काठमाडौं, २६ चैत । ललितपुरको बखुन्डोलमा अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएका छन् ।भासिएको र भत्किएको घरहरुको अनुगमन प्रतिनिधिसभाकी सांसद डा.तोसिमा कार्की पुगेकी थिईन् । पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने र कारबाही गरिने बताउँदै उनले अपार्टमेन्ट बनाउने काम बन्द गराउने बताएकी थिइन् ।
उनले पीडितहरुलाई भेटेर सम्बन्धित ठाउँमा उजुरी गर्न आग्रह गरिन् । पीडितहरुले अपार्टमेन्ट बनाउनुअघि नै वडामा गुनासो राखेको भएपनि वडाले नसुनेको दुखेसो पोखे । अपार्टमेन्ट बनाउन नक्सा पास पनि नगरेकाे पीडितहरुको दाबी छ ।
सांसद कार्कीले भनिन्,‘प्रोजेक्ट क्यार्क मात्र हो भइहाल्छ भनेको थियो । पाइलिङको लागि स्वीकृति नचाहिने रहेछ । निर्माण थाल्नको लागि स्वीकृति आएपछि बल्ल जगको काम थाल्ने रहेछ । नक्सा पास भएको छ कि छैन हामी सबै बुझछौं तपाईहरु पनि सम्बन्धित निकायमा उजुरी गर्नुहोला ।’
शुक्रबार राति समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिएको थियो । दुई वटा घर भासिएको छ भने दुई वटा पूर्ण रुपमा भत्किएको छ । पाइलिङ गरेर वरिपरिलाई जोगाउन खोजेको निर्माण कम्पनीको दाबी छ ।