गौर नाकाको तस्करी कहिले सम्म

16.6k Shares

गौर । रौतहटको गौर नाकाबाट अहिले व्यापक तस्करी चलिरहेको छ।  नेपाल प्रहरीका डिआइजी बसन्त कुंवर मधेस प्रदेश रहिन्जेल तस्करी निकै नियन्त्रणमा आएपनि उनी एआइजीमा बढुवा भएसंगै काठमाडौ गएपछि फेरि तस्करी धन्दा मौलाएको छ ।  तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी नै तस्करी गराउने  , सेटिङ र संरक्षण गराउने भए पछि कसले तस्करी नियन्त्रण गर्ने ?

सशस्त्र प्रहरीमा राम्रो  र धेरै अतिरिक्त आम्दानी हुने बिओपीहरूमा संगठन भित्र र बाहिरबाट टेण्डर हालेर जाने र त्याहां गएपछि तस्करी गराएर जसरी पनि पैसा असुली गर्ने परिपाटी निरीक्षक तहमा होडबाजी हुन थालेपछि हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले   क श्रेणीका  बिओपीमा डिएसपी राख्ने निर्णय गरेका छन् ।  खटिने डिएसपीहरू सिनियर  र बढुवा  हुने क्रमका भएको कारण उनीहरू खटिएपछि तस्करी कम होला र भ्रष्टाचार  केही मात्रामा भए पनि नियन्त्रण होला भन्ने पवित्र उद्देश्य आइजिपी राजु अर्यालको देखिन्छ । 

अहिले गौर भन्सार स्थित बिओपीमा कार्यरत निरीक्षक महेश्वर गिरी सरूवा भएर उनको ठाउँमा डिएसपी सूर्य तिमिल्सिनाको सरूवा भएको छ । तर यस नाकाबाट हुने तस्करी रोकिएको छैन उल्टो चलेको चल्यै छ । उक्त बिओपीमा कार्यरत सई खिल नारायण श्रेष्ठ  र बरिस्ठ  हवल्दार रामजनम यादवको संरक्षण  र सेटिङमा अहिले खुलेयाम तस्करी चलिरहेको छ । निरीक्षक गिरी हुदां पनि तस्करीको सेटिङ र सन्जाल यिनै सई श्रेष्ठ  र  बरिस्ठ हवल्दार यादवले मिलाउने गरेका थिए । घुमुवा समेत रहेका हवल्दार यादवको घर पनि यहीँ गौर नगरपालिका भएको कारण उनले धेरै व्यापारी देखि तस्करहरू चिन्ने र सबै सेटिङ मिलाउने काम गर्दै आइरहेको बताइन्छ  ।

अहिले गौर नाकाबाट तस्करीको काम गर्नेमा ३०÷४० जना रहेको महिलाको समूह रहेको छ । कि त पहिले नै तस्करीको लाइन दिने , त्यसपछि  सामान बरामद गरि छोडेर रकम असुल्ने  र  अन्तमा सेटिङ मिलाई उनीहरूसंग मासिक रकमको कारोबार गर्ने काम यहाँ सशस्त्र प्रहरीले गर्दै आएको छ । यसका अलावा रौतहटकै दुधियाभार स्थित बेश क्याम्पका पनि सशस्त्रको असुलीले व्यापारी मात्रै होइन तस्करहरू पनि आजित भएका छन् ।  गौर , बंकुल , गोलागंज  लगायतका नाकाबाट जतिपनि तस्करीको सामान नेपाल भित्रिन्छ ती सबै मध्ये धेरै सामान गरूणा बजार आउने गर्दछ । यस बेशमा निरीक्षक बसेपनि व्यापारी  र  तस्करसँग रकमको कारोवार गर्ने काम सहायक हवल्दार सुभाष सिंहले गर्दै आएको सोही बेशमा कार्यरत एक जुनियर अधिकारीले जानकारी दिए । कहिलेकाही संचार त कहिले बाहिर हेर्न सिंहलाई  तत्कालीन मधेस प्रदेशका डिआइजी चन्द्र प्रकाश गौतमले  सर्लाहीमा धेरै बदनाम भएपछि  रौतहट काज सरूवा गरिदिएका थिए । अहिले सहायक हवल्दारमा बढुवा भए पछि उनको  दरबन्दी नै रौतहट भएको छ । बेशको प्रमुखको रूपमा उनले सबै आर्थिक कारोवार गरिरहेको जानकारी गण सम्म पुगेपनि कुनै छानबिन त परैजावोस उनलाई बेशबाट हटाउने काम पनि भएको छैन । उनलाई संरक्षण गरेको देख्दा  व्यापारी र तस्करसंग असुली गरेको रकम कतै गण सम्म त पुगेको छैन ? भन्ने प्रश्न गणमा चर्चा चल्न थालेको छ।

सम्बन्धित समाचार