पोखरा । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा पोखराका क्याम्पसहरूमा विवाद बढी उत्साह कम देखिएको छ । पोखरामा स्ववियु निर्वाचन हुने ६ वटा क्याम्पस छन् । तर, अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेन ।
उम्मेदवारी दर्ता भएका क्याम्पसमा पनि अस्वस्थ र अराजनीतिक वातावरण देखिएको छ । देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कलाका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि पिएनमा निर्वाचन गतिविधि शून्यजस्तै भएको छ ।
फागुन २६ गते एक समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतबाट जारी आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि चैत २ गते पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’