स्वर्णिम वाग्लेपछि रमेश खरेल रास्वपामा

17.9k Shares

अर्थविद् स्वर्णिम वाग्लेपछि पूर्वडीआईजी रमेश खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन्।

रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो।

बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ।

उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ।
तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ।

तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने भएको छ। एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ।

बारा २ मा उपचुनाव लड्ने तयारीमा रहेका खरेल ४ मंसिरमा भएको चुनावमा काठमाडौं १ बाट पराजित भएका थिए।

चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन्।  

४ मंसिरको चुनावमा फराकिलो मतसहित निर्वाचित लामिछानेले नागरकिता विवादमा माघ १३ गते सांसद र मन्त्री पद दुवै गुमाएका थिए।

चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उठाउने भएको छ। एमालेबाट रामप्रसाद न्यौपानेसहित तीनजनाको नाम चर्चामा छ। तर उम्मेदवार तय भइसकेको छैन।
बारा २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति भएका छन्। त्यहाँ खरेल उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुने भएको छ।

बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमतबाट रामसहायसँग मंसिरमा झिनो मतले पराजित शिवचन्द्र कुशवाहा र लोसपाबाट राजेन्द्र महतो लड्ने पक्का जस्तै छ। अब खरेल पनि थपिएपछि चुनावी प्रतिस्पर्धा कडा हने देखिएको छ।



सम्बन्धित समाचार