काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले नियुक्ति हुनासाथ २०७९ चैत १० गते गरेको सम्बोधनमा संगठनभित्रको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताएका थिए ।
आईजीपी कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताएका थिए । उनले भनेका थिए–‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धिकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’
आईजीपी कुँवरले आन्तरिक शुद्धिकरण गर्ने भाषण गरे पनि प्रदेश, जिल्ला र इलाकासम्मका इन्चार्जको ब्यवहार त्यस अनुकूल हु्न नसकेका गुनासाहरु आउने गरेका छन् ।
बिशेष गरी तराईका जिल्लाका एसपीहरुले अतिरिक्त कमाइका लागि घुमुवा राख्ने र उनीहरुमार्फत् तस्करी, लागूऔषध र अवैध ढंगले संचालित क्रसरहरुसँग हप्ता र महिनावारी उठाउने क्रम रोकिन सकेको छैन ।
सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले घुमुवा परिचालन गर्न रोक लगाएपछि धेरै हदसम्म भ्रष्टाचार र तस्करी रोकिन पुगेको छ । तर नेपाल प्रहरीमा भने घुमुवा प्रहरी परिचालन गर्ने क्रम रोक्ने बिषय हरेक आईजीपी नियुक्तिको समयमा सार्वजनिक खपतका लागि बोलिने र पछि सेलाउने गरेको छ । हालका आइजीपी कुँवरले संगठनमा आन्तरिक शुद्धिकरणलाई प्राथमिकता दिने त बताएका छन् । तर बर्षौबर्षदेखि तस्कर र अवैध क्रसरदेखि नदी दोहन गर्नेहरुसँग कनेक्सन भएका घुमुवाहरु हटाउने, दरबन्दीमा फिर्ता गर्ने अभियान ठोस रुपमा लागू गर्न नसके उनको प्रतिबद्धता पनि कागजमै सीमित हुने देखिन्छ । ५ बर्ष, १० बर्षसम्म कार्यरत प्रहरीका त्यस्ता घुमुवाहरुको काम नै हाकिमहरुको लागि असुल्ने हुँदैआएको छ ।
प्रहरीमा घुमुवा राखी अतिरिक्त कमाइ गर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतम पनि मुछिन पुगेका छन् । गौतमले मकवानपुरमा घुमुवा असई नवीनकुमार थापालाई परिचालन गरी अतिरिक्त असुली अभियान संचालन गरेको आरोप छ । लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहँदा छापा हान्ने क्रममा अनियमितता गरेको भेटिएपछि २ पटक कारबाहीमा परेका थापालाई ब्यूरोबाट निकालिएका थिए । ब्यूरोबाट निकालिएपछि थापा मकवानपुरमा एसपीका घुमुवाका रुपमा कार्यरत छन् । उनले क्रसर र लागूऔषधका कारोबारीसँग कनेक्सन मिलाउने गरेको आरोप छ ।
थापा मकवानपुरमा ९ बर्षदेखि घुमुवाका रुपमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालयमा मात्र राखिएको आरोपबाट जोगिन एसपीले कहिलेकाहीँ उनलाई चौकीमा पठाए पनि उनले घुमुवाकै रुपमा काम गर्दैआएका छन् । उनको कनेक्सन मकवानपुरका लागूऔषधका कारोबारी र क्रसर ब्यवसायीसँग रहेको स्रोतले बताएको छ । एसपी गौतमले क्रसर र लागूऔषधका कारोबारीसँग सेटिङ मिलाउनका लागि असई थापा र बीरगंज, बाराबाट हुने तस्करीको संजालबाट उठाउन चितवनका घुमुवा सुरेन्द्रकुमार साहलाई परिचालन गरेको आरोप छ । मकवानपुरमा सरुवा गराउन नसके पनि चितवनका घुमुवा साह एसपी गौतमका समेत घुमुवाका रुपमा काम गर्दैैआएका छन् ।
आफूलाई कडा रुपमा प्रस्तुत गर्दै आएकी बागमती प्रदेशका डीआईजी किरण राणाले हवल्दार साह र असई थापाको तस्करी र रकम असुलीको सिन्डिकेट तोड्न सक्छिन् कि सक्दिनन्, हेर्न बाँकी छ ।
असई थापाका बारेमा गुनासाहरु धेरै आए पनि यसअघि बागमती प्रदेश प्रहरी कार्यालयले उनको संरक्षण गर्दैआएको छ । एसपी वामदेव गौतम डीएसपी जिल्ला प्रहरी कार्यालय मकवानपुरमै कार्यरत रहेको र त्यतिबेला नवीनकुमार थापा घुमुवामै कार्यरत थिए । उनको त्यो अतिरिक्त कमाउने खुबीलाई एसपी गौतमले जिल्लाको कमाण्डर भएपछि गएपछि भरपूर उपयोग गरी लाभ लिइरहेका छन् ।
दर्जाले हवल्दार भए पनि सुरेन्द्रकुमार साह चितवन र मकवानपुर दुवै जिल्लाका प्रहरी प्रमुख मात्र होइन, प्रदेश हुँदै प्रहरी मुख्यालयको उच्चतहसम्मै सेटिङ मिलाउन सक्षम मानिन्छन् । वीरगञ्जबाट बिदुर शिवाकोटी र विनोद सिंहको सेटिङमा छाडिएका सामान बाराका कुनै पनि ठाउँमा समाउन नसक्ने व्यवस्था सई सागर राणाले मिलाउने गरेका छन् । यही सञ्जालका कारण अवैध रूपमा नेपाल भित्र्याइएको मालसमान विनाचेकजाँच सजिलै मुलुकको राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ ।
हवल्दार साह नौ वर्ष मकवानपुरको पशुपतिनगरस्थित रातमाटे चेकपोस्टमा कार्यरत रहेका थिए । जुन नाकामा बस्ने क्रममा उनलाई तस्करीको नेटवर्क, तस्करीमा प्रयोग हुने ट्रान्सपोर्टहरूको नालीबेली थाहा छ । लागूऔषधसमेत भारततर्फ जाने गरेको रातमाटे चेकपोस्टमा कार्यरत रहेका उनले तस्करीको नेटवर्क सञ्चालन गरेको बारेमा धेरै गुनासा आएपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीले उनलाई तानेर १ नम्बर गण टंगालमा कारबाहीस्वरूप १५ दिन राखी गोरखामा सरुवा गरेका थिए ।
गोरखामा सरुवा भएका साह दिवेशकुमार लोहनी गण्डकीको डिआइजी हुँदा च्यानल लगाएर नवलपरासीको इलाका प्रहरी कार्यालय गैडाकोटमा सरुवा मिलाउन सफल भए । पछि सेटिङ मिलाएर दुई वर्षदेखि पुनः जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा मिलाएर आएका छन् ।