भारतबाट १०० रुपैयाँभन्दा धेरैका सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि सीमावर्ती क्षेत्रमा असन्तुष्टि

645 Shares

काठमाण्डाै – भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लिने व्यवस्था लागू गरेपछि मधेश प्रदेशका बासिन्दाले असन्तुष्टि जनाएका छन् । यसअघि घरायसी सामान किन्न सीमावर्ती भारतीय बजारमा जाने गरेका उनीहरूले अहिले १०० रुपैयाँभन्दा धेरैको सामानमा कर लिन थालेपछि असन्तुष्टि जनाएका हुन् ।

केही दिनदेखि सीमा नाकाहरूमा सुरक्षाकर्मीले माइकिङमार्फत १०० रुपैयाँभन्दा धेरैका सामानमा अनिवार्य भन्सार घोषणा गर्नुपर्ने जानकारी दिइरहेका छन् । नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने भएकोले उपभोग्य सामान किन्न जाने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् ।

पर्साको पोखरियाकी सुनिता देवी महँगी बढिरहेका बेला घरायसी सामानमा केही सहजता दिनुपर्ने बताउनुहुन्छ । रामगढवाकी ममता देवी माइतीबाट उपहारमा आउने सामानमा समेत भन्सार तिर्नुपर्ने हुँदा झनै कठिन भएको बताउनुहुन्छ । उहाँका अनुसार रोटीबेटीको सम्बन्ध रहेको सीमा क्षेत्रमा यस्तो व्यवस्था उपयुक्त हुँदैन । माइतबाट कोसेली पठाएको वस्तुमा पनि कर तिर्नुपर्ने भएपछि समस्या हुन्छ ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला नयाँ नियम नभई आन्तरिक व्यापारलाई प्रवर्द्धन गर्न पहिलादेखि रहेको नियमलाई कार्यान्वयन गराएको बताउनुहुन्छ । व्यवसायीहरूले भने यो कदमलाई सकारात्मक रूपमा लिएका छन् । यो निर्णयपछि वीरगञ्ज बजारको व्यापार निकै बढेको व्यापारीहरूको भनाइ छ ।

सम्बन्धित समाचार