युनाइटेडसँग पीएसजी पराजित

17k Shares

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा युनाइटेडसँग २–१ गोलले पराजित भएको हो । 
युनाइटेडको जितका लागि ब्रुनो फेर्नान्डेज र माक्र्युस रासफोर्डले एक एक गोल गरेका थिए । पीएसजीले भने एक गोल आत्मघाती उपहार पाएको थियो । 
खेलको २३ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पीएसजीका डिफेन्डर डियालोले पेनाल्टी क्षेत्रभित्र मार्सियललाई ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई ब्रुनोले गोलमा परिणत गर्ने प्रयास गरेका थिए । तर, उनको पेनाल्टी प्रहार पीएसजीका गोलरक्षक नाभासले बचाएका थिए । 
नाभासले पेनाल्टी बचाउने क्रममा खुट्टा गोललाइनभन्दा अगाडि भएकाले रेफ्रीले भीआरको सहायतमा युनाइटेडलाई पुनः पेनाल्टी अवसर दिएका थिए । जसमा ब्रुनो चेकेनन् र पहिलो हाफमा युनाइटेडलाई १–० को अग्रता दिलाए । 
खेलको ५५ औं मिनेटमा खेल बराबरीमा आयो । युनाइटेडका एन्थोनी मार्सियलले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । तर, ८७ औं मिनेटमा रासर्फोडले गोल गर्दै पाहुना टोली युनाइटेडलाई जित दिलाए । उनले पउल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाएका हुन् । 
जितसँगै च्याम्पियन्स लिगको समूह एचमा रहेको युनाइटेडले तीन अंक जोडेको छ । गत सिजनको उपविजेता पीएसजीले भने नयाँ सिजनको च्याम्पियन्स लिगमा खराव सुरुवात गरेको छ । 

सम्बन्धित समाचार