काठमाण्डाै – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका मोरङका अनिष राई केही समयदेखि बेपत्ता हुनु भएको छ । मोरङको लेटाङ नगरपालिका–२ का २५ वर्षीय उहाँ साउदीको जेद्दाबाट सम्पर्कविहीन हुनु भएको हो ।
अनिष राहदानी नम्बर पीए ४७२५४१८ मार्फत गएको पुस १५ गते साउदी जानु भएको हो । त्यसपछि फागुन १५ गतेदेखि सम्पर्कमा नआएका परिवारले जनाएको छ ।
‘अल अबिर’ नामक कम्पनीमार्फत साउदी गएका मनिष राईले ‘अमेजन’ को वेयरहाउसमा काम गर्न थाल्नुभएको थियो । वेयरहाउसमा काम गर्दा सामानहरूको बारकोड स्क्यान गर्ने क्रममा केही प्राविधिक गल्तीहरू भएको भन्दै कम्पनीले उहाँलाई कामबाट निष्कासन गरेको थियो ।
‘फ्री भिसा फ्री टिकट’ मा गएका उहाँलाई कम्पनीले ५००० रियाल जरिवानासमेत मागेको परिवारले बताएको छ । कामबाट निकालिएपछि झन्डै एक हप्ता कोठामै बसेका अनिष गएको फेब्रुअरी २७ मा दिउँसो साढे २ बजेतिर ‘एकछिन बाहिर घुमेर आउँछु’ भनी निस्किनु भएको थियो । उहाँ आफ्नो कोठामा अन्य सबै सामान छोडेर मोबाइल मात्र लिई निस्किएको र त्यसपछि नफर्किएको साथीहरूले बताएका छन् ।
मनिषको खोजीका लागि जेद्दामा रहेको नेपाली कन्सुलर कार्यालय र म्यानपावर कम्पनीमार्फत दूतावासमा पहल भइरहेको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अनुसार दूतावासमार्फत जेद्दा कन्सुलर कार्यालयमा खबर भइसकेको र खोजीका लागि सूचनासमेत जारी भएको छ
हराएको केही दिनसम्म मनिषको मोबाइल ह्वाट्सएपमा ‘अनलाइन’ देखिए पनि अहिले उहाँको फोन ‘स्विच अफ’ छ र कुनै पनि सम्पर्क हुन सकेको छैन । उहाँ धेरै साथीभाइ नबनाउने र शान्त स्वभावका भएकाले कतै कसैले उहाँलाई नियन्त्रणमा लिएको हो कि भन्ने शङ्कासमेत उब्जिएको छ ।
यदि कतै कसैले अनिष राईलाई देखेमा वा उहाँको बारेमा केही जानकारी प्राप्त भएमा सम्पर्क गरिदिन परिवार र प्रवासी नेपाली समन्वय समितिले अनुरोध गरेको छ । मिलन राई (दाजु) : ९७४१७७७१३४ (मोरझ, लेटाङ–२) प्रवासी नेपाली समन्वय समिति ( पीएनसीसी) हटलाइन : ९८५११७४९९९ नजिकको नेपाली दूतावास वा कन्सुलर कार्यालय ।