काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निशुल्क खाना खुवाउँदा सरकारको बेइज्जत भएको भन्दै खुलामञ्चमा खाना नखुवाउन निर्देशन दिएपछि साझा पार्टीले सरकारकी निर्णयलाई चुनौती दिँदै खुलामञ्चमा निशुल्क खाना खुवाउने भएको छ ।
केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो ।’
सरकारको सो कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने प्रवक्ता पाठकले जानकारी दिएका छन् । उनले साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने जानकारी दिए । ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’ विज्ञप्तिमा भनिएको छ ।
‘साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो,’ विज्ञप्तिमा भनिएको छ । साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मलम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।
साझा पार्टीले भनेको छ, ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस् ।’