नि ? उँहाका मान्छे त महानगरपालिका, नगरपालिकामा छन् रे मलाइ कसैले केही गर्दैन भन्दै हुनु हुन्थ्यो’ ती स्टाफले निर्धक्कसँग भनिरहेकी थिइन् ।
उनले थपिन् ‘त्यसैले दर्ता गर्नु भएको छैन, मेरो नाम भन्नु भयो भने मलाई तपाइले जागीर दिनुपर्छ है उँहा त पावर वाला मान्छे मलाई तुरून्त हटाउनु हुन्छ होला ।’
उनीसँग हामीले अन्य कुरामा पनि चासो राखेपछि उनले भनिन् तपाई पत्रकार होर ? मलाई त शंका लाग्यो है ? अब त सरले थाहा पाएपछि मलाई मार्नु हुन्छ होला ?
तपाई मेरो नाम नलिनु है म त बर्बाद हुने भए उनले भनिन् । हामीले उनलाइ शान्त पार्दै यँहा के–के सेवाहरू छन् नि ? भनेर प्रश्न गरेपछि उनले भनिन् सबै सेवाहरू छन्, तपाइहरूलाई के सेवा चाहिँन्छ भन्नुहोस् पैसा भएपछि सबै सेवा उपल्बध भइहाल्छ नि ।
हामीले के–के हुन्छ नि भनेपछि तपाइले जे चाहानु हुन्छ त्यो सबै पाइहालिन्छ नि ? मात्र पैसाको कुरा त होनि भन्दै खिस हाँसेर उनले फेरि भनिन् तपाइहरूले मलाई बर्बाद बाहेक अरू केही पनि नगर्नु हुने भयो ।
हामी त्यस्तो केही हुँदैन चिन्ता नलिनु भनेपछि ठिकै छ । अब तपाइहरूलाई नभन्ने सबै कुरा भनी सकेकी छु । तर मेरो जागिर गयो भने तपाइहरूले दिनुपर्छ है ? यो मैले अहिले नै भन्दिएकी छु उनले भनिन् ।
हुन्छ यही कारणले तपाइको जागिर गयो भने हामी तपाइलाई जसरी भएपनि जागिर खोजिदिउँला नि हुन र ? उनले हस् भनिन् ।
हामीले त्यति भनिसकेपछि उनि केही प्रफुल भइन् हामीले फेरि सम्वादलाई अगाडि बढायौं यसरी अबैध तरिकामा जोसुकै भए पनि सञ्चालन गर्न पाइदैन नि ? भनेपछि ती स्टाफले भनिन् तपाइहरूले पाइँदैन भनेर हुन्छ ?
हाम्रो सरले संञ्चालन गरिरहनुभएको छ त ? अहिलेसम्म कसैले केही गरेको छैन । के छ मज्जाले पैसा कमाउनु भएकै छ । हामीलाई जागिर दिनु भएकै छ । उहाँ जस्तो नगरपालिकाको पावर भएको मान्छेलाई तपाईहरू प्रमाणपत्र छ कि छैन भनेर सोध्ने काम नगरे हुन्छ उनले भनिन् ।
भीआईपी स्पा एण्ड हेल्थ क्लवको नाममा कसरी अवैध यौन धन्दा संञ्चालन भइरहेको छ, भन्ने कुरा यी स्टापसँगको कुराकानीले हामी सबैलाई स्पष्ट पारिसकेको छ ।
यो बारेमा बुझ्न हामीले पटक—पटक सम्पर्क गर्दा पनि विभिन्न बाहाना बाजी गर्दै संञ्चालक मनि श्रेष्ठले हामीसँग कुरा गर्न समेत मानेका छैनन् ।
हामीले तपाईले सम्बन्धित निकायबाट समेत प्रमाणपत्र लिनुभएको रहेनछ कसरी र कुन आधारमा तपाइले स्पा संञ्चालन गरिरहनु भएको छ भन्दा उनले कुरा गर्न समेत मानेका छैनन् ।
यसरी राज्यलाई नै ठगेर अबैध तरिकाबाट यौन व्यवसाय संञ्चालन गर्नु कानुनको पनि उपहास गर्नु हो । अबैध तरिकाबाट बालबालिको प्रयोग गरी यस्ता क्रियाकलाप गर्नु र गराउनु पनि जाहेज पक्कै होइन ।
हामीले स्पाबारे खबरदारी गर्दै सम्बन्धित निकाएको ध्यानाकर्षण गराउने समेत काम गरिरहेका छौं । करिब २ दर्जनभन्दा बढी बालिकालाई अबैध यौन धन्दामा लगाई मासिक ६० लाख भन्दा माथि अबैध कमाउ धन्दा गर्ने भीआईपी स्पाको नाममा अबैध यौन धन्दा चलाउने मनि श्रेष्ठप्रति सम्बन्धित निकायको आँखा कहिले जाने हो त्यो हेर्न बाँकी छ ।
बौद्ध प्रहरी बृत्त र बौद्ध प्रहरी बीटको नजिकै रहेको सो स्पा सेन्टरमा प्रहरीका हाकिमसहित घुमुवा गई ‘हेप्पी इन्डिङ’ त गर्छन् नै, माशिक नजरानासमेत लिन गरेको ती कर्मचारीले बताइन् ।
स्पाको नाममा हुने यौनजन्य गतिविधिलाई माशिक बुझेकै भरमा प्रहरीहरुले खुल्लमखुल्ला रुपमा यस्तो धन्दा चलाउन दिने हो भने समाजमा विकृति मौलाउँदै जाने स्थानीयले गुनासो पोख्ने गरेका छन् ।
यस्तो छ सर्वोच्चले जारी गरेको निर्देशिका
सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ ।
सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो ।
महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन ।
पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासो दिएको देखिदैन्।प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ ।
यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ ।
मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएको पाइन्छ ।
यस्तो छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई,प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ ।
कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरुः सरोकारवाला निकाय नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ ।
त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार,मसाज,स्पा जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल–उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन् ।
त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४ )मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ। यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ ।
कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ। यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ ।